फुटबलमा अविरल यात्रा

  प्रकाशित मिति
३० पुष २०७४, आईतवार १६:३९


धुलावारी । भगिरथ आले मगर फुटबलका लागि नौलो नाम होइन । फुटबलमै आफ्नो जीवन सुम्पिएका आले अविछिन्न यही क्षेत्रमा छन् ।

झापा फुटबल क्षेत्रको उर्वरभूमि मानिन्छ । झापाली फुटबललाई यो अवस्थासम्म ल्याउनका लागि उनको योगदानको जति चर्चा गरे पनि कमै हुन्छ । झापाका हरेक फुटबल मैदानमा देखिने आले खेलाडीको हौसलाका लागि अहोरात्र लागि पर्छन् ।

२०१३ सालमा शनिश्चरेमा आमा जानुका र बुबा टेकमानका जेठा छोराका रुपमा जन्मिएका आले सानैदेखि फुटबल खेलमा रुची राख्थे । २०२९ सालदेखि यस क्षेत्रमा लागेका उनले फुटबल खेलेनन् मात्र दर्जनौँ खेलाडी उत्पादन समेत गरे ।

शनिश्चरे मावि पढ्दादेखि नै विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएका आलेले पूर्वाञ्चलबाट राष्ट्रिय स्तरका खेलसम्मको यात्रा बनाए । फुटबलको यात्रा सुरु गर्दा आलेले शनिश्चरको डाइनामाइड क्लबबाट सुरु गरेका थिए । पछि कालिस्थान क्लबबाट खेल्न थाले ।

उनी खेलाडीमा मात्र सीमित रहेनन् । २०४५ सालदेखि प्रशिक्षकको जिम्मेवारी लिए । उनी जिल्ला फुटबल संघको संस्थापक अध्यक्ष पनि हुन् । जुन समयमा झापाली फुटबलले भर्खर गति लिँदै थियो ।

१५ जना सदस्यको नेतृत्व गरेका आले २२ वर्ष पछि फेरि झापाली फुटबलको नेतृत्व गर्न आइपुगेका छन् । २०५२ सालदेखि निरन्तर संघमा विभिन्न पदमा रहेर जिम्मेवारी लिएका आलेलाई शनिवारदेखि पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् झापाली फुटबलप्रेमीले

२२ वर्षको अवधि उनका लागि अवसर र चुनौती दुबै भयो । कहिले सदस्य, कहिले उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष बनेका आलेले यो पटक सिङ्गो झापाको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।

‘आजसम्म म यही क्षेत्रमा छु,’ निर्वाचित भएपछि आलेले भने–‘अबको बाँकी जीवन पनि यसैमा समर्पित गर्नेछु ।’

फुटबलमा हाम्रोलाई भन्दा पनि राम्रोलाई लाने चलन छ नि ? लोकतन्त्रको जिज्ञासाप्रति आलेले भने– ‘अब हिजो भएको गल्ती दोहोरिनेवाला छ्रैन । फुटबलको विकासका लागि नयाँ योजना र भिजन लिएर जानेछौँ । टिममा रहेर झापाली खेलाडीका लागि भविष्यमा फुटबल खेलबाट पलायन हुने प्रथाको अन्त्य गर्न र राम्रा खेलाडीलाई अवसर दिएर अघि ल्याउनु हाम्रो मुख्य मिसन हुनेछ ।’

………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: