प्रहरीबाटै अवैध असुली

  प्रकाशित मिति
१८ आश्विन २०७३, मंगलवार १०:२४


dsc00040-300x225

काँकरभिट्टा । झापा विर्तामोड–७ मेघावारीकी मेनुका राजवंशी दसैँको सामग्री किनमेल गर्नका लागि पानीट्याङ्की पुगिन् । ५ हजारको सामग्री किनेर फर्किन् उनी । तर, मेची भन्सार कार्यालय र सुरक्षा प्रदान गर्ने जिम्मेवारी लिएर सीमा नाकामा खटिएका सुरक्षाकर्मीको ज्यादतीबाट उनी आजित भइन् । र, उनले निधो गरिन्– ‘महँगो भएपनि नेपालमै किन्छु, अबदेखि पारी जान्न ।’

राजवंशीले प्रत्येक चेकिङमा ५० र १ सय रुपैयाँका दरले पैसा दिँदै आउनु परेको बताइन् । भन्सारका हाकिमले घरायसी सामान भनेपनि छोडिदिए पनि ढाटमा बस्ने कर्मचारीले १ सय रुपैयाँ नदिई सामान ल्याउनै नदिएको बताइन् । ‘घरायसी सामग्री खरिद गर्न जाँदा पनि हैरानी व्यहोर्नु परिरहेको छ’, उनले भनिन् – ‘सुरक्षाकर्मीले नै सास्ती दिएपछि हामीले न्यायको अपेक्षा कसरी गर्ने ? कहाँबाट गर्ने ?’

नाकामै लज्जा !
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म काँकरभिट्टा र मेची भन्सार कार्यालयका कर्मचारी नाकामा भन्सार चोरी निकासी नियन्त्रणका लागि बसेका हुन्छन् । तर, स–साना व्यापारीदेखि ठूल्ठूला मालबाहक ट्रक तथा कन्टेनरबाट ५० र १ सय रुपैयाँ असुली गरेर पूर्वी नाकाबाट आउने पर्यटक तथा यात्रुलाई लज्जित बनाइन्छ । रकम नदिए भन्सार काट्न हाल्दिने धम्कीदेखि पनि आमनागरिक बाध्य भएर रकम दिन्छन् ।
पूर्वी नाका काँकरभिट्टा सबैभन्दा सम्वेदनशील नाका हो । पूर्वोत्तर भारतको अशान्तिलाई मध्यनजर गर्दै यो नाकालाई नेपाल सरकारसँगै भारत सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ । ‘तर, नागरिकको सुरक्षा गर्ने प्रहरी र कर्मचारीले र राजश्व चुहावट रोक्ने भन्सार कर्मचारी ५०–१०० रुपैयाँ लिँदै चेकजाँच नगरी सामान छोडेपछि हामीमाथि जोखिम छ भन्ने प्रष्ट हुन्छ’ – उनले भनिन् ।

‘लाइन’वालालाई सिधा पास
झापाको काँकरभिट्टाबाट विर्तामोड पुग्ने १८ किलोमिटर सडकमा आधा दर्जन स्थानमा सुरक्षाकर्मीको चेकजाँच छ । साना व्यापारीलाई जोरसिमल र काँकरभिट्टाको सुरक्षा ढाट सामान पास गराउने सबैभन्दा जटिल स्थान मान्छन् । ती दुईवटा सुरक्षा चौकी कटेपछि उनीहरु ढुक्क हुन्छन् । तर, केही दिनयता सशस्त्र प्रहरीले लाइनवाला व्यापारीलाई चिटमार्फत् पास दिन थालेको छ । जुन जोरसिमलमा दिएपछि त्यहाँ पनि सामान पास हुन्छ ।

साना व्यापारीले छोराछोरीको शिक्षादिक्षा र दैनिकी गुजार्नका लागि ५–१० हजारको सामान ल्याएर बेच्ने गर्छन् । तर, उनीहरुको हैरानी भनिसाध्य छैन । सीमा नाकाबाट प्रवेश गर्ने बित्तिकै भन्सार कर्मचारी र सशस्त्र प्रहरीबाट अभद्र शैलीमा गाली गर्दै हुने असुली, जोरसिमलमा अवैध असुलीसम्मका घटना त ठिकै थिए । तर, दसँै सुरु हुनासाथ रकम असुलीका स्थान थपिएका छन् । इटाभट्टा र मेचीनगरका विभिन्न स्थानमा मनलागी रकम असुली प्रहरीको धन्धा भएको छ ।

लाइन मिलाएर सामान ओसारपसार गर्ने व्यापारीले सिधै पास पाएपनि थोरै सामान बोकेर आउने आमउपभोक्ताको सामान भन्सार गेटमा जसोतसो पास भएपनि जोरसिमल र बुट्टाबारीमा उतारिन्छ । ‘त्यही सामान भेला पारेर लाखौँको सामान भन्दै भन्सारमा बुझाइँदो रहेछ’, धाइजनकी मैना उप्रेतीले भनिन् – ‘हामी व्यापारी होइन, भन्सार गरेरै लान्छौँ भन्दा पनि विभिन्न बहानाबाजी गर्दै पैसा लिएर छाड्छन् ।’

निरीह नागरिकलाई रुखो व्यवहार
नेपाल प्रहरीले कुनै समय ‘मुस्कानसहितको सेवा’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको थियो । ‘तर, महिनामा ४ पटकसम्म स्वास्थ्य परीक्षणका लागि सिलिगुडी जानुपर्छ, आजसम्म मैले कहिल्यै प्रहरी र भन्सार कर्मचारीबाट मुस्कान सहित सेवा कस्तो हुन्छ देखेकी छैन’, उप्रेतीले भनिन् – ‘सरकारी जागिर मात्रै सम्झिने प्रवृत्तिले यस्तो भएको हुनुपर्छ ।’
प्रहरीले रकम असुल्न जस्तोसुकै हद पार गर्न तयार भएको देखिन्छ । जुनसुकै सामग्री भित्र्याउँदा पनि प्रहरी र भन्सार कर्मचारीको हप्कीधप्की खान सर्वसाधारण बाध्य छन् ।

असुली गरेको पाइए कारवाही
सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीले कुनै किसिमको अवैध असुली गरेको पाइएमा कारवाही गर्ने प्रष्ट पारेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका प्रमुखहरुले कुनै किसिमको अबैध असुली रोक्ने बताएका हुन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दुर्गाराज रेग्मीले प्रहरी नागरिकको सुरक्षा गर्न प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् । ‘कुनै किसिमका अवान्छित व्रिmयाकलाप नियन्त्रण गर्छौँ’, रेग्मीले भने – ‘प्रहरीले अवैध काम गरे नसियतदेखि निलम्बनसम्मको कारवाही हुन्छ ।’

यसैगरी, सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी बास’देव लोहनीले पनि आफैँ सम्बन्धित स्थानमा गएर निगरानी गर्ने र कुनै अवैध कार्य आफू मातहतको निकायबाट भए तत्काल काराही गर्ने बताएका छन् । दुवै प्रहरी प्रमुख एक साता अघि मात्रै काँकरभिट्टा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: