प्रहरीबाटै कुटिए निर्दोष नावालक

  प्रकाशित मिति
१५ माघ २०७४, सोमबार २१:२१


विर्तामोड । इलाका प्रहरी कार्यालय विर्तामोडमा कार्यरत दुई प्रहरी जवानले निरपराध एक नावालकलाई अपहरण शैलीमा नियन्त्रणमा दिई मरणासन्न हुने गरी कुटेका छन् ।

प्रहरीको कुटपिटबाट घाइते भएका ती किशोर विर्तामोड–४ निवासी १४ वर्षीय सन्दीप प्रसाई हुन् । वीएन्डसी हस्पिटलको आइसीयुमा राखेर हाल उनको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले उनमा गहिरो मानसिक तथा शारीरिक आघात परेको बताएका छन् ।

यही माघ ११ गते बेलुकी ९ बजेतिर छिमेकमा भएको झगडा हेरेर घर फर्किदै गर्दा साधा पोशाकमा रहेका इप्रका विर्तामोडका प्रहरीद्वय सुजन श्रेष्ठ र श्यामदेव यादवले उनलाई घर छेउबाटै अपहरण शैलीमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको सन्दीपका बुवा गोपालप्रसाद प्रसाईले बताए ।

सन्दीपका बुवा नेपाली सेनाका पूर्व सुबेदार हुन् । निरपराध छोरोलाई प्रहरीबाटै यातनापूर्वक कुटपिट भएपछि चिन्तित बनेका प्रसाईले पुरै परिवार असुरक्षित भएको बताएका छन् ।

प्रसाईले छिमेकीहरुको उपस्थितिमा सोमवार वीएन्डसी हस्पिटल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी दोषी प्रहरीहरुलाई कडा कानूनी कार्वाही र पीडितलाई उपचार एवम् क्षतिपूर्तिको माग गरेका छन् ।

‘मेरो छोराले कुनै गल्ती गरेको थिएन’, पत्रकार सम्मेलनमा प्रसाईले भने–‘४ घण्टासम्म अपहरण गरेर निर्घात कुटेपछि मरणासन्न अवस्थामा घर छेउ ल्याएर छाडिदिए छन् ।’

प्रसाईले इलाका प्रहरी कार्यालयमा घटनाको भोलिपल्टै अभियुक्त प्रहरीहरुविरुद्ध उजुरी दिएका छन् ।

१४ वर्षीय सन्दीप विर्तामोड–२ स्थित वीर अमरसिंह माविमा कक्षा ९ मा पढ्छन् । कक्षामा उनी जेहेन्दार र मेघावी विद्यार्थीको रुपमा गनिन्छन् ।
पारिवारिक स्रोतका अनुसार माघ ११ गते साँझ ७ः३० बजेतिर छिमेकीको घरमा झगडा भएको थियो । झगडा र त्यसपछिको छलफल हेरेर घर फर्किने क्रममा उनलाई मोटरसाइकलमा सवार साधा पोशाकका प्रहरीद्वय श्रेष्ठ र यादवले घर छेउको बाटामा रोकेर केरकार गरेका थिए ।

सन्दीपले छिमेकीको झगडा हेरेर फर्किएको साँचो कुरा बताउँदा पनि सन्दीपलाई प्रहरीद्वयले ‘तँ ट्यापे होस्, कुन घरको सटर फोडेर आइस्’ भन्दै कपालमा समातेर मुख थुन्दै कुटपिट गर्दै प्रहरी कार्यालयमा लगेको थियो ।

कार्यालय लैजाने क्रममा र प्रहरी कार्यालयमा पुर्याएर समेत प्रहरीले उनलाई लगातार कुटपिट गरेको पीडित परिवारको भनाई छ ।
सन्दीपको पैतालादेखि टाउकोसम्मै शरीरभरि कुटपिटको चोट भेटिएको र राति ११ः२० बजेतिर घर छेउमा ल्याएर छाडिदिएको उनका बुवा बताउँछन् ।

राति बोल्न र उभिन समेत नसक्ने अवस्थामा बाटोबाट घिस्रिदै घिस्रिदै घरको गेटमा सन्दीप आइपुगे पछि मात्र उनीमाथि प्रहरीले गरेको ज्यादतिको खुलासा भएको थियो ।

परिवारले उनलाई राति नै विर्तामोडको मेडिका हस्पिटलमा उपचारका लागि पुर्याएको थियो भने थप उपचारका लागि पछि वीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना गरिएको हो ।

घर नजिकै रहेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक भीमबहादुर गौतम र हवल्दार हरि कटुवाल समेत कुटपिटको योजनामा संलग्न भएको पीडित परिवारको आरोप छ ।

असई भीमबहादुर गौतमले सन्दीपलाई चिनेका थिए । उनलाई नियन्त्रणमा लिएर इप्रकातिर लगेको र कुटपिट गरेको थाहा पाएर पनि असई गौतमले नरोकेको सन्दीपका बुवा गोपालप्रसाद प्रसाई बताउँछन् ।

घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालयमा पीडित परिवार र गाउँलेहरु जाँदा डीएसपी कृष्ण कोइरालाले सन्दीपलाई नियन्त्रणमा लिने र कुटपिट गर्ने आफ्नो कुनै आदेश नभएको र आफुलाई त्यसबारेमा प्रहरीद्वय श्रेष्ठ र यादवले कुनै जानकारी नदिएको बताएका थिए ।

निरपराध नावालकलाई नियन्त्रणमा लिएर प्रहरीले नै यसरी कुटपिट गर्नु ज्यादतिको पराकाष्ठा भएको भन्दै स्थानीयवासी शिवकुमार उप्रेती दोषी प्रहरीमाथि कडा कार्वाही हुनु पर्ने बताउँछन् ।

‘प्रहरीले निरपराध मानिसलाई फँसाएका र दोषीलाई उम्काएका घटना पनि छन्’, उप्रेतीले पत्रकारहरु सामु भने–‘पीडक पक्ष राज्यको प्रहरी नै भएकाले यस घटनामा त्यस्तो नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: