फेरि भिड्ने भए भीमा र लीला

  प्रकाशित मिति
२२ बैशाख २०७४, शुक्रबार ०९:३५


lila & bhima

विर्तामोड । हालै पत्रकार चुनावमा घमासान भिडेका झापाका दुई चर्चित पत्रकार महिलाको भेट आगामी स्थानीय तहको चुनावमा पनि हुने सम्भावना बढेको छ ।

ती पत्रकार हुन्– भीमा शिवाकोटी र लीला अनमोल । उनीहरु दुबैको नाम विर्तामोड नगरपालिकाको उपमेयर पदका लागि पार्टीबाट सिफारिस भइसकेको छ । तर उम्मेद्वारको अन्तिम निर्णय आउन भने बाँकी नै छ ।

लीलाको नाम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट र भीमाको नाम नेकपा एमालेबाट उपमेयरमा सिफारिस भएको छ । दुबैको बसोबास र कार्यथलो विर्तामोड हो ।

हालै भएको नेपाल पत्रकार महासङ्घ झापाको चुनावमा उपाध्यक्ष पदमा दुबैविच प्रतिष्पर्धा भएको थियो । नेकपा एमाले निकट प्रेस चौतारीबाट उम्मेद्वार बनेकी भीमाले अत्याधिक मतले जित प्राप्त गरेकी थिइन् । लीलाले एमाले बाहेकको मोर्चाबाट साझा उम्मेद्वार बनेर सम्मानजनक मत पाएकी थिइन् ।

पार्टी स्रोतका अनुसार विर्तामोड उपमेयरको उम्मेद्वारका लागि लीलाको नाम सर्वसम्ममत रुपमा नगर समितिबाट सिफारिस भइसकेको छ । ‘कसैसँग एलायन्स भएर अवसर उम्किएन भने उहाँ उम्मेद्वार बन्ने निश्चित जस्तै छ’–स्रोत भन्छ ।

उता नेकपा एमालेबाट विर्तामोड उपमेयरका लागि भीमा लगायत ६ जनाले दावी गरेका छन् । ‘नगर कमिटीबाट सबैको नाम माथ्लो कमिटीमा गएको अवस्था हो’, पार्टीको उच्च स्रोतले लोकतन्त्र पोस्टसँग भन्यो–‘अरु नाममा आपसी असहमति भयो भने पनि भीमाजीको नाममा सबैको सहमति जुट्ने सम्भावना छ ।’

पार्टीले उपमेयरको उम्मेद्वार बनाउने सम्भावना बढेको देखिन्छ, तयार हो कि होइन ? यस्तो प्रश्न गर्दा उनीहरु दुबै जनाको एउटै जवाफ छ–‘तयारै छोँ ।’

जहिल्यै आपसमा प्रतिष्पर्धा गर्दै आएका यी दुबै जनाको पत्रकारिता संयोग अचम्मकै छ । दुबैले २०५९ सालमा विर्तामोडको कञ्चनजङ्घा एफएमबाट पत्रकारिता आरम्भ गरेका हुन् ।

भीमा अनवरत कञ्चनजङ्घामै कार्यरत छिन् भने लीला हाल रेडियो विराटको प्रबन्ध निर्देशक रहेकी छन् । लीलाले हिमशिखर टिभी, रेडियो भिजन, दर्शन र उद्घोष दैनिकमा पनि पत्रकारिता गरिन् । उनी साहित्यकार पनि हुन् ।

कथाले माग्यो भने आगामी जेठ ३१ गते हुने चुनावमा यी सहकर्मी उपमेयरको सशक्त उम्मेद्वारको रुपमा राजनीतिक मैदानमा देखा पर्ने सम्भावना बढेको छ । उम्मेद्वार बन्ने कुरामा दुबै जना खुशी देखिन्छन् ।

नेपाली काङ्ग्रेसको राजनीतिक पृष्ठभूमि भएकी लीला गत बर्ष मात्र राप्रपामा प्रवेश गरेकी हुन् । यति छिटै पार्टीले उपमेयरको उम्मेद्वार बनाउनुमा उनले सामाजिक रुपमा आर्जन गरेको लोकप्रियता र पहिचान नै कारण हो ।

तर भीमा भने एमालेको पुरानी कार्यकर्ता नै हुन् । २०४६ सालभन्दा अघि पनि उनी विद्यार्थी राजनीतिमा संलग्न थिइन् ।

बहुदल पुनस्र्थापनापछिको पहिलो स्ववियू चुनावमा उनी काठमाडौँको पद्मकन्या क्याम्पसका अखिलको तर्फबाट सदस्य पदमा उम्मेद्वार बनेकी थिइन् ।

आपसमा साह्रै राम्रो मित्रता भएका उनीहरु दुबै उद्घोषण कलाका प्रतिभाशाली प्रशिक्षक हुन् । पार्टीले टिकट दिएर उम्मेद्वार बनायो भने अब उनीहरुको क्षमताको उपयोग राजनीतिमा पनि हुने नै छ ।

यसैविच, पत्रकार गङ्गा बराल नेकपा एमालेबाट भद्रपुर नगरपालिकाको एक वडामा सदस्य पदमा उम्मेद्वारका लागि नाम सिफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: