फेरिएको राजनीतिक कोर्स

  प्रकाशित मिति
७ फाल्गुन २०७३, शनिबार १६:३६


bal (3)

कुनै समय थियो, राजनीतिक दल भन्ने बित्तिकै ठूला–ठूला सभा, लम्वे भाषण, पट्यारलाग्दो व्यवस्थापन अनि चर्का नाराबाजी । अझ चुनाव नजिकिदै गर्दा त यस्ता कार्यक्रमको आयोजना झन् बाक्लिदै जान्थ्यो । आमजनतालाई छुन सकोस् नसकोस् त्यसको पर्वाह खासै दलका नाइकेलाई हुँदैन थियो । आफ्ना दलका कार्यकर्ताको वाहवाही पाए पुग्थ्यो । आफ्नो दलको कार्यक्रममा प्रायोजित ढङ्गबाट सहभागी गराइएको भीडलाई देखेर मख्ख पर्ने राजनीतिक दल र तिनका अगुवाको चेत अहिले फेरिएको छ ।

झापाको मेचीनगरलगायत यस भेगमा एक महिनामा तिनवटा यस्ता कार्यक्रम हँुदैछन्, जसमा एउटा सकिएको छ भने अरु दुईवटा आयोजनाको सँघारमा पुगेको छ । यी तिनवटा कार्यक्रम मध्ये दुईवटा कार्यक्रम यहाँका प्रभावशाली राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमालेको आयोजनामा सम्पन्न हुँदैछन् । एउटा त भव्य सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

हो, मैले उठाउन खोजेको प्रसङ्ग भनेको स्वास्थ्य महोत्सवको सफल आयोजना र बाल उत्सवको आयोजना नै हो । एक महिनाअघि नेपाली काङ्ग्रेसको आयोजनामा भएको प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव सफलतापूर्वक सम्पन्न मात्र भएन कि राजनीतिक दलले यसखाले कार्यक्रमहरु पनि गर्न सक्दा रहेछन् भन्ने उदाहरण नै प्रस्तुत गरिदियो । राजनीतिक दल भनेका चर्का नारा र भाषणमुखी कार्यक्रमका पर्याय हुन् भन्ने बुझाइ र सोच जरैदेखि उखालेर फाल्न सफल स्वास्थ्य महोत्सवको समापन भएको ठिक एक महिनापछि अर्को प्रभावशाली राजनीतिक दल नेकपा एमालको आयोजनामा धुलाबारीमा बाल उत्सव हुनुले राजनीतिक दलभित्रको चेत फेरिएको स्पष्ट बुझिन्छ । आयोजकहरुले जे जसरी बाल उत्सवको आयोजना भएको भनेर दाबी गरे पनि आमनागरिकको बुझाइमा स्वास्थ्य महोत्सवको जगमा टेकेर नै बाल उत्सवको आयोजना भएको भन्ने देखिन्छ ।

राजनीतिक दलहरुबिच प्रतिस्पर्धा हुनु नौलो कुरा होइन । तर, यस अघिका प्रतिस्पर्धालाई हेरौँ त । काङ्ग्रेसले ठुलो जुलुस निकाल्यो भने त्यसको भोलिपल्ट एमालेले त्यो भन्दा बृहत् जुलुस निकालेर देखाउँथ्यो । त्यसभन्दा पर गएर हेर्ने हो भने एमालेले टोपी बाँड्दा काङ्ग्रेसले ज्याकेट बाँड्यो । काङ्ग्रेसले पानी बाँड्दा एमालेले चिया बाँड्थ्यो । एउटा दलले साइकल जुलुस निकाल्दा अर्कोले मोटरसाइकल जुलुस झन् ठूलोरुपमा निकाल्थ्यो । एकपटक सोचेर हेरौँ त यी सब कार्यक्रमको आयोजना हुँदै गर्दा आममतदाता भनौँ या आमनागरिक नै भनौँ उनीहरुलाई के फाइदा हुन्थ्यो ? पटक्कै फाइदा हुँदैनथ्यो । बरु दस काम बिताएर राजनीतिक दलको कार्यक्रममा हिँड्दा गरीखाने व्यवस्थापन नै भताभुङ्ग भएर घरवार बिग्रिएका थुप्रै उदाहरण भेटिन्छन् । फगत नेताका अगाडि प्रायोजित भीड उतारेर विपक्षी दललाई तर्साउने मनसायबाहेक अरु उपलब्धी त्यस्ता कार्यक्रमबाट केही हुँदैनथ्यो । तर, अब राजनीतिक कोर्स फेरिएको छ । अरु कतै नभए पनि मेचीनगर र आसपासका क्षेत्रमा भने काङ्ग्रेस र एमालेले राजनीतिलाई नयाँ कोर्सबाट अगाडि बढाउने संस्थागत प्रयास सुरु गरेका छन् । समुन्नत समाज निर्माणका लागि यो एउटा सुखद सन्देश पनि हो ।

काङ्ग्रेसले आयोजना गरेको स्वास्थ्य महोत्सवबाट २१ हजार बढीले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा लिएका थिए । कैयन यस्ता बिरामी जसले पहिलोपटक कुनै विषेशज्ञ चिकित्सकलाई नजिकैबाट आफ्नो रोगका बारेमा सोधीखोजी गर्न सकेका थिए । जनजनमा एउटा अविस्मरणीय छाप छोड्न सकेको त्यो स्वास्थ्य महोत्सवको प्रतिस्पर्धा अर्को दल एमालेले कसरी गर्छ होला भन्ने सबैलाई लागेको थियो । केहीको अभिव्यक्ति त स्वास्थ्य महोत्सवको जवाफ एमालेले फर्काउनै सक्दैन भन्ने ठोकुवा नै गरेका थिए । तर, यथार्थ फरक भएर उदायो । नेकपा एमालेले तत्कालै बाल उत्सवको घोषणा ग¥यो र आयोजनाको पूर्व सन्ध्यामा उभिएको छ ।

अहिलेसम्मको तयारी हेर्दा लाग्छ बाल उत्सवको आयोजनाले फेरि एकपटक चर्चामा हुनेछ एमाले । जनतामा आफ्ना नानीहरुको सहभागीका लागि एउटा बेग्लै जोस तथा जाँगर थपेको छ एमालेले । निषेधको राजनीति लगभग अन्त्य नै भएको छ । केही सुसुप्त अवस्थामा बाहेर अब पूर्वी किनारको क्षेत्र राजनीतिक गतिविधिमा भद्दापन अस्वीकार्य भइसकेको छ । अब जुनसुकै दलका नाममा किन नहोस्, फगत कार्यक्रमका लागि कार्यक्रम मात्र आम नागरिकले स्वीकार्ने अवस्था पटक्कै छैन र हुनु पनि हुँदैन । अब राजनीतिक दलले कार्यक्रमको आयोजना गर्दा नै स्वास्थ्य महोत्सव र बाल उत्सवसँग तुलना गरिने अवस्था छ । त्यो भन्दा फिक्का लाग्ने कार्यक्रम अब यो भेगमा चल्ने अवस्था छैन ।

त्यति मात्र होइन, राजनीतिक दलहरु आफ्नो कार्यक्रम रचनात्मक बनाउन त लागेकै छन् । त्यस सँगसँगै अन्य संस्थाले आयोजना गरेका राम्रा कार्यक्रममा पनि आफ्नो रचनात्मक उपस्थिति जनाउन हौसिएका छन् । प्रसङ्ग काँकरभिट्टामा आयोजना हुन लागेको कला साहित्य उत्सवको तेस्रो संस्करणलाई पनि दलहरु भव्य बनाउन चाहन्छन् । आफ्ना कार्यक्रमलाई राम्रो बनाउने र आफ्नै क्षेत्रको अन्य कार्यक्रमलाई असहयोग गर्ने चरित्र देखाउने आँट अब दलहरुसँग छैन । त्यसैले देखावटीकै रुपमा भए पनि दलहरुलाई कला साहित्य उत्सव भव्य बनाउन लाग्नुको विकल्प छैन । यदि कुनै दल वा तिनका अगुवाले कला साहित्य उत्सवविरुद्ध गतिविधि गर्ने अवस्थाको बारेमा आम नागरिक तहमा पुग्यो भने त्यो दल वा तिनका नेता निस्तानाबुद हुने निश्चित छ । किनकि अब नागरिक दलले बजाएको डम्फुमा नाच्ने मात्र काम गर्दैनन्, मौका मिल्यो भने दलकै डम्फु बजाएर रसातलमा भसाउन सक्ने तागत पनि आमनागरिकले राख्छन् । त्यो हेक्का अब जनजनलाई भइसकेको छ । अन्त्यमा, फागुन ९, १० र ११ को बाल उत्सव र फागुन १२, १३ र १४ गते सम्पन्न हुने कला साहित्य उत्सवलाई भव्य सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: