फागुन १९ देखि झापा गोल्डकपको तेस्रो संस्करण

  प्रकाशित मिति
१ फाल्गुन २०७४, मंगलवार १२:२१


विर्तामोड : झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ देखि सुरु हुने भएको छ । रमपम झापा ११ फुटवल क्लवको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आयोजक समितिले मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीब्र पारिएको जनाएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुन्छ ।

१० वटा टीमको सहभागिता रहने
प्रतियोगितामा नेपालका नौ र भारतको एक गरी १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा झापा ११, रुपन्देही, मनाङ मस्र्याङदी, हिमालय शेर्पा, सुदुरपश्चिम ११, थ्रीस्टार र विभागीय तीनवटा टीमले सहभागिता जनाउने छन् । भारतको सिक्किम युनाइटेड क्लव पनि सहभागी हुनेछ ।

पुरस्कार रकम बृद्धि, बिजेतालाई १२ लाख ५१ हजार

मोफसलमा सर्वाधिक राशीको यो गोल्डकपमा आयोजक समितिले बर्सेनि पुरस्कारको रकम बृद्धि गर्दै लगेको छ । अघिल्लो वर्ष विजेता टीमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसवर्ष बिजेता टीमले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । गतवर्ष उपबिजेता टीमले तीनलाख ५० हजार रुपैयाँ पाएको थियो । यसवर्ष छ लाख पुरस्कार पाउनेछ । ‘पहिलो र दोस्रो संस्करणको अपार सफलताले हामी अझै उत्साहित भएका छौँ’, गिरीले भन्नुभयो, ‘झापा गोल्डकप हाम्रो प्रतिष्ठान र गौरब हो ।’

टिकटबाट ४२ लाख उठाउने लक्ष्य

दर्शकको उपस्थिति बढ्दै जाँदा आयोजकले गेटमनी सङ्कलन पनि उच्च हुने जनाएको छ । यसवर्ष टिकट बिक्रीबाट ४२ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताउनु भयो । यसवर्ष प्रतियोगिता सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दुई खेलाडी अनुबन्धित, थप तीन खेलाडी पनि अनुबन्धन गर्ने तयारी

झापा ११ बाट खेल्दै आएका खेलाडी अरु टीममा अनुवन्ध हुन थालेपछि आयोजक समितिका अध्यक्ष तथा पदाधिकारी सदस्यले आफू आवद्ध व्यवसायिक तथा समाजिक सङ्घसंस्थामार्फत खेलाडीलाई अनुवन्ध गर्न थालेका छन् । आयोजक समितिका अध्यक्ष महेन्द्र गिरी र पूर्व अध्यक्ष होम पाण्डेको अगुवाईमा दुई जना खेलाडी अनुबन्धित भइसकेका छन् ।

दुई वर्षका लागि अनुबन्धन गरिएका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ । फागुन १९ सम्ममा थप तीन जना खेलाडीलाई अनुवन्ध गर्ने तयारी भइरहेको आयोजक समितिका अध्यक्ष गिरीले बताउनु भयो । ‘मन भए सबै खेलाडीलाई अनुवन्ध गर्न कठिन छैन’, उहाँले भन्नुभयो, ‘यसमा सबै स्थानीय तहको अग्रसरता र सहयोगको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: