प्रा.डा. केसी ‘जागिरे राजा’ बन्न खोजेको इलामेली बुद्धिजीवीको आरोप

  प्रकाशित मिति
१ माघ २०७५, मंगलवार १५:०८


इलाम, १ माघ । आमरण अनसनमा रहनु भएको प्रा.डा. गोविन्द केसीले सार्वभौम संसद्लाई बन्धक बनाउने नियत राखेको भन्दै इलामको बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत पाइएको छ ।

इलामका प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले उहाँलाई विधि र कानून नमान्ने ‘जागिरे राजा’को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफुले भनेका कुरा शतप्रतिशत समावेश हुनु पर्ने लगायतका माग राखी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले इलाम सदरमुकामको एक निजी घरमा पुस २५ गते साँझदेखि आमरण अनसन सुरु गर्नु भएको हो ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर बने पछि सोमवार विहान प्रा.डा. केसीलाई इलाम जिल्ला अस्पतालमा सारिएको छ । उहाँको अनसन अब अस्पतालबाटै जारी रहने बताइएको छ ।
‘अलिकति उहाँ विचलित भएको हो कि जस्तो लाग्छ, एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई नै बन्धक बनाउने अडान राख्न हुँदैन’, इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष पराजुली भन्नुहुन्छ–‘विधिको शासनको हिसाबले उहाँको मागको नियतमाथि प्रश्न उठेको छ ।’

इलाममा प्रा.डा. गोविन्द केसीलाई अनसनकै माध्यमबाट चुनौति दिदै काठमाडौंका २७ वर्षीय युवा बिजय थापा पनि पुस २७ गतेदेखि आमरण अनसनमा बस्नु भएको छ ।

प्राध्यापक पराजुलीले ‘अनसन बस्दा सरकार झुकिहाल्छ’ भन्ने अराजक सोचको परिणाम नै थापाको अनसन भएको आफ्नो बुझाई रहेको बताउनु भयो ।

‘सबै माग पुरा हुनु पर्छ भन्नु भनेको अनसनकारी शतप्रतिशत अराजक हुनु हो’, प्राध्यापक पराजुली दुबै अनसनकारी उस्तै उस्तै प्रवृत्तिको पृष्ठपोषक भएको जनाउँदै भन्नुहुन्छ–‘विधिको शासनमा संसद्को निर्णय सरकारले पनि मान्नु पर्छ भने अनसनकारीले मान्दिन भन्न पाइँदैन ।’

इलाम उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष सुधिर बोहोरा माग पूरा भएनन् भनेर अनसन बस्दै जाने प्रा.डा. गोविन्द केसीको प्रवृत्ति अलोकतान्त्रिक बालहठ भएको बताउनु हुन्छ ।

‘उहाँको अनसनले कानूनी राज्यको लोकतान्त्रिक अवधारणामाथि नै चुनौति खडा गरेको छ’, इलाम बारका पूर्व अध्यक्ष बोहोरा भन्नु हुन्छ–‘माग पूरा भएनन् भने अरुले कानूनी निकायमा जानु पर्ने र डा. केसीले चाहिँ अनसन बस्दा माग पूरा भइहाल्ने कुरा कानूनको ठाडो उपहास हो ।’

प्रा.डा. केसी कानूनभन्दा माथि नभएको जनाउँदै बारका पूर्व अध्यक्ष बोहोराले सरकारी जागिर खाएर अनसन बसिरहँदा कस्तो सन्देश गइरहेको छ भन्ने उहाँले बुझ्नु पर्ने बताउनु भयो ।
उहाँले अर्का अनसनकारी विजय थापाको अनसन प्रा.डा. गोविन्द केसीको हठका विरुद्ध अर्को हठको प्रदर्शन भएको टिप्पणी गर्नु भयो ।

उहाँ भन्नु हुन्छ–‘विजय थापा केसीको काउन्टरमा अनसन बसेको भन्नु हुन्छ, माग त अरु धेरैका छन्, अब सबैले अनसन बसे भइगयो नि भन्ने यी अनसनहरुले सन्देश दिन खोजेको छ ।’
इलामकी अधिकारकर्मी भूमिका आचार्य प्रा.डा. गोविन्द केसीको अनसनमा विपक्षी नेपाली काङ्ग्रेसको राजनीतिक गन्ध आइसकेको बताउनु हुन्छ ।

‘सत्ता र विपक्षीको राजनीतिक प्रतिष्पर्धा स्वाभाविक हुन्छ, तर यसरी अनसनको माध्यमबाट राजनीति गर्नु हुँदैनथ्यो’, अधिकारकर्मी आचार्य भन्नु हुन्छ–‘डा. केसीको समर्थनमा निकालिएको सबै जुलुस र र्यालीमा नेपाली काङ्ग्रेसका जिल्ला कमिटीका कार्यकर्ताको सहभागिता हामीले देखिरहेका छौंं ।’

प्रा.डा. गोविन्द केसीका मागहरु जायज नभएर नै १६ औं पटकसम्म आमरण अनसन बस्नु परेको उहाँको भनाई छ ।

‘माग जायज थियो भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सुशिल कोइराला र बाबुराम भट्टराईकै पालामा सरकारले पूरा गरिहाल्थ्यो नि’–अधिकारकर्मी आचार्य भन्नु हुन्छ ।
नाजायज माग राखेर आमरण अनसन बस्ने र अस्पतालमा हड्ताल गराएर आम नागरिकलाई दुःख कष्ट दिने प्रवृत्तिको अन्त्य हुनु पर्ने उहाँको धारणा छ ।

सोह्रौं पटकसम्म अनसन बस्नु भनेको प्रा.डा. गोविन्द केसीको माग नाजायज भएको प्रमाण हो भन्दै इलामका क्रियाशील अधिकारकर्मी छवि श्रेष्ठ एउटा व्यक्तिको सनकमा विधि र कानूनको शासन नै लत्रिन नहुने बताउनु हुन्छ ।

जनताको मतबाट अनुमोदित संसद् र सरकारको निर्णयलाई बन्धक बनाउन प्रा.डा. गोविन्द केसीले गर्नु हुने अनसनका माग बारम्बार पूरा गर्दै जाने हो भने भोलिका दिनमा विजय थापा जस्ता थुप्रैले आमरण अनसन बस्ने अवस्था आउने उहाँ बताउनु हुन्छ ।

इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तरका विद्यार्थी ईश्वरी तामाङले व्यक्तिगत चर्चा र राजनीतिक अभिष्ट पूरा गर्न प्रा.डा. गोविन्द केसीले अनसन गरिरहनु भएको बताउनु हुन्छ ।

‘सुरु सुरुमा हामी गरीव विद्यार्थी र युवाले शिक्षा र स्वास्थ्यको अधिकारका लागि बोलेको जस्तो लागेर उहाँको मागलाई समर्थन गर्यौं’, विद्यार्थी अगुवा तामाङ भन्नु हुन्छ–‘तर बुझ्दै जाँदा उहाँको भित्री नियत अर्कै रहेछ, सरकार र संसद्लाई नै घेराबन्दी गर्ने देशी विदेशी षडयन्त्रको मोहोरा बनेर अहिले अनसनको बालहठ देखाइरहनु भएको छ ।’
प्रा.डा. केसी ‘जागिरे राजा’ हुन खोजेको आरोप लगाउँदै विद्यार्थी तामाङले आमरण अनसनमा बस्नु भएको काठमाडौंका युवा विजय थापाको मागप्रति इलामका आम नागरिकको सहानुभूति रहेको बताउनु भयो ।

‘देशभित्र पढ्ने कलेज र कोटा नपाएर नेपाली विद्यार्थीहरु वर्षेनी अर्बौं खर्चेर विदेश जानु परिरहेको सत्य आँखै अगाडि छ’, उहाँ प्रा.डा. केसीको अनसन र माग दुबै नाजायज भएको बताउँदै भन्नु हुन्छ–‘स्वदेशमै शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ, प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य समितिले बहुमतले पारित गरेको चिकित्सा विधेयक अनसनको बहानामा रोकिनु हुँदैन ।’…

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: