प्राङ्गरिक मल कारखाना खोल्दैछौं : मन्त्री दर्लामी

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार २०:३२


झापा, १५ असार । मल बिना धान रोपाई सुरु भएको खबर छाइरहेका बेला प्रदेश नम्बर १ का कृषि मन्त्री झलकसिंह दर्लामीले रासायनिक मलको परनिर्भरतालाई घटाउन प्राङ्गरिक मलको कारखाना खोल्न लागेको बताएका छन् ।

उनले रासायनिक मलको साटो प्रांगारिक मलको प्रयोगमा जोड दिन किसानहरुलाई आग्रह गरे । स्थानीय सरकारसँगको साझेदारीमा प्रांगारिक मल कारखाना खोल्नका लागि प्रदेश नं. १ सरकारले आर्थिक बर्ष २०७९÷८० को बजेटमा रकम समेत बिनियोजन गरेको उनले जानकारी दिए ।

कमल गाउँपालिका र कृषि ज्ञान केन्द्र झापाद्वारा आज १९ औं धान दिवसको अवसर पारेर पालिकाको वडा नम्बर ७ स्थित लालधन्द्रामा आयोजित सामूहिक धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दर्लामीले स्वस्थ खाद्यान्न उत्पादन गर्न र रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्न प्राङ्गरिक मल नै अबको उपयुक्त बिकल्प हुने स्पष्ट पारे ।

मन्त्री दर्लामीले रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा समेत ह्रास आउने हुँदा प्राङ्गारिक मल नै अबको आवश्यकता भएको बताए ।

उनले पराम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीमा आउन किसानलाई आग्रह गर्दै भने, “कृषि औजारको सकेसम्म प्रयोग गरेर कम लागत, समय र श्रमको बचतमा धेरै उत्पादन गर्नुहोस्, तर मल चाहिँ प्रांगारिक नै प्रयोग गर्नुहोस् ।”

मेसिनबाट धान रोपाई

धान दिवस कार्यक्रममा रोपाई भने मेसिनबाट गरिएको थियो । लखनपुर साना किसान सहकारी र मूल कृषक समूहको व्यवस्थापनमा आयोजित सो कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ बास्तोलाले निर्वाहमूखी कृषिमा परिवर्तन ल्याउनका लागि सहकारीमार्फत किसानलाई राइस ट्रान्सप्लान्ट (धान रोप्ने) मेसिन अनुदानमा प्रदान गरिएको बताए ।

उनले साना किसानलाई सहयोग पुग्ने गरी प्रदेश मन्त्रालयको तर्फबाट कृषि यान्त्रिकरणमा अझ बढी अनुदान दिदै जाने नीति रहेको बताए । उनले मन्त्रालयले ७५ प्रतिशत अनुदानमा सहकारीलाई धान रोप्ने मेसिन उपलब्ध गराइएको जानकारी दिए ।

मन्त्री दर्लामीले सोही मेसिनको प्रयोग गरेर सामूहिक धान रोपाई तथा धान दिवस कार्यक्रमको उद्घाटन गरेका थिए ।

पालिकाका प्रमुख हुकमसिंह राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरु, स्थानीयवासी, सञ्चारकर्मी, जनप्रतिनिधि सबैले धान रोप्नुका साथै सुपारीको पातबाट बनाइएको टपरीमा सामूहिक दही चिउरा खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: