प्राविधिक शिक्षा ः अवसर र चुनौती

  प्रकाशित मिति
१३ श्रावण २०७४, शुक्रबार १३:४७


ctvt
धुलाबारी क्याम्पसले शैक्षिक वर्ष २०७१ बाट प्राविधिक शिक्षाको अध्यापन सुरु गरेको हो । वि.सं. २०४८ सालमा स्थापित यो क्याम्पस मेचीनगर तथा आसपासका क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस हो । स्थापना कालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी मानविकी तथा सामाजिक शास्त्र सङ्कायको प्रवीणता प्रमाण पत्र तहको अध्यापन सुरु गरेको यस क्याम्पसले २०५२ सालबाट उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिई १० जोड २ का शिक्षा तथा वाणिज्य समूहका कक्षाहरू सञ्चालन गरेको थियो । २०५६ सालबाट पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिई मानविकी तथा सामाजिक शास्त्र सङ्कायको स्नातक तह तथा एक बर्से बिएड्का कक्षाहरू सञ्चालन ग¥यो । त्यस्तै समयको परिवर्तन तथा समुदायको मागलाई ध्यानमा राखेर २०६४ सालबाट यस क्याम्पसले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई तिन बर्से बिएड् र बिबिएसका कक्षाहरू सञ्चालन गरिरहेको छ ।

सैद्धान्तिक विषयप्रति अभिभावक तथा विद्यार्थीहरूको घट्दो रुचि र प्राविधिक शिक्षाको आवश्यकतालाई ध्यानमा राखेर शैक्षिक वर्ष २०७१ बाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन लिई सिभिल इन्जिनियरिङअन्तर्गत सिभिल सब ओभरसियरको कक्षा सञ्चालन गरिएको छ । सामुदायिक क्याम्पसहरूले मात्र निम्नवर्गमा प्राविधिक शिक्षाको पहुँच पु¥याउन सक्ने भएकाले र समुदायप्रतिको उत्तरदायित्व पुरा गर्न प्राविधिक शिक्षाको कक्षा सञ्चालन सुरु गरिएको हो ।

एसएलसी वा सोभन्दा माथिल्लो तह उत्तीर्ण विद्यार्थीहरूले अध्ययन गर्न पाउने सिभिल सब ओभरसियरको कक्षा सञ्चालनको अनुमति २०७१ सालमा यस क्याम्पसले पाएको हो । ४० वटा सिट संख्या रहेको यस क्याम्पसमा इन्जिनियरिङको सुविधा सम्पन्न प्रयोगशाला रहेको छ । सिभिल सब ओभरसियरतर्फको संयोजक मेचीनगर निवासी इन्जिनियर रुद्र मैनाली हुनुहुन्छ । अन्य थप एक इन्जिनियर ३ जना सब इन्जिनियरले दैनिक कक्षा शिक्षण गर्छन् ।
यो विधामा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्र सैद्धान्तिक कक्षा हुन्छ । अन्य सैद्धान्तिक विषयको अध्ययन पुरा गरेपछि के गर्ने भन्ने चिन्ता हुन्छ । तर, यस्ता प्राविधिक विषयको अध्ययन ‘गरेर सिक्ने’ सिद्धान्तमा आधारित हुने भएकाले स्वरोजगार बन्न सकिन्छ । इन्जिनियर मैनालीका अनुसार यो विषय अध्ययन गर्ने विद्यार्थीहरूले स्थानीय निकायहरू गाविस, नगर पालिका, जिविस आदिमा प्राविधिकको रोजगारी पाउने, लोकसेवा आयोगमा प्राविधिक क्षेत्रतर्फ प्रतिस्पर्धा गरी निजामती सेवामा प्रवेश पाउने, वैदेशिक रोजगारका लागि दक्ष प्राविधिकको मान्यता पाउने तथा ओभरसियर तथा इन्जिनियरिङ जस्ता उच्च तहको अध्ययन गर्न पाउँछन् ।

सिभिल सब ओभरसियरको कक्षा सञ्चालनको ३ वर्षको दौरानमा हाम्रा दुई ब्याचका विद्यार्थी अध्ययन सकेर केही उच्च अध्ययनका लागि सब इन्जियनियरिङमा भर्ना भएका छन् भने अन्य सबै विद्यार्थी रोजगारी प्राप्त गरी आफ्नो ज्ञान र सिप प्रर्दशन गरिरहेका छन् । तेस्रो ब्याचका विद्यार्थी बोर्ड परीक्षाको सेन्ड अप परीक्षाको सम्मुखमा छन् । तेस्रो वर्षकै चार जना विद्यार्थीले इटहरीस्थित सिटिइभिटीको आङ्गिक कलेजमा सब इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । यसले हाम्रो सब ओभरसियरको पढाइ इन्जिनियरिङ अध्ययनको आधार निर्माण गर्न सक्षम रहेको प्रमाणित गरेको छ ।

यस क्याम्पसमा शैक्षिक वर्ष २०७४ का लागि ६५ जना विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन गरेका थिए । यसले पनि प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको देखिन्छ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा जुनसुकै ग्रेड ल्याउनेलाई पनि यो प्राविधिक विषय पढ्न दिने निर्णय गरेको भए पनि यसमा उच्च ग्रेड ल्याउने विद्यार्थीहरुकै यसपालि बाहुल्य रहेको छ । निजी शिक्षण संस्थाभन्दा सामुदायिक शिक्षण संस्थामा पढेकालाई सरकारले प्रोत्साहन गर्नु, अत्यन्त न्यून अध्ययन शुल्क तथा छात्रवृत्तिको सुविधा भएका कारण विद्यार्थीहरु प्राविधिक विषय पढ्न धुलाबारी क्याम्पसलाई रोज्ने गरेका छन् । तर, विडम्बना सिटिइभिटीले हामीलाई दिएको ४० जना मात्र सिट संख्या रहेकाले २५ जना विद्यार्थीहरुलाई हामीले भर्ना गर्न सकेनौँ ।

हाम्रो क्याम्पसको सब भौतिक पक्ष, प्रयोगात्मक कार्यका लगि सुविधा सम्पन्न प्रयोगशाला तथा शिक्षणका लागि दक्ष र अनुभवी पर्याप्त प्रशिक्षक हुँदाहुँदै पनि २५ जनालाई हामीले भर्ना गर्न सकेनौँ । क्याम्पस प्रमुखको रुपमा १५ वर्ष नेतृत्व गरेको मलाई यस कुराले भने पीडा भइरहेको छ । सबै आवश्यक कुरा व्यवस्थापन हुँदाहुँदै पनि सिटिइभिटीको नीतिका कारण २५ जना विद्यार्थी हाम्रो क्याम्पसमा अध्ययन गर्न पाएनन् । हुन त सिटिइभिटीले गुणस्तर कायम राख्न यस्तो प्रावधान राखेको हुन सक्छ । तर, आवश्यक सबै कुरा भौतिक, मानव स्रोतको व्यवस्थापन भएका प्राविधिक शिक्षालयहरुमा कोटा विस्तार गर्नु अपरिहार्य छ । धुलाबारी क्याम्पस प्राविधिक शिक्षाको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्ने क्याम्पस सञ्चालक समितिको निर्णय भएकाले र यस क्षेत्रका राजनीतिक दलले पनि यो कुरा स्वीकार गरिसकेकाले तत्काल सिभिल सब ओभरसियरमा विद्यार्थी भर्ना सिट संख्या बढाउन मेचीनगर नगर पालिकाले यसको पहलकदमी गर्नुपर्ने देखिन्छ ।

एकातिर प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्नु तर सम्बन्धन दिने संस्थाले आवश्यक पूर्वाधार हुँदाहुँदै पनि सिट संख्या न्यून मात्र स्वीकृति दिने, वृद्धि गर्ने अनुमति नदिने आदि कारणले गुणस्तरीय प्राविधिक शिक्षा सर्वसुलभ हुन सकेको छैन । त्यसैले मेचीनगरको इन्जिनियरिङ अध्ययनको प्राज्ञिक केन्द्रको रुपमा विकास हुँदै गरेको यो संस्थाको संस्थागत सक्षमतालाई आधार बनाई सिट संख्या वृद्धिका लागि पहल गरिदिन हामी सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, मेचीनगर नगर पालिका, जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुमा विनम्र अनुरोध गर्दछौँ ।
(लेखक धुलाबारी क्याम्पसका प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: