फिल्म समीक्षा : चिसो मान्छेको कथा

  प्रकाशित मिति
५ असार २०७९, आईतवार १२:२२


कथा सामान्य छ । विदेशमा मृत्यु भएको छोराको शव लिन बाबु आफ्नी बुहारीसँग बाजुराबाट काठमाडौँ आइपुगेका छन् ।

समय छ कोरोनाको महामारीकालको । लकडाउनको विषम परिस्थितिमा ससुरा (देशभक्त खनाल) र बुहारी (स्वस्तिमा खड्का) ले काठमाडौँबाट बाकसमा शव लिएर बाजुरासम्म तय गरेको यात्रा नै हो फिल्म चिसो मान्छे ।

कथाको ‘प्लट’ कोरोनाकाल भएपनि यससँग जोडिएका ‘सबप्लट’ले फिल्मलाई एकस्तर माथि उठाएको छ । शव बोक्नका लागि प्रयोग गरिएको गाडी अनि गाडीका चालक (अर्पण थापा) फिल्मको अन्य रोचक पक्ष हुन् ।

फिल्ममा अन्य केही कथा पनि सँगसँगै बगेका छन् । क्रान्तिको नाममा भएको राजनीतिक परिवर्तनले भूईँमान्छेमा विक्षिप्त वितृष्णा, बाल विवाह गरी घरमै बलात्कृत हुन पुगेकी किशोरी, नारी भएर गरिबी र पीडाले बिथोलिएकी बुहारीले देखेको सपना, कोरोनाले श्रीमतीको मृत्यु भएपछि ६ महिनाको नानी पाल्नुपर्ने बाबुको पीडा, अभाव अनि क्षतविक्षत जिन्दगी बीच अंकुरण भएको प्रेम पनि फिलिमको कथासँगै बग्ने सहायक कथा हुन् । यसबाहेक कोरोनाकालमा भएको दर्दनाक परिस्थितिलाई जस्ताको तस्तै पर्दामा हेर्दा रसाउने आँखाले फिल्मलाई अन्य चमकदार फिल्मको तुलनामा पृथक् बनाएकोछ ।

कबड्डी ४ ले दर्शकलाई हलसम्म तान्न सफल भयो । यसअघि बनिएका तीनवटा कबड्डीको निरन्तरता स्वरुप कबड्डीको चौथो संस्करणले पनि मसाला फिल्मभन्दा आफूलाई छुट्टै स्थापित गर्न सकेन । चिसो मान्छे कबड्डी होइन नत यो पशुपति प्रसाद नै हो । निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसादको ‘ह्याङओभर’ यहाँ देखाएका छैनन् । यो फिल्म सबै दर्शकका लागि पनि होइन तर सबै दर्शकले हेर्नै पर्ने फिल्म भने अवश्य हो ।

बाकसमा रहेको श्रीमान्को शवको अलिकति पनि दया श्रीमतीलाई छैन । १५ वर्षको उमेरमा विवाह भई नारकीय जीवन बाँचेकी उसको सपना भने गायन प्रतियोगितामा सहभागी भई आकाश छुने हो । छोरोको मृत्युको बोझ बाबुलाई भने विछट्टै छ । दुई छोरामध्ये एउटा क्रान्तिको नाममा सहिद भयो भने अर्काे छोरो विदेशबाट बाकसमा फक्र्याे ।

बुहारी परपुरुषसँग लाग्छे भन्ने चिन्ता पनि उत्तिकै छ । गाडीको ड्राइभर अशोक थापा (अर्पण थापा) भने आफ्नी ६ महिनाकी बच्ची बहिनीको घरमा छोडेर कोरोनाले थिलथिलाएको व्यापारलाई माया मारेर बैँकको ऋण तिर्न नसक्दा विक्षिप्त बनेको छ ।

फिल्मको अर्काे सशक्त पक्ष भनेको संवाद पनि हो । देशभक्त खनालले बोलेका संवादले मन निचोरिएर आउँछ । स्वस्तिमा खड्काले बुलबुलपछि एकपटक फेरि आँखाले अभिनय गरेकी छन् । वेदना प्रकट गर्न चिच्याउँनै पर्दैन भनेर स्वस्तिमाले देखाएकी छन् । अर्पण थापाको ‘बडी ल्याङ्वेज’ नै उनको विशेषता हो । तीनजना मुख्य पात्रबाहेक अन्य सहायक पात्रको अभिनय भने केही ‘लाउड’ लाग्छ ।

फिल्ममा बिम्वहरुको यथेष्ट प्रयोग पाइन्छ । सुरुवातमै रेडियोमा कोरोना संक्रमण तीव्र भएको समाचार आइरहँदा क्यामेरामा भने गाडीको चक्काको रफ्तार देखाइन्छ । गाडीको पछिल्लो भागमा लेखिएको आफ्नै देशमा केही गर्ने वाक्यांशले अशोक थापाको मनोविज्ञान बुझाउँछ भने अन्तिममा शव बोक्ने कोही नहुँदा दलितले साथ दिएकोमा बाबुले दलितप्रति व्यक्त गरेको मुस्कानले धन्यवादको बिम्व बुझाउँछ । यस्ता अनेकौँ बिम्वहरुले दर्शकलाई फिल्मबाट आँखा हटाउन दिँदैन ।

अन्त्यमा फिल्ममा टुसाएको प्रेमलाई निश्चित निकास नदिई टुङ्ग्याइनुले अब के हुन्छ भन्ने जिम्मा दर्शकलाई दिएको पाइन्छ । यसले दर्शकलाई फिल्म हलबाट निस्किएर सोच्न बाध्य समेत बनाउँछ । दिपेन्द्र के खनालको अन्य फिल्म झैँ यो फिल्म हेर्दा नेपाली माटोको सुगन्ध पाइन्छ ।

कथा पृथक् होइन व्यक्त गर्ने शैली पृथक् हुनुपर्छ भन्ने कुरा निर्देशकले देखाउन सफल भएका छन् । चमकदार हैन चसक्क घोच्ने फिल्म बनाउन सफल चिसो मान्छेको टिमलाई शुभकामना !

लेखक : हेमन्त निरौला

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: