फागो रिहाइको पहल जारी

  प्रकाशित मिति
१ भाद्र २०७४, बिहीबार २२:४७


udaya fago 1
मानवाधिकारबादी, पत्रकार र बन्दीका आफन्तहरु

सिलगढी । विगत दश दिनदेखि भारतीय प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाली नागरिक उदय फागोको रिहाइका लागि नागरिकस्तरबाट पहल सुरु भएको छ ।
मानवाधिकारबादी, पत्रकार र बन्दीका आफन्तहरुको टोलीले फागोलाई थुनामा राखिएको भारत पश्चिम बङ्गालस्थित सिलिगुडीका प्रशासनिक तथा न्यायिक निकायका अधिकारीहरुसँग भेट गरी शीघ्र रिहाइको माग गरेको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल निवासी २७ बर्षीय फागो गत साउन २३ गते सिलिगुडीको फेमेली हेल्थ क्लिनिकबाट पक्राउ परेका थिए ।
पक्राउ पछि भारतीय प्रहरीले फागोविरुद्ध साउन २१ गते दार्जीलिङको सुकुनामा भएको गोर्खाल्यान्ड आन्दोलनको जुलुसमा सहभागी भएको आरोप लगाएको छ ।
सिलिगुडीस्थित महानगरीय थानाको हिरासतमा राखिएका फागोलाई आफन्तले समेत भेट्न पाएका छैनन् । हातहतियार खरखजना, हुलदङ्गा लगायतका ४० वटा झुठा मुद्दा फागोमाथि लगाइएको छ ।

राष्ट्रिय मानव अधिकार परिषद्का केन्द्रीय अध्यक्ष तुलसी थापाको नेतृत्वमा पत्रकारसहित सिलगढी गएको टोलीले भारतीय सम्बद्ध अधिकारीहरुलाई भेटेर पक्राउ गरिएको फागो निर्दोष रहेको जानकारी गराउँदै निजको तत्काल रिहाइको माग गरेको छ ।

टोलीले सिलगढी कोर्टका न्यायाधीश, सरकारी न्यायाधिवक्ता, महानगरीय प्रहरीका कमिस्नर लगायतलाई भेटेको थियो ।
भारतीय पक्षले फागो सुकुना जुलुसमा संलग्न भएको आरोप लगाउने गरे पनि टोलीले त्यसको कडा खण्डन गरेको थियो ।

udaya-fago
उदय फागो

सिलगढी न्यायाधिवक्ताको कार्यालयले शुक्रवार फागोको मुद्दाको पेशी तोकेको हुँदा सोही दिन उनलाई तारेखमा रिहा गर्ने सम्भावना रहेको सङ्केत गरेको छ ।
दार्जीलिङमा हाल चलिरहेको गोर्खाल्यान्ड आन्दोलनको क्रममा गत साउन २१ गते सुकुनामा खुकुरी जुलुस निस्किएको थियो । जुलुसलाई प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ गोली चल्नुका साथै पेट्रोल बम प्रहार भएको भारतीय प्रहरीको दावी छ ।

घटनामा लामो केश भएका एक व्यक्ति संलग्न भएको तस्वीर फेला परेको र सो हुलिया फागोसँग मिलेको भन्ने बाहेक भारतीय प्रहरीसँग कुनै प्रमाण छैन ।
सुकुना घटना भएका दिन फागो नेपालमै रहेको उनकी दिदी साधना फागोले बताएकी छन् । फागोका परिवारले सो दिन उनी नेपालमै रहेको भन्ने प्रमाणहरु भारतीय प्रहरी र अदालतसमक्ष पेश गरेको छ ।

राष्ट्रिय मानव अधिकार परिषदका अध्यक्ष थापाले भारतीय प्रहरीद्वारा पक्राउ परेका नेपाली नागरिक फागो निर्दोष भएको हुँदा उनलाई झुठो मुद्दामा नफँसाउन भारतीय पक्षसँग आग्रह गरेका छन् ।

आमाको उपचारका लागि सिलिगुढीस्थित फेमेली क्लिनिक गएका बेला भारतीय प्रहरीले फागोलाई ‘एक छिन काम छ’ भन्दै पक्रेर लगेको थियो ।

दार्जीलिङका नेपाली भाषीहरुले छुट्टै गोर्खाल्यान्ड प्रदेश स्थापनाको माग गर्दै विगत तीन महिनादेखि आम हड्ताल र रिले अनसन गर्दै आएका छन् । सो आन्दोलनमा भारतको पश्चिम बङ्गाल सरकारले नेपाली माओबादीहरुको घुसपैठ रहेको आरोप लगाउँदै आएको छ ।

सोही आरोप लगाउँदै हाल दार्जीलिङ आउजाउ गर्ने नेपालीमाथि भारतीय प्रहरीले कडा चेकजाँच गर्ने र शङ्काको दृष्टिले हेर्ने गरेको छ । जसका कारण बर्षौदेखि वारिपारी सहज रुपमा व्यापारिक सम्बन्ध राख्दै आएका सीमावर्ती नेपाली नागरिकहरुमा त्रास सिर्जना भएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: