।। अर्जुन कार्की ।।
मेचीनगर, ९ साउन । मेचीनगर–२ का कपडा व्यवसायी ५० वर्षीय नारायण आचार्यको हत्यामा संलग्न भएको आशंकामा एक सन्दिग्ध स्थानीय युवा पक्राउ परेका छन् ।
भृकुटी बजारमा कपडा र खाद्य सामग्रीको पसल सञ्चालन गर्दै आएका आचार्यमाथि शुक्रबार अपरान्ह ४ वजेतिर पसलमै धारिलो दाउ प्रहार भएको थियो । उपचारका क्रममा बीएन्डसी हस्पिटलमा उनको आजै मृत्यु भएको थियो ।
स्रोतका अनुसार हत्या अभियोगमा सोही स्थानका १६ वर्षीय एक युवा पक्राउ परेका हुन् । प्रहरीले पक्रेका युवा घटना लगत्तै स्थानीय भृकुटी बजारमा आचार्यको हत्या आफुले गरेको भनेर सुनाउँदै हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी राकेश थापाले एक व्यक्ति पक्राउ परेको जनाए पनि अनुसन्धान भइरहेको हुँदा थप कुरा अहिल्यै भन्न नमिल्ने बताए ।
आचार्य भृकुटी बजारमा पसल गर्ने पुराना सफल व्यवसायीका रुपमा चिनिन्थे । उनका श्रीमती र २ छोराहरु छन् । एक जना छोरा वैदेशिक रोजगारीका लागि कतारमा छन् भने अर्का घरैमा छन् ।
आचार्यको पसलमा विहीबार ती सन्दिग्ध युवा चप्पल किन्न आएका थिए । चप्पल किनेर घर गएका उनी भोलिपल्ट अर्थात शुक्रबार चप्पलको साटो हाफपेन्ट लैजाने भन्दै आचार्यको पसलमा दोहोर्याएर आएका थिए ।
पसलमा आचार्यसँग ती युवाले केही विवाद गरेको अनुमान छ । त्यसपछि घर गएका उनी धारिलो हतियार बोकेर लगत्तै फेरि पसल फर्किएका थिए ।
घटनापछि बाहुनडाँगी बजार हुँदै भारततिर भाग्न लागेका बेला प्रहरीले ती युवालाई पक्राउ गरेको थियो ।