उसले आज जारी गरेको प्रेस फ्रिडम इन्डेक्समा नेपाल गत वर्ष (सन् २०१९)को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औं स्थानमा पुगेको छ । गत वर्ष नेपालको स्थान १०६ मा थियो ।
तर भारत १४२, चीन १७७, बंगलादेश १५१ र श्रीलंका १२७ स्थानमा छन् । भूटान भने ६७ औं स्थानमा छ । संसारको सबैभन्दा राम्रो अवस्था भएको मुलुक नर्वे रहेको छ भने उत्तर कोरिया खराबमध्येको खराब ठहरिएको छ ।
नेपाल पत्रकार महासंघले नेपालमा २०७६ सालमा त्यसअघिको वर्षभन्दा १७ जना बढी पत्रकार प्रेस स्वतन्त्रता हननका घटनाबाट पीडित भएको जनाएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार २०७६ सालमा ९४ पत्रकार र ३ वटा सञ्चार संस्था पीडित भएका थिए । २०७५ सालमा ७७ जना पत्रकार र ५ वटा सञ्चार संस्था पीडित भएका थिए ।
समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारहरुको गिरफरतारी समेत भएका छन् ।
पत्रकार महासंघका अध्यक्ष आचार्यले सञ्चार क्षेत्रले पनि आफुलाई मर्यादित, जिम्मेवार र जवाफदेशी बनाउन स्वनियमकारी प्रणालीको विकास गर्न आवश्यक रहेको औल्याएका छन् ।
कोरोना संक्रमणका विरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका पत्रकारहरुका लागि सञ्चार साधनमा छुट, रोयल्टी मिनाहा, नवीकरणमा पुरै छुट, विद्युत, टेलिफोन र इन्टरनेट शुल्कमा छुट, कागजसहितका अन्य प्रेस सामग्री खरिदमा छुटसहितको राहत प्याकेज घोषणा गर्न अध्यक्ष आचार्यले सरकारसँग आग्रह गरेका छन्