प्रिय मान्छे, अरु जीवको बारेमा पनि सोच

  प्रकाशित मिति
५ बैशाख २०७७, शुक्रबार ०९:५९


यतिबेला संसारभरिका मानिस लकडाउनमा छन् । मान्छेका मनभित्र थुप्रै नयाँ विचार जन्मिरहेका छन् । त्यही विचारलाई ‘लकडाउन डायरी’को रुपमा प्रकाशित गर्दै जानेछौं । प्रस्तुत छ मेची बहुमुखी क्याम्पसका स्नातक विद्यार्थी गगन ढकालको विचार :-

गगन ढकाल

 

नेपालको सुदूर पश्चिमको कैलाली जिल्लाबाट प्रसारण हुने पश्चिम टुडे नामक रेडियोको अनलाइन वेब पेजमा ‘प्रिय कोठा’ नामक कविता प्रकाशित छ । कविताको रचयिता आदरणीय दाइ श्री कृष्ण भण्डारी हुनुहुन्छ । यो कविता मेरो प्रिय दाईले कुन कुराबाट प्रेरित भएर लेख्नु भयो त्यो त जान्दिन तर मैले बुझेसम्म यो लकडाउनको बेलामा कोठामा बस्दा बस्दा वाक्क दिक्क भएर यो कविताको सिर्जना भएको होला भन्ने मलाई लागेको छ ।

त्यो कविताले मेरो मन मस्तिष्कमा धेरै ठूलो परिवर्तन ल्याएको छ । दाइले आफ्नो कोठालाई सम्बोधन गर्दै सिर्जित उक्त कवितामा हालको परिस्थितिमा सबैले आफ्नो कोठालाई प्रेम गरी कोठा मै बस्नु पर्छ भन्ने सन्देश दिनु भएको छ । कोठालाई उपेक्षा गरी बाहिर कुद्नेहरु कोही आइसोलेसन कोही अस्पताल त कोही आइसीयुमा पुगेका कुराहरु पनि त्यहाँ समाविष्ट गरिएको छ । अहिलेको परिप्रेक्ष्यमा हामीले आफ्नो कोठासँग सम्बन्ध गाँसी आफ्नो ज्यान जोगाउन नितान्त जरुरी रहेको जस्ता सन्देशवाहक मीठो कविता पढ्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

अब कुरा गरौँ, यो कविता पढ्दैगर्दा मेरो मन मस्तिष्कमा आएका कुराहरु । हाल संसारभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोबिड १९)ले हामी समस्त मानव प्राणीको दैनिकी र सामान्य जीवन पद्दतिमा एकदमै ठूलो अस्तव्यस्तता ल्याएको छ । यसले हाम्रो दैनिकीमा मात्र हैन अर्थतन्त्रमा पनि ठूलो गिरावट ल्याएको छ । यसले मानिसको एकै ठाउँ बसिरहन नसक्ने बानीलाई चुनौति दिदै सबैलाई आ–आफ्नै कोठामा बस्न बाध्य बनाएको छ ।

कोरोनाले बनाएको यो बाध्यात्मक परिस्थिति अब धेरै समय टिक्न सक्दैन भन्ने कुरामा पनि हामी विश्वस्त छौं । अहिलेको यो परिस्थितिको जुन दिन अन्त्य हुन्छ त्यस दिनदेखि फेरि हाम्रा रोकिएका दैनिकी सुरु हुन्छन् र फेरि असंख्य जीवहरुको यो धर्तीमा मानव जातिको एकल साम्राज्य पनि सुरु हुन्छ । हामीलाई रोक्ने छेक्ने कोही हँुदैन । यहाँ नजा भनेर भन्ने पनि कोही हँुदैन मतलब हामी पूर्णरुपमा फुकुवा हुन्छौँ । हाल हामीलाई स्वतन्त्र डुल्न, घुम्न र आफ्नो दैनिकी काम गर्न नपाएकोमा ठूलो आपत परेको छ ।

यो लकडाउन भएदेखि मलाई दिनैपिच्छे केही न केही असर भइरहेको छ । कहिले टाउको दुख्छ, कहिले ज्वरो आउँछ त कहिले जिउ दुख्छ । म यो सोच्छु कि अरुको पनि हविगत मेरै जस्तो होला । तर मैले सोच्या कुरा सहि पनि नहुन सक्छ । सबैको हबिगत मेरो जस्तो नहुन पनि सक्छ । यस्तो बिजोक मेरो मात्र भएको पनि हुनसक्छ ।

यो त भयो कोरोनाको कारण हामीमा परेको प्रभाव । अब कुरा गरौँ यस घटनाले ल्याएको बैचारिक परिवर्तन र वास्तवमा मैले प्रस्तुत गर्न खोजेको विषयको । हामी मानिस तर हामीले हामी जस्तै मानिसबाटै स्वतन्त्रता पाउन धेरै संघर्ष र आन्दोलन गरेको ऐतिहासिक घटनाक्रम हामीसँग विद्यमान छ । तर मैले नबुझ्या कुरा के हो भने यत्रो धेरै स्वतन्त्रताको वकालत गर्ने हामीले यस धर्तीमा हामी समान हक राख्ने अन्य जीवको स्वतन्त्रता किन हनन् गरिरहेका छौ ?

हामीले बर्षौदेखि हाम्रा आवश्यकता पूरा गर्न बन्धनमा राखिएका घरपालुवा जनावर अन्तर्गत पर्ने जीवहरुको स्वतन्त्रता खोइ ? हामीले बर्षौदेखि चिडियाघरमा बन्देज बनाएर राखेको जङ्गली जीवको स्वतन्त्रता खोइ ? हामीलाई अहिले केहिदिन यो लकडाउन हुँदा यत्तिको सकस पर्यो । हामीले पुस्तौ लकडाउन गरेका जीवको सकस बारेमा के सोचेका छौं ? यो अन्य जीवमाथि हामीले गरेको सामान्य शोषण होइन । हाम्रै कारणले यस धर्तीका कयौ जीव लोप भइसकेका छन् । हरेक जीवको आआफ्नै सहअस्तित्व र पारिस्थितिक पद्दतिमा पनि आफ्नै अस्तित्व रहेको हुन्छ ।

जीवको बिनास हुनु भनेको पनि प्रकृतिमा ठूलो असर पर्नु हो भन्ने कुरा त यहाँहरु सबैमा अवगत छँदैछ । हुन सक्छ प्लेग, स्पेनिस फ्लु, इबोला र कोरोना जस्ता घातक भाइरस पनि कुनै जीव कै अभावको कारण उत्पन्न भएको हुनसक्छ । अझै कति दिन आफु स्वतन्त्रताको कुरा गर्दै अरु जीवलाई स्वतन्त्रताबाट बन्चित गर्ने ? अब हामीले भोगेको लकडाउनलाई अनुभूत गर्दै सबै जीवलाई हाम्रो मातहतबाट कहिले स्वतन्त्रता दिने ? मानिसमा मात्र सीमित भएको विश्वबन्धुत्व सबै प्राणीमा पुर्याए कसो होला ! मानिसको मात्रै साम्राज्य भएको यस धरातलमा सबै प्राणीको समान अधिकार भए कसो होला !

(लेखक मेची बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: