फुटबलका कमान्डर चुनावी मैदानमा

  प्रकाशित मिति
१५ जेष्ठ २०७४, सोमबार ०८:५६


jk gurungविर्तामोड । हुन त उनी ब्रिटीश आर्मीको रिटायर्ड कमान्डर हुन् । गोर्खा सैनिकको जीवन पूरा भएपछि सोझै उनी झपा फर्केर खेलकुदको विकासमा जुटे । अहिले सबैले उनलाई फुटबलको सफल कमान्डरको रुपमा चिन्छन् । नाम हो–जेके (जलकुमार) गुरुङ । अब उनले राजनीतिक मैदानमा पनि गोल गर्नु पर्ने अवसर आएको छ । अरु प्रतिष्पर्धीलाई उछिन्न सके भने उनी झापाको मुख्य व्यापारिक नगर विर्तामोडको मेयर बन्ने छन् ।

नेपाली काङ्ग्रेसले थुप्रै नगर तथा गाउँपालिकाको उम्मेद्वार तोक्न बाँकी रहे तापनि विर्तामोडको मेयरमा उनलाई र उपमेयरमा पार्वता गिरीलाई उम्मेद्वार चुनिसकेको छ ।

गफ कम गर्ने तर काम इमान्दारीपूर्वक गर्न रुचाउने सामाजिक पहिचान बनाएका गुरुङ पार्टीका ठूला नेता त होइनन् । पार्टीका जिल्ला सदस्य र पूर्व क्षेत्रीय सभापति मात्र हुन् उनी । तर सामाजिक क्षेत्रमा उनले बनाएको लोकप्रिय छवि र पार्टीमा निरन्तर क्रियाशिलताले नै उनलाई उम्मेद्वारीको दौडमा अगाडि हुत्यायो ।

झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष र झापा एघार फुटबल क्लवका अध्यक्ष उनलाई ‘कुशल प्रशिक्षक भगिरथ आले मामासँग मिलेर झापाको फुटबललाई सफलताको शिखरमा पुर्याएको’ जस जाने गरेको छ ।

तमु छोँज धिँका पूर्व अध्यक्ष, मेची आँखा अस्पतालको उपाध्यक्ष लगायतका दर्जनौँ सामाजिक सङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका जेके गुरुङलाई विर्तामोड नगरवासीले खानेपानी उपभोक्ता समितिको कुशल नेतृत्वकर्ताको रुपमा पनि मान्दछन् । उनी खानेपानी संस्थाको अध्यक्ष हुन् ।

jk 1संस्थामा नेतृत्व गर्दा उनी आफु एक पैसा पनि भ्रष्टाचार गर्दैनन् र अरुलाई पनि त्यस्तो गर्न दिदैनन् भन्ने उनका समर्थकहरुको बुझाइ छ । बरु सामाजिक कार्यमा उनी आफ्नो निजी सम्पत्ति लगाउन कहिल्यै कञ्जुस्याई गर्दैनन् ।

लप्नछप्पन नजान्ने र सीधा कुरा गर्न रुचाउने उनी भाषणमा भन्दा काममा रुचि भएको बताउँछन् । नगरबासीले चुनाव जिताएर मेयर बनाएमा विर्तामोडको काँचुली फेर्ने उनको सङ्कल्प छ ।

‘चुनावको मुखमा जसले जे पनि बोलिदिन सक्लान्, तर म जे पुरा गर्न सक्छु, त्यो मात्रै बोल्छु’, मेयरमा काङ्ग्रेसका उम्मेद्वार गुरुङ भन्छन्–‘५ वर्षमा विर्तामोडलाई नमुना सहर बनाउने छु ।’

विर्तामोड ज्यादै अस्तव्यस्त छ । सडकभरि फोहोरमैला असरल्ल छ । उनी विर्तामोडका समस्या समाधान गर्न कठिन नहुने बताउँछन् । ‘अहिले विर्तामोडलाई छिछि भन्नेहरु पाँच वर्ष पछि ओहो विर्तामोड त कति सफा र सुन्दर रहेछ भन्न लायक बनाउने छु’–उनको दावी छ ।

उनले नेकपा एमालेको पालामा बाँड्न सुरु गरिएको सामाजिक सुरक्षा भत्ताले समाजमा सकारात्मक प्रभाव पारेको बताए । आफु मेयर बनेमा सरकारले दिने त्यो भत्तामा विर्तामोड नगरपालिकाका तर्फबाट एक हजार रुपैयाँ थप गरिदिने उनले प्रतिबद्धता जनाएका छन् ।

खेलकुद क्षेत्रबाट मेयरको टिकट पाउने उनी झापाका एक्ला उम्मेद्वार हुन् । मेचीनगरमा एन्फाकै केन्द्रीय सदस्य पङ्कज नेम्वाङको नाम मेयरको उम्मेद्वारको रुपमा चर्चामा आएको छ । तर उनी उम्मेद्वार बन्ने हुन् वा होइनन् भन्ने टुङ्गो लागिसकेको छैन ।

विर्तामोडमा डोमालाल रङ्गशालालाई व्यवस्थित तुल्याउने कार्यमा महत्वपूर्ण योगदान दिएका उनले आफु मेयर बनेमा त्यसलाई मुलुककै नमुना रङ्गशाला बनाउने बताए ।

विर्तामोड निवासी उनले गरामनीको खोपबाडीस्थित तत्कालीन भूटानी शरणार्थी शिविर रहेको खाली क्षेत्रलाई पार्क बनाउने र चारपानेमा हर्बल पार्क बनाउने योजना सुनाए । ‘म पदमा नहुँदा त कत्रा कत्रा योजना सफल बनाउन योगदान पुर्याए भने मेयर नै बनेपछि झन् आफै नगरको बजेट परिचालन गर्न पाउने छु, चाहेका योजना पुरा गर्छु’–उनी बताउँछन् ।

जेके गुरुङ राजनीतिक आस्थाको आधारमा नेपाली काङ्ग्रेसमा भए पनि उनलाई अधिकांश विर्तामोडबासीले विकासप्रेमी अगुवाको रुपमा स्वीकार गर्दै आएका छन् । ‘म कसैलाई काखा र कसैलाई पाखा गर्दिन’ भन्दै आएका उनले विर्तामोडबासीको मत कति पाउँछन्, त्यो थाहा पाउन आगामी चुनावको नतिजा नै कुर्नु पर्ला । तर यति चाहिँ भन्न सकिन्छ कि उनी विर्तामोडबासीका लागि निकै प्रिय मान्छे हुन् ।
(जलकुमार गुरुङ मोवाइल सम्पर्क ९८५२६७२०३३)

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: