‘बल्ल जागिरको ढोका खुल्यो’, सन्दीप टुडु

  प्रकाशित मिति
२३ चैत्र २०७५, शनिबार ११:०१


भद्रपुर । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब बंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।

विर्तामोड–७ गरामनीका कैले टुडुका दुई सन्तान समीर र सन्दीप टुडुले शुक्रवार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट बंशजको नागरिकता प्रमाणपत्र पाए ।
समीर २२ वर्ष र सन्दीप १७ वर्षका छन् । उनीहरुका बाबु र आमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मको आधारमा नागरिकता पाएका थिए ।
जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गरिनु पर्ने माग जोडदार रुपमा उठाइ पनि अहिलेसम्म सरकारले आनाकानी गरिरहेको थियो ।

तर यही चैत १९ गते गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई बंशजको नागरिकता दिन निर्देशन दिएको थियो ।

सरकारी निर्णय सार्वजनिक भएपछि देशैभरका प्रशासन कार्यालयमा त्यस्तो नागरिकता लिन आउनेहरुको भीड बढेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसुाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट बंशजको त्यस्तो नागरिकता १ सय ३५ जनाले लिएका छन् ।

गृहमन्त्रालयले संविधानको धारा ११(३) बमोजिम जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा विहीबारदेखि झापामा समेत त्यस्तो नागरिकता प्रदान गर्न सुरु गरिएको सहायक प्रजिअ पोखरेलले बताए ।
विहीवार ७२ र शुक्रवार ६३ जनाले बंशजको नागरिकता पाएको जनाइएको छ ।

वि.सं. २०६३ सालमा नागरिकता टोलीले गाउँगाउँ पुगेर जन्मको आधारमा नागरिकता प्रदान गरेको थियो । झापामा त्यतिबेला २२ हजार ४ सय ८१ जनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका थिए ।

नागरिकता पाउनेहरुमा सन्थाल, राजबंशी, मधेसी लगायतका समुदायको ठूलो सङ्ख्या छ । जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान बालिग भइसक्दा समेत नागरिकता नपाउँदा त्यसबाट पढाई र रोजगारीको सुविधाबाट हजारौंले बञ्चित हुनु परेको थियो । अब त्यो अवरोध हटेको छ ।

शुक्रवार बंशजको नागरिकता पाएका विर्तामोड–७ का सन्दीप टुडुले भखैरै गरामनीको दुर्गा माविबाट एसइइ परीक्षा दिएका छन् ।उनले आफ्नो नागरिकतामा बंशज लेखिएको देख्दा साह्रै खुशी लागेको प्रतिक्रिया दिए । भने–‘अब जागिर खानका लागि ढोका खुल्यो ।’

उनका २२ वर्षीय दाजु समीरले नागरिकता नभएकै कारण दुई वर्षदेखि पढाइ छाडेका छन् । उनले अब व्यापार गर्ने सोच बनाएको बताए ।
बंशजको आधारमा नागरिकता पाउनका लागि बाबु आमा दुवैको जन्मको आधारमा नागरिकता लिएको हुनुपर्ने प्रजिअ पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: