दमक÷ ‘लिम्वुवान’कै भूभाग दावी गरिरहेको मधेसी मोर्चामा पार्टीलाई सामेल गराएको भन्दै सङ्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनविरुद्ध नेतृत्व तहबाटै चर्को असन्तुष्टि प्रकट भएको छ ।
स्रोतका अनुसार पार्टीको ४ सय १९ सदस्यीय केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी सदस्य मधेसी दलसँग मोर्चाबन्दी गर्न नहुने पक्षमा छन् । लिङ्देन अहिलेको अन्तरकलहमा प्रस्ट अल्पमतमा परेको देखिएको छ ।
असन्तुष्ट बहुमत सदस्यले अध्यक्ष लिङ्देनलाई अविलम्ब केन्द्रीय समितिको बैठक डाकेर लिम्वुवान विरोधी मोर्चाबन्दी तत्काल खारेज गर्न र मोर्चाबन्दी गर्ने एकल निर्णयप्रति क्षमायाचना गर्न दवाव दिइरहेका छन् ।
मधेस आन्दोलन उत्कर्षतिर बढेपछि अध्यक्ष लिङ्देनले ‘बाह्य शक्तिकेन्द्रको दवावमा मधेसी दलसँग मोर्चाबन्दी गरेको’ असन्तुष्ट पक्षधर नेताहरूको दावी छ । केन्द्रीय समितिको बैठक बोलाएर लिम्वुवान विरोधीसँगको मोर्चाबन्दी खारेज नगरे लिङ्देनलाई अध्यक्ष नै नस्वीकार्ने तहसम्मको तयारी भइरहेको असन्तुष्ट पक्षका एक उच्च नेताले दावी गरेका छन् ।
सङ्घीय लिम्वुवान पार्टी नेपाल पूर्वको लिम्वुवान पक्षधर सबैभन्दा ठूलो र शक्तिशाली राजनीतिक शक्ति हो । सञ्जुहाङ पालुङ्वा, कुमार लिङ्देन, वीर नेम्वाङ लगायतको नेतृत्वमा रहेका लिम्वुवान घटकलाई एकीकरण गरेर नयाँ पार्टी गठन बनाइएको एक वर्ष वित्न नपाउँदै पार्टीभित्र मधेसी दलसँगको सम्बन्धलाई लिएर अन्तरकलह चुलिएको छ ।
विभिन्न मिडियामा केही नेताले पार्टी फुट्ने अवस्थामा पुगिसकेको बयान दिए पनि अहिल्यै पार्टी विभाजन नहुने असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका एक नेताले लोकतन्त्र पोस्टलाई बताए ।
‘झापा, मोरङ र सुनसरी लिम्वुवान भूभाग हो भनेर यत्रो बर्ष आन्दोलन गरियो’, ती नेताले असन्तुष्टिको कारण खुलाउँदै भने–‘अहिले आएर तिनै जिल्ला मधेसमा गाभ्ने माग गरिरहेकाहरूसँग अध्यक्षले मोर्चाबन्दी गरेपछि आम कार्यकर्ता आव्रmोशित हुनु स्वाभाविक हो ।’
ती असन्तुष्ट पक्षका नेताले अध्यक्ष लिङ्देन भारतको दवावमा परेको आशङ्का गरे । मधेसी मोर्चाका नेताहरूसँगै भारतीय राजदूतावास छिरेपछि लिङ्देन भारतीय जालमा फँसेको असन्तुष्ट नेताको आरोप छ ।
अध्यक्ष लिङ्देनविरुद्ध वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वालाई उभ्याउने असन्तुष्ट नेताहरूको योजना भए पनि पालुङ्वा पार्टी विभाजित नहोस् भनेर अहिल्यै नेतृत्वविरुद्ध धावा बोल्ने मुडमा नरहेको निकट स्रोतको दावी छ ।
कैलालीमा नेपाल प्रहरीका एसएसपीसहितलाई आन्दोलनको नाममा हत्या गरिएकै दिन विर्तामोडको मुक्तिचोकमा आयोजित सभामा मधेसी दलका नेता उपेन्द्र यादव, राजेन्द्र महतो र महन्त ठाकुरकै लहरमा उभिएर वरिष्ठ नेता पालुङ्वाले मधेसी दललाई उकास्ने उग्र भाषण गरेकोमा समेत लिम्वुवान पार्टीका कार्यकर्तामा असन्तोष रहेको कार्यकर्ताहरू बताउँछन् ।
असन्तुष्ट पक्षधरले पालुङ्वाको संयोजकत्वमा भेडेटार संयुक्त भेलाबाटै गठित लिम्वुवान आन्दोलन उच्चस्तरीय समितिको नामबाट मङ्सिर २७ गते बन्दको आह्वान गरेको थियो । अध्यक्ष लिङ्देनलाई नसोधी यो बन्दको आह्वान गरिएको कारण पार्टीभित्रको विवाद यस घटनाबाट अब सडकसम्मै छताछुल्ल हुन पुगेको छ ।
सोमवार दमकमा असन्तुष्ट पक्षका नेता तथा पार्टीका सचिव प्रेमदीप थाम्सुहाङले मधेसीको फेरो समाएर लिम्वुवान बन्न नसक्ने भन्दै अध्यक्ष लिङ्देनको चर्को आलोचना गरेका छन् ।
नेता थाम्सुहाङले अध्यक्ष कुमार लिङ्देनको काँधमा चढेर मधेस आन्दोलन झापा, मोरङ र सुनसरीमा घुसाउने षडयन्त्र भइरहेको हुँदा सचेत हुनुपर्ने बताए ।
पत्रकार सामू बोलेका पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले एकता प्रव्रिmया नै नटुङ्गिएको जिकीर गर्दै अहिलेको विवादलाई फुटको संज्ञा दिइरहनु नपर्ने बताएका छन् ।
लिङ्देन पक्षधर एक नेताले पार्टीभित्र छलफल र वहस हुनु स्वाभाविक भए पनि फुटको हल्ला कहाँबाट कुन नियतले चलाइएको हो भन्ने बुझ्न नसकिएको बताए ।
पार्टीको बैठक आवश्यकता र विधि अनुसार हुने उल्लेख गर्दै ती नेताले पार्टीमा भाँडभैलो मच्चाउने तत्वहरूलाई कसैले पनि प्रोत्साहित गर्न नहुने बताए ।
अध्यक्षले मधेसी मोर्चालाई झापा, मोरङ र सुनसरी छाड्ने सम्झौता गरेको भनेर अफवाह फैलाइएको दावी गर्दै उनले नौ जिल्ला लिम्वुवानको हुनु पर्ने अडानबाट पार्टी कदापि पछाडि नहट्ने दृढता व्यक्त गरेका छन् ।