झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका बेला मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग भएको आठ बुँदे सहमति कार्यान्वनमा आफु सकारात्मक भएको बताएका छन् ।
फोरम लोकतान्त्रिकले सरकार गठनका बेला गरिएको आठ बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै ओलीले सो कुरा बताएका हुन् ।
लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधान तथा भौतिक पुर्वधार मन्त्री बिजय कुमार गच्छादारको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर सरकार निर्माणका बखत गरिएको सहमति कार्यान्वयन गर्न अनुरोध गरेको हो । लोकतान्त्रिकले प्रधानमन्त्रीलाई बुझाएको ध्यानआकर्षण पत्रमा आठ बुँदेका केही बिषयहरु ब्यापक राजनीतिक सहमतिको आधारमा र केही मन्त्रीपरिषदको निणर्यबाट नै गर्न सकिने किसिमका भएकोले दोस्रो प्रकृतिका बिषय तत्काल सम्बोधन गर्न माग गरिएको छ ।
लोकतान्त्रिकका अध्यक्ष गच्छादारका अनुसार तराइ मधेस थरुहट आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न झुटा मुद्दा चलाइएका ब्यक्तिहरुको मुद्दा फिर्ता गन, घरबार जलाइएका र सम्पती लुटिएकाहरुलाई उचित क्षतीपूर्ति दिन प्रधानमन्त्रीको ध्यानआकर्षण गराइएको छ ।
संबिधानलाई पूर्ण समावेशी, समानसपातिक,जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, सङघीयताको सिमाङ्कन लगायतका बिषय सम्बोधन गर्न पनि सरकारले तत्काल पहल थाल्नुपर्ने गच्छादारले बताए । ‘संबिधान अनुसार तपाँइहरुका जायज माग पुरा गर्न म सकारात्मक छु’ ओलीले फोरम लोकतान्त्रिकको टोलीलाई भने । टोलीमा अध्यक्ष गच्छादारसहित बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादब,उपाध्यक्षहरु गोबिन्द चौधरी, जीतेन्द्र देव, आशा चतुर्वेदी र सचिब रबिन्द्र ठाकुर थिए ।