फोनिजको दावी : सत्यनारायण श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष

  प्रकाशित मिति
१६ भाद्र २०७९, बिहीबार २०:०२


झापा, १६ भदौ । नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाले ज्ञापनपत्र बुझाएको छ ।
फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो ।

फोनिजको केन्द्रीय कार्यक्रम अन्तरगत झापा शाखाले विहीबार फोनिज झापाका अध्यक्ष भूमिका सुब्बा फियाकको नेतृत्वले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी मार्फत महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेकोप्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा गलत विवरण सच्याई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठ हुन् भन्ने तथ्यलाई स्थापित गराउन माग गरिएको छ ।

‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुन् । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको माग छ । ९ बैसाख २००८ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २८ बैसाख २००९ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

तर १६ चैत २०१२ मा पुर्नगठन हुँदामात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बनेको तथ्यले श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भईसकेको अवस्थामा महासंघले भट्टराईलाई संस्थापक अध्यक्ष भनेर श्रेष्ठको अपमान गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदै फोनिज झापाका अध्यक्ष फियाकले पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु गलत रहेको उल्लेख गर्दै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र तत्काल केन्द्रिय कार्यालयमा पठाएर फोनिजको माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । फोनिजले ज्ञापनपत्रसँगै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीर समेत बुझाएका छन् ।

को हुन् श्रेष्ठ ?

सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति श्रेष्ठ नै रहेको तर्क गरिएको छ ।

उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।

यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ चैत १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । श्रेष्ठ भन्दा चार बर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: