भद्रपुर । झगडा छुट्याउन गएका प्रहरी जवानमाथि खुकुरी प्रहार गरी फरार अभियुक्तलाई विहीबार दमकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर –१५का दिलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर नगरपालिका–१५ घर भएका प्रहरी जवानद्वय दीपक राजवंशी र निराजन राजवंशीलाई बुधबार साँझ खुकुरी प्रहार गरी राईले घाइते बनाएका थिए । उनीहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
होलीमा मादक पदार्थ सेवन गरेका दिलबहादुरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दै गर्दा छुट्याउन गएका प्रहरीद्वयलाई खुकुरी प्रहार गरेका थिए । दुवैको टाउको र घाटीमा गम्भीर चोट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीम दाहालले बताए ।
घाइतेमध्ये दीपक अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपीका चालक हुन् भने निराजन पाँचथर जिल्लामा कार्यरत प्रहरी हुन् । खुकुरी प्रहार गरी फरार भएका राई विहीबार मातृभाग्य रेखा बसबाट काठमाडौं जान लागेका बेला विशेष सुराकीको आधारमा प्रहरीले उनलाई दमकबाट पव्रmाउ गरेको प्रवक्ता दाहालले बताए ।
प्रहरीले उनलाई भगाउन सहयोग गरेको आरोपमा स्थानीय विदेशी राजवंशी, विजय राई र जंगे गिरीलाई बुधबार नै पव्रmाउ गरेको थियो ।