फुटबलले जोडेको राजनीति

  प्रकाशित मिति
२२ पुष २०७३, शुक्रबार १३:४२


 

neta

काँकरभिट्टा । राजनीतिक दलहरु केन्द्रीय राजनीतिमा यतिबेला दुई ध्रुवमा छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार गोल गर्ने दाउमा छ । विपक्षी टिमको रुपमा रहेको नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलहरू उनीहरूको गोललाई जसरी पनि विफल बनाउने दाउमा छन् । विपक्षी दलको बललाई पनि गठबन्धनले निस्तेज पार्न प्रयास गर्छन् । स्थानीय तहमा हेर्ने हो भने पनि हरेक सामाजिक सङ्घ संस्थाको नेतृत्वमा समेत एक अर्काबिच धु्रबीकरण हुने गरेको पाइन्छ । मेचीनगरमै पनि यसभन्दा अघिका उदाहरण हेर्ने हो भने सधैँ एकअर्कामा आरोप प्रत्यारोपका साथ लागि पर्ने गरेका थिए । तर, मेचीनगरका राजनीतिक दलहरुमा यतिबेला त्यो भन्दा फरक दृष्य देखिएको छ ।

यहाँका राजनीतिक दलको एउटै टिम खडा भएको छ । टिमको नाम हो ‘मेची नेत्रालय काँकरभिट्टा गोल्डकप’ । यो टिमले अहिले उनीहरूबिचमा आरोपप्रत्यारोप होइन, एक अर्काबिचमा सहकार्यको भावना विकास भएको छ ।

यसरी मेचीनगरका सबै राजनीतिक दललाई जोड्ने एउटै माध्यम बनेको छ मेची नेत्रालय काँकरभिट्टा गोल्डकप । जसरी यो गोल्डकप सफल बनाउनका लागि यस क्षेत्रका राजनीतिक दल एकढिक्का बनेर लागेका छन्, त्यसरी नै दलका उच्च नेताहरुले एकमन र एक चित्तले मुलुकको समग्र विकासमा लाग्ने हो भने सुन्दर देश निर्माण गर्नमा कुनै समय लाग्ने थिएन ।

मेचीनगरका मुख्य राजनीतक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल यतिबेला एकढिक्का भएर गोल्डकप सफल बनाउन लागि परेका हुन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको सहयोग समितिका संयोजक डिल्लीराम घिमिरे छन् । उनी नेकपा एमालेका जिल्ला सदस्य हुन् । समितिका सचिव राप्रपा नेपालका नगर अध्यक्ष सुशील आचार्य छन् । सदस्यहरुमा नेपाली काङ्ग्रेसका मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी र नेकपा माओवादी केन्द्रका नगर संयोजक एवम् जिल्ला सचिवालय सदस्य माधव अर्याल रहेका छन् ।
यो प्रतियोगितालाई सफल बनाउनका लागि उनीहरू एक महिनादेखि निरन्तरसँगै काम गरिरहेका छन् । बिहानदेखि साँझसम्म एउटै टोली बनेर उनीहरू रकम सङ्कलन, प्रचारप्रसार तथा आयोजकले दिएको जिम्मेवारीलाई पूरा गर्न लागि परेका छन् ।

‘हामी राजनीतिक संस्कारको विकास गर्न चाहन्छौँ,’ सहयोग समितिका संयोजक डिल्लीराम घिमिरेले भने– ‘पार्टीगत आस्थामा फरक विचार होला तर, यस क्षेत्रको विकास प्रगतिका लागि एउटै मन बनाएका छौँ ।’ राजनीतिक दललाई एउटै स्थानमा ल्याउनुको पनि मिठो संयोग छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले अघिल्लो वर्ष आयोजना गरेको पहिलो गोल्डकपमा आफ्नै बलबुतामा सम्पन्न गरेको थियो । यो पटक क्लवका अध्यक्ष मिन बस्नेतले राजनीतिक दललाई पनि सहकार्य गरेर प्रतियोगिता सम्पन्न गराउने सोच बनाएपछि क्लवका पदाधिकारीहरूसँग राजनीतिक दलको संयुक्त बैठकको आयोजना गरियो ।

बैठकमा सहभागी सबै दलका नेताहरूले यस ठाउँको खेलकुद विकासमा हाम्रो पूर्ण समर्थन र सहयोग हुन्छ भन्ने प्रतिबद्धता जनाएपछि आयोजकले सहयोग समितिको निर्माण गर्यो । जसको संयोजकमा एमाले नेता डिल्लीराम घिमिरेलाई राखियो । ‘सुरुमा त राजनीतिक दललाई आयोजक भई दिनका लागि आग्रह थियो’ अध्यक्ष घिमिरेले भने–‘ हामीले आयोजक तपाईहरू नै बस्नुहोस् हामी सहयोग गर्न तयार छौँ भनेर लागेका हौँ । फुटबलको उर्वरभूमिका रुपमा रहेको काँकरभिट्टाका युवाहरूले आयोजना गरेको यो प्रतियोगितालाई सफल बनाउन राजनीतिक दलको पनि उत्तिकै जिम्मेवारी हुन्छ भन्ने हामीलाई महसुस भयो र सबै राजनीतिक दल एकै ठाउँमा मिल्यौँ । हामी प्रतियोगितालाई सक्दो सहयोग र सर्पोट गर्नेछौँ ।’

नेताहरू बोल्नका लागि स्टेज पाएपछि भिन्न विचार भएका राजनीतिक दललाई व्यङ्ग्य गर्न लाग्थे । तर, प्रतियोगिताको उद्घाटन कार्यव्रmममा बोल्ने सबै दलका नेताले आफ्नो पार्टी भन्दा पनि फरक दलका पार्टीका नेताहरूको बखान गरे । यसले पनि राजनीतिक दलमा एकता भएको महसुस भएको थियो ।

‘उहाँहरूको एकताले अन्य क्षेत्रले पनि पाठ सिक्नु पर्छ’ मेची नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरेले भने–‘आज यो प्रतियोगितामा कुनै पार्टीगत स्वार्थ नराखी निरन्तर रुपमा उहाँहरू लाग्नु भएको छ । जसले आयोजकलाई काम गर्न सहज भएको छ ।’ एउटा खेलाडीले आफ्नो टिमलाई जिताउनका लागि उसको एउटै मात्र अर्जुनदृष्टि विपक्षीको गोल पोष्ट हुन्छ ।

२०७२ सालमा गएको महाभूकम्पका समयमा पनि मेचीनगरका सबै राजनीतिक दल एकै ठाउँमा उभिएर भूकम्पपीडित क्षेत्रमा गएर काम गरेका थिए । जुन राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको थियो ।

यिनै राजनीतिक दलले गत जेठमा पर्यटन विकासमा काम गर्ने भन्दै नेपाल पर्यटन तथा वातावरण समूहको स्थापना गरेका छन् । जुन समूहमा पनि सबै राजनीतिक दलका नेताहरूको सहभागिता रहेको छ ।

‘विचारमा फरक हौला तर सामाजिक विकासका लागि संस्थागत रुपमा काम गर्छौँ’ राप्रपा नेपालका नगर अध्यक्ष एवम् गोल्डकप सहयोग समितिका सचिव सुशील आचार्यले भने– ‘अब मुलुकमा राजनीतिक आन्दोलन पूरा भएको छ । अब हामी सामाजिक रुपान्तरणको आन्दोलनमा लाग्नेछौँ । काँकरभिट्टा भइरहेको यो प्रतियोगिता सम्पन्न गर्नका लागि हाम्रो पनि नैतिक जिम्मेवारी हो । यसका साथै यस खेल मैदानलाई रङ्गशालाका रुपमा विकास गर्नका लागि समेत हामी लागि परेका छौँ । जसका लागि डिल्ली दाईको अध्यक्षतामा निर्माण समिति नै निर्माण भइसकेको छ ।’

नेपाली काङ्ग्रेसका मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकीले सामाजिक विकासका लागि एकताको खाँचो भएको बताए । ‘अब सधैँ विचारका आधारमा मनमुटाव गरेर समाज परिवर्तन हुँदैन’ सहयोग समितिका सदस्य समेत रहेका बुढाथोकीले भने– ‘एकता नै समाज परिवर्तनको मुख्य माध्यम हो । अब हामी खेलकुददेखि हरेक क्षेत्रको विकासका लागि एकमतका साथ अघि बढ्न तयार छौँ । मेचीनगर एउटा मिश्रित समाज भए पनि यहाँका हरेक जाति, भाषा र संस्कृतिमा एकता छ, त्यसमा राजनीतिक दलको एकताले थप सहयोग पुग्ने हाम्रो बुझाइ हो ।’

खेलकुदको क्षेत्रमा पहिलो पटक एउटै मैदानमा देखिएका राजनीतिक दलको यो सहकार्यले मेचीनगरबासीमा नयाँ उत्साह पलाएको छ ।

माओवादी केन्द्रका मेचीनगर संयोजक माधव अर्यालले समाज परिवर्तन गराउनु छ भने आफैबाट परिवर्तन हुनु पर्ने बताए । यो देशका हरेक आन्दोलनहरू सबै राजनीतिक दलको सहकार्यमा मात्र सम्भव भएको स्मरण गराउँदै अर्यालले भने– ‘सहकार्य र समृद्धिका लागि सहकार्य नै उत्तम माध्यम हो । आस्थामा विचार फरक होला तर काममा एउटै छौँ । आर्थिक समृद्धिका लागि हाम्रो एकता हो ।’

राजनीतिक दलको समेत सहकार्यमा प्रतियोगिता सम्पन्न गर्न लागि परेको आयोजकका अध्यक्ष मिन बस्नेतले दलका नेताहरूले गर्नु भएको सहयोगलाई कहिलै बिर्सन नसकिने बताए । रकम सङ्कलनदेखि हरेक व्यवस्थापन नेतृत्व गरिरहेका मेचीनगरका राजनीतिक दलले देखाएको यो सकारात्मक सोचले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: