फागुन २१ र मेची महाकाली अभियान

  प्रकाशित मिति
२० फाल्गुन २०७३, शुक्रबार १६:१५


tirtha sigdel

०२९ साल फागुन २१ मा पाँचजना होनाहार क्रान्तिकारी युवालाई तत्कालीन पञ्चायती शासकले सिध्याएको थियो । अहिले त्यो दिन मात्र स्मरणयोग्य छैन, त्यो दिन बगेको रगतका कोषिका नेपाली कम्युनिस्टका नशा नशामा फैलिएका छन् ।
ठीक यही भावभूमिमा नेकपा एमालेले एउटा महाअभियानको थालनी गर्दैछ, आज नेपाली कम्युनिस्टहरुले त्यो दिनको स्मरण गरिरहेका छन् । फागुन २१ र त्यो महाअभियान बीचको तादाम्यता भन्नु नै एउटा क्रान्तिको सुत्रपात भएको दिनको स्मरण हो । मेची महाकाली राष्ट्रिय अभियान जसले एउटा आदर्श र राष्ट्रभक्ति बोकेको छ, त्यसको सुरुवात नै त्यो आदर्शभूमिबाट हुँदैछ । जसले एउटा गहिरो अर्थ र सन्देश बोकेको छ । रगतको मूल्य अथाह हुन्छ । क्रान्तिको मर्म अनुसार मुलुक अघि बढेमा मात्र देश समृद्ध बन्छ । तिनै शहिदहरु जसले क्रान्तिपछिको शान्तिको चाहना गरे । आज उनीहरुका सपनामा राजनीति गरेर विपनामा मुलुक बनाउने योजना लुकेको छ ।

सुखानी शब्द आफैँमा प्रिय शब्द जस्तो लाग्छ । क्रान्तिको विगुल फुक्ने युवा जसले झापा विद्रोहको आरम्भ गरेका थिए, त्यो सुखानी नेपाली कम्युनिस्टहरुका लागि पवित्र स्थल सरह छ । जहाँ गएर एक दिन आँशु बगाउनु र फूल चढाउनु मात्र कर्तव्य होइन, त्यो दिनलाई सम्झेर भावी यात्रा तय गर्नु, नेपाल र नेपालीत्वको हित र संरक्षणमा पाइला चाल्नु आजको दायित्व हो ।
जतिबेला नेपालका कम्युनिस्टहरुमा मेल थिएन, कम्युनिस्ट विचारको ठीक ढङ्गले विजारोपण भएको थिएन । त्यतिबेला ती युवाहरु जसले क्रान्तिरुपी तलाउमा ढुङ्गा फ्यालेका थिए । आज त्यो क्रान्तिको तलाउमा तरङ्ग आएको छ । त्यो रक्तकुण्डसरी मुलुकभरि सिञ्चित भएको छ । त्यो साहस भरिएको क्रान्तिको तलाउलाई यो महाअभियानमा कसरी जोड्ने यो प्रश्न भने अहिले नेतृत्ववर्गतर्फ तेर्सिएको छ । आज जसरी मुलुकभरिका कम्युनिस्ट त्यो शहिदको भूमिमा पर्दापण गर्छन्, त्यतिबेला उनीहरुको शीर निउरिन्छ । गर्वले मुटु ढक्क फुल्छ । स्वाश रोकिन खोज्छ । भावना उद्धेलित हुन्छ, मन र मस्तिष्क तरङ्गित बन्छ । यो पवित्रभूमि जसले आज अरुहरुलाई पनि क्रान्ति गर्न सिकायो । आज उनीहरुले पनि आत्मसात गर्दा त हुन् । तर, हरेक क्रान्तिपछि शान्तिको भाव लुकेको हुन्छ । त्यो भाव र भूमिलाई चिन्न नसक्दाको परिणाम आज उनीहरुले भोगिरहेका छन् ।
राजनीतिमा त्याग र समर्पणको भावसँगै मिसिएको हुन्छ । हुन त सुखानीको त्याग र समर्पणलाई विभाजित पार्ने र आआफ्ना पारामा व्याख्या गर्ने काम पनि भइरहेका छन् । प्रत्येक वर्ष फागुन २१ का दिन नेताहरु सुखानीमा पुग्छन् । पुष्प अर्पण गर्छन् र श्रद्धासुमन व्यक्त गर्छन् । नहिच्किचाई भन्नु पर्ने हुन्छ । अहिलेको नेकपा एमालेको जग झापा विद्रोह हो । ०२८ सालको झापा विद्रोहको जगमा उठेको नेकपा एमालेका लागि सुखानी आदर्शभूमि हो । पुण्यभूमि हो । हुन त नेपाली कम्युनिस्टहरुका प्रेरणापुञ्ज ती सुखानीका सहिदहरु जसले सहिदका रुपमा मान्यता पाउन यतिका वर्ष लाग्यो । झापा विद्रोह नेपाली किसानमाथि लादिएको सामान्ती शोषणा उत्पीडन विरुद्धको प्रतिरोधी सङ्घर्ष थियो । वुट र बन्दुकका भरमा टिकाइएको सत्ता जुलुस र सभा गरेर मात्र ढल्दैन । बन्दुक उठाएर मात्र ध्वंश गर्न सकिन्छ भन्ने मान्यताले सञ्चालित थियो । जब दमन र उत्पीडनले सीमा नाध्छ, तब आक्रोशको बाँध फुट्छ र विद्रोह हुन्छ । झापा विद्रोहको सार यही थियो ।

क्रान्तिका नायकहरुलाई कायरतापूर्वक हत्या गरियो, तिनै क्रान्तियोद्ध र झापा सङ्घर्षलाई आत्मसात गर्दे खासगरि नेकपा एमाले त्यही भूमिबाट संविधानको कार्यान्वयन, निर्वाचनको सुनिश्चितता, स्वाभिमानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची महाकाली अभियानको प्रारम्भ गर्दैछ । यसले एउटा सकारात्मक सन्देश मात्र होइन । ओइलाउँदै गएको राष्ट्रप्रेममा अङ्कुरण पैदा गराउनेछ । वेमेल र असमानताबीचका खाडल पुर्ने काम मात्र गर्ने छैन, मुलुकको विकासका बाधक तत्वलाई बढार्न मद्दत पनि पुग्नेछ । सदियौँदेखि मुलुकलाई आफ्नो दासत्व स्विकार्न बाध्य जनतालाई जाग्न, उठ्न प्रेरित गर्नेछ ।

पक्कै पनि, एक जुगमा एकदिन यस्तो आउँछ । जसले आफूभित्र हुर्केको क्रान्ति भाव र उर्जाको प्रवाहले काम गर्छ । हरेक मानिसमा एउटा साहस र शक्ति हुन्छ, जसको उसले सही सदुपयोग गर्न सकिरहेको हुँदैन । सकेको नहुने मात्र होइन, उसले चाहिरहेको पनि नहुन सक्छ । तर, अहिले त्यो दिन आएको छ । मेची महाकाली राष्ट्रिय अभियान यस्तो जागरण अभियान हो, जसले समग्र मुलुकलाई नै तरङ्गित पारिदिएको मात्र छैन, एक प्रकारको उत्साह र उत्प्रेरणा पैदा गराइदिएको छ ।
ठीक आज पनि तिनै झापा विद्रोहका नायकहरु जसले बाँच्नु भन्दा पनि मुलुकका लागि मर्नु नै उचित ठाने । र, तत्कालीन सङ्घर्षको ज्वालालाई मरेर पनि उठाउन भूमिका खेले आजको राजनीतिक वातावरण उनीहरुकै कारणले सिर्जना भएको हो । जतिबेलाका शासकहरुले शासनसत्ता टिकाउन उनीहरुको हत्या गरे आज उनीहरुको नामोनिशाना नै छैन । तर, त्यो सुखानीको जङ्गलभित्र रहेको पार्क जहाँ अहिले पनि एउटा पाँचवटा हाँगा फैलिएको रुख हुर्किरहेको छ । जसले शहिद रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई हुर्काइरहेको भान हुन्छ ।
(लेखकः प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: