फोहोर बढार्न जुर्मुराए युवा

  प्रकाशित मिति
३ पुष २०७३, आईतवार ०९:५९


1-fohor
फोहोर गर्ने एउटा र सफा गर्ने अर्को । यस्तो भइरहेको छ सहरमा । युवासँग खरेटो, ग्लोव र डस्टविन थिएन । दाता कोही थिएनन् । तर पनि पछि हटेनन् युवाहरू ।

काँकरभिट्टा । पहिलेपहिले काँकरभिट्टाका धेरैजसो युवा पुस्ता निराश भएर भौतारिएको वा कुलतमा फँसेर जीवनलाई नर्कमा डुबाउने जोखिम नजिक भेटिन्थे । कोही क्यारेमबोर्डका अड्डा त कोही पानीट्याङ्की बजारतिर समय काटिरहेको पनि भेटिन्थे । पासपोर्ट बोकेर म्यानपावरको ढोका चहार्दै गरेका पनि भेटिन्थे ।

तर अहिले यो भन्दा एउटा फरक दृश्य काँकरभिट्टाका युवामा देखिन थालेको छ । त्यो हो–उनीहरू हरेक शनिवार हातमा खरेटो र डस्टविन बोकेर सहरको फोहोरमैला सफा गर्ने अभियानमा जुटेका हुन्छन् । सीमित युवाले थालेको सहरबजार सफा पार्ने यो अभियान चार हप्ता मात्र बित्दा सहरको मुख्य खबर बन्ने तहसम्म विकसित भइसकेको छ । यहाँका युवाको यो अभियान अन्यत्रका लागि अनुकरणीय बनेको छ ।

शनिवार विहान पचासभन्दा बढी युवा चोकमा भेला भएर खरेटो लगाउँदै सडकको फोहोर बढारिरहेको दृश्यले सहरमा अब नयाँ पुस्ताले केही चाहिँ गर्लान् कि भन्ने आश जागेको छ । कहिले पूर्वी गेट, कहिले भट्टराई चोक र कहिले पुरानो भन्सारको ओरालोमा युवाहरूलाई जाँगरका साथ सरसफाई अभियानमा जुटिरहेको देख्न पाइन्छ ।

यो अभियानका संस्थापकमध्येका एक राजु पौडेल समाजको हितमा केही राम्रो काम गरौँ र युवा पुस्तालाई समेटौँ भन्ने सोचाइबाट सरसफाई अभियान जन्मिएको बताउँछन् ।

मेचीनगर–११ भानुटोलमा घर भएका स्नातक अध्ययनरत राजुले लामो समयदेखि ‘इनोभेटिङ नेपाल’ नामक फेसुबुक पेज चलाउँथे । त्यसमा दर्जनौँ साथी जोडिएका थिए । त्यसैगरी काँकरभिट्टाकै अर्का कक्षा १२ पढ्दै गरेका राकेश खवासले ‘हाम्रो जक्सन’ नामक अर्को फेसबुक पेज चलाउँथे । त्यसमा पनि उत्तिनै साथीहरू क्रियाशील थिए ।

‘दुबैको सोच र योजना मिलेपछि हामीले दुईवटै फेसबुक पेजलाई मर्ज गरेर ‘हाम्रो नेपाल’ नामको नयाँ ग्रुप बनायौँ’, सरसफाई अभियानका अभियन्ता राकेश भन्छन्–‘फेसबुक अभियानबाटै अहिले हामी सरसफाईमा जुटिरहेका छौँ ।’ अभियानमा लागेका अधिकाँंश प्लस टु र कलेजका विद्यार्थी छन् ।

डेढ महिना जति अघि दुबै फेसबुक पेज मर्ज भएपछि जन्मिएको ‘हाम्रो नेपाल’ले काँकरभिट्टामा मात्र होइन, मुलुकभर खड्किएको फोहोरमैलाको समस्या समाधानमा लाग्ने भन्ने सोच बनायो । त्यही सोचको उपज अहिले काँकरभिट्टामा हरेक शनिवार युवाहरू सरसफाइमा जुटिरहेका छन् ।

विर्तामोडमा युवाहरू सरसफाईमा लागेको खबरले पनि काँकरभिट्टाका युवालाई त्यस्तै काममा लाग्न हुटहुटी बढाएको रहेछ । ‘पर्यटकले पहिलो पाइला टेक्ने हाम्रो सहर यति फोहोर हुँदा हामी युवा चुप लागेर बस्नु हुँदैन भन्ने हामीले विचार गर्यौँ’–अभियन्ता राकेश थप्छन् ।

सोच राम्रो भए पनि युवासँग खरेटो, ग्लोव र डस्टविन थिएन । दाता कोही थिएनन् । तर पछि हटेनन् युवाहरू । आफुहरू माझबाटै रकम उठाएर उनीहरूले सरसफाई गर्ने सामान किनेका छन् । यतिसम्म कि सङ्कलित फोहोरलाई मेची बगरमा व्यवस्थित ढङ्गले विसर्जन गर्न ढुवानीको गाडी पनि उनीहरूले आफ्नै खर्चमा जुटाएका छन् ।

सशस्त्र प्रहरी, नाइटचेस क्लव, समाजसेवी वुद्धिनाथ पौडेल, शिक्षक चिरञ्जीवी भट्टराई, ओम कस्टम क्लियरिङ एजेन्ट लगायतका संस्था तथा व्यक्तिले युवाहरूको अभियानलाई सघाइरहेको अर्का अभियन्ता सुभाष प्रसाइँ बताउँछन् । सुरुमा युवा सङ्घ र वुमेन वरियर्सले पनि अभियानलाई साथ दिएको थियो ।

फोहोर गर्ने एउटा र सफा गर्ने अर्को । यस्तो भइरहेको छ सहरमा । अभियन्ता रोशन केसीका अनुसार आफ्नो घर अगाडिको सडक आफै सफा गर्ने हो भने सहरमा फोहोरमैलाको यस्तो विकराल समस्या नहुने बताउँछन् ।

सँधै अर्कैले आएर आफ्नो फोहोर बढारिदिन्छ भन्ने सोच सहरबासीले नत्यागेसम्म सहर सफा हुने सम्भावना देखिदैन । अबको चरणमा ‘हाम्रो नेपाल’का युवाले सहरवासीलाई सचेत तुल्याउने अभियान पनि सँगसँगै अघि बढाउने सोचाइ बनाइरहेको राजु पौडेल बताउँछन् ।

सो समूहले सुजाता बचाउ अभियान, प्रियांशु बचाउ अभियान लगायतका कार्यमा समेत बजारबाट स्वतस्फुर्त सहयोग सङ्कलन गरेर मानवीय सेवा गर्दै आएको छ । गरीव वालवालिकालाई न्यानो कपडा वितरण गर्ने पनि उनीहरूको लक्ष्य रहेको बताउँछन् ।

‘हामीसँग पैसा छैन, हामीसँग खरेटो र ग्लोव छैन’, अभियानले झेलिरहेका समस्या औल्याउँदै राजु थप्छन्–‘तर हामीसँग सामाजिक काममा खटिने जोश र उमङ्ग झन् बढ्दै गएको छ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ पुस ३ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: