फाइदामा बङ्गलादेशसँगको व्यापार

  प्रकाशित मिति
२२ मंसिर २०७३, बुधबार १५:५८


nb-trade-2

मेचीनगर । नेपालले काँकरभिट्टा–फुलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ ।

बङ्गलादेशसँग सीधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा वि.सं.२०५४ सालदेखि पूर्वी नाका काँकरभिट्टाबाट भारतको फुलवारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्ने स्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो ।

आर्थिक वर्ष २०५४÷०५५ देखि २०७२÷०७३ सम्म आइपुग्दा यस मार्गबाट ४२ अर्ब ६८ करोड ९७ लाख १२ हजार १ सय ६६ रुपैयाँ बरावरको विभिन्न मालसामानको व्यापार भएको काँकरभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीले जनाएको छ ।

जसमा नेपालले २७ अर्ब ८४ करोड ६४ लाख २० हजार ६ सय ३० रुपैयाँ बरावरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर १४ अर्ब ८४ करोड ३२ लाख ९१ हजार ५ सय ३६ रुपैयाँ वरावरको सामान आयात गरेको छ ।
विगत १९ वर्षको अवधिमा सो मार्गबाट भएको व्यापारमा नेपाली पक्षको स्थिति सकारात्मक (निर्यात बढी) नै पाइएको छ ।
नेपालको पूर्वी नाका काँकरभिट्टाबाट भारतको फुलवारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ कलिोमिटरको दुरी छिचोल्नु पर्छ । यसलाई तेस्रो मुलुक पुग्ने नेपालको सबैभन्दा छोटो मार्ग मानिएको छ ।

नेपालले बङ्गलादेशतर्फ जडिबुटी, कृषिजन्य फुलफुल, दाल, गहुँ लगायत डाबर नेपालका उत्पादनहरू निर्यात गर्दै आएको छ भने उताबाट कटन वेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामल लगायतका विभिन्न सामान आयात गर्दै आएको छ ।

सबैभन्दा बढी निर्यात हुनेमा दाल, गहुँको ब्रान लगायतका वस्तु छन् । आव २०७२÷०७३ मा १ अर्ब २० करोड १९ लाख ८७ हजार ५९ रुपैयाँको दाल र ३ करोड ५१ लाख ४७ हजार २ सय ३२ रुपैयाँको गहुँको ब्रान बङ्गलादेश निकासी भएको छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पनि १ करोड ४८ लाख २३ हजार २ सय ३७ रुपैयाँको मह, च्यवनप्रास, हजमोला, कपालको तेल लगायतका वस्तु बङ्गलादेश निर्यात गरेको देखिन्छ ।

दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको र सुन्तला, अदुवा, अम्लिसो लगायतका कृषिजन्य वस्तुको निर्यात झन्झटिलो भएकाले केही वर्ष यता निर्यातको तुलनामा आयातीत सामान धेरै हुन थालेको अवस्था छ ।

नेपाल बङ्गलादेश चेम्वर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहलकदमी न्यून भएको बताउँछन् ।

बङ्गलादेशबाट गत आवमा २३ किसिमका वस्तु आयात भएकोमा पेय तथा जुस पदार्थ मात्रै १ अर्ब १० करोड ४४ लाख ६२ हजार ३ सय ८ रुपैयाँ बरावरको भित्रिएको थियो भने त्यसपछि कच्चा जुट १ अर्ब २ करोड ७७ लाख ७६ हजार ३ सय ९१ रुपैयाँको आयात भएको सम्बन्धित तथ्याङ्कमा देखिन्छ ।

नेपालसँग व्यापार अभिवृद्धिका सम्भावना पहिल्याउन यसै हप्ता बङ्गलादेशको सीमावर्ती पञ्चगढ जिल्लाको एक्सपोर्ट–इम्पोर्ट एसोसिएसनको एक प्रतिनिधिमण्डल पूर्वी नाका मेचीनगरको भ्रमणमा आएको थियो ।

एक्सपोर्ट–इम्पोर्ट एसोसिएसन पञ्चगढका अध्यक्ष मेहदी हुसेन खानको नेतृत्वमा आएको बङ्गलादेशी टोलीसँग नेपाल बङ्गलादेश चेम्वर अफ टे«डर्स, मेची उद्योग वाणिज्य सङ्घ, मेची भन्सार कार्यालय, नेपाल पारवहन तथा गोदाम कम्पनी प्रालि, मेची भन्सार एजेन्ट सङ्घ लगायतका सरोकारवाला निकायका प्रतिनिधिले काँकरभिट्टा–फुलवारी–बङ्गलाबन्ध मार्ग र व्यापार अभिवृद्धिका सम्भावनाको विषयमा लामो छलफल गरेका छन् ।

दुवै देशका निजी क्षेत्रविचको छलफलले सो मार्गलाई चलायमान बनाउनु पर्ने र व्यापारका लागि थप सहजिकरण हुनु पर्ने समान धारणा राखेका छन् ।

निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा, सुपारी, अलैँची र अदुवा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारीहरू इच्छुक रहेको नेपाली निर्यात क्षेत्रका व्यापारीहरू बताउँछन् ।

हाल भारतबाट बङ्गलादेशमा ढुङ्गा निर्यात भइरहेकोमा भारतीय निर्भरताले अनेक समस्या आएको जनाउँदै बङ्गलादेशी व्यापारीहरूले नपालबाट ढुङ्गा आयातको चाहना गरेका छन् ।

‘नेपालले ढुङ्गा निकासीमा भन्सारमा लगाएको शुल्क कम गराउने हो भने बङ्गलादेशमा असीमित मात्रामा निर्यातको सम्भावना छ’, जनकार नेपाली निर्यात व्यवसायीहरू बताउँछन्–‘बेकाममा खेर गइरहेको ढुङ्गा बेचेर नेपालले ठूलो मात्रामा डलर आर्जन गर्ने नयाँ बाटो खोल्न सक्छ ।’

नेपालमा बङ्गलादेशी जुस, सोलार, रेफ्रिजेरेटर लगायतका सामानको बजार विस्तार भएको देखेर बङ्गलादेशी कम्पनीहरू यो मार्गको प्रयोग बढाउन हौसिएका छन् । प्रान लगायतका कम्पनीका उत्पादनले नेपालमा निकै लोकप्रियता कमाएको छ ।

सुरुतिर भारतीय मार्गमा हुने अवरोधले व्यापार झन्झटिलो र असुरक्षित भए पनि हाल सडकको स्तरोन्नति भएको र बङ्गलादेशी नाका बङ्गलाबन्ध र नजिकको शहर पञ्चगढमा भन्सार, यातायात र अन्य पूर्वाधार थपिएका कारण व्यापार झनै सहज बन्न पुगेको एक्सपोर्ट–इम्पोर्ट एसोसिएसन पञ्चगढका अध्यक्ष मेहदी हुसेन खान बताउँछन् ।

बङ्गलादेशी टोलीको भ्रमण लगत्तै नेपाली टोलीले पनि पञ्चगढको भ्रमण तयारी गरिरहेको नेपाल बङ्गलादेश चेम्वर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: