पहिले यहाँ निन्दा खोलो कुद्थ्यो । बालीनाली बर्खे भेलले बगाउँथ्यो । बलौटे बगर नै थियो यो ठाउँ । तर अहिले फेरिएको छ । लटरम्म मेवा र कागती फलिरहेका छन् ।
धुलावारी । बुढापाकाले भन्ने गर्छ्रन्–‘बालुवामा पनि सुन फल्छ ।’ एक वर्ष अघिसम्म निन्दा (नन्दा) खोलाको काम नलाग्ने बलौटे बगर मानिदै आएको ठाउँमा केही उद्यमशील कृषकले अहिले लटरम्म मेवा र कागती फलाएर बुढापाकाको उखान साँचो सावित गरिदिएका छन् ।
मेचीनगर–१० धुलावारीस्थित निन्दा खोलाको पश्चिमी तटैतट राजमार्गबाट करीव दुई सय मिटर उत्तर गएपछि लहलह मेवा र सयपत्रीको बोट हुर्किएको हरियाली ठाउँ पुगिन्छ । छेउमा ठूला ठूला पोखरी छन्, जहाँ माछा पालिएका छन् ।
१० बिगाहा क्षेत्रफल रहेको यहाँ अहिले एपेक्स बागबानी तथा विउँ विजन उद्योग प्रालिद्वारा सञ्चालित आधुनिक कृषि फार्म छ । नम्बरी जग्गा भए तापनि पहिले यहाँ निन्दा खोलो कुद्थ्यो । बषेर्नी किसानले लगाएको धान लगायतका बाली बर्खे भेलले बगाउँथ्यो । बलौटे बगर नै थियो यो ठाउँ ।
तर अहिले फेरिएको छ । फार्म स्थापना भएपछि खोलाको भागतिर तट बाँधिएको छ । वरिपरि सुरक्षाका लागि बलियो घेराबेरा लगाइएको छ । कामदार बस्ने कटेजहरु निर्माण गरिएका छन् । दश जना कामदारले नियमित रुपमा बालीनाली स्याहारिरहेका छन् । बगर थियो भन्ने नै बिर्साउने गरी हराभरा भइसकेको छ यो ठाउँ ।
छ जनाको ५० लाख लगानी :
कृषि तथा अन्य व्यवसायमा लागेका छ जनाले एपेक्समा लगानी गरेर आधुनिक व्यावसायिक खेती सुरु गरेका हुन् । लगानीकर्तामध्येका शेखर शर्मा गुरागाई काँकरभिट्टाका यातायात व्यवसायी हुन् ।
एपेक्स बागबानी तथा विउँ विजन उद्योग प्रालिमा मेवा, कागती र माछा उत्पादन गरिदैछ । प्रालिका अध्यक्ष मोहनचन्द्र भट्टले करिव ५० लाखको लगानीमा उक्त केन्द्र स्थापना गरिएको बताए ।
प्रालिको सदस्यमा रामजी केसी, राजन बाँस्तोला, रमेशबहादुर अधिकारी र सुजता बस्नेत छन् ।
फार्ममा गाइवस्तु लगायतका पशुपंक्षी समेत पालिएको छ । गत साउनदेखि सुरु गरिएको यस कृषि फार्मले दसँै तिहारका बेला ५० हजार रुपैयाँको सयपत्री फुल बेचेको प्रालिका निर्देशक शेखर शर्मा गुरागाईले जानकारी दिए ।
स्थानीय डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा र कागतीको विरुवा र उर्लाबारीको फार्मबाट विभिन्न प्रजातिका माछाका भुरा ल्याएर उत्पादन थालिएको गुरागाई बताउँछन् ।
फार्ममा हाल ७ हजार मेवा र ३ हजार कागतीका बोट छन् भने ३ वटा ठूला पोखरीमा ४ लाख माछा पालिएका छन् । दुईवटा पोखरी २÷२ कठ्ठाको र एउटा पोखरी डेढ विगाह क्षेत्रफलको छ । पोखरीमा ग्रासकार्प, कमनकार्प, सिल्बलकार्प, रौउ, नैनी, ब्रिगेट लगायतका जातका माछा छन् ।
त्यहाँ १४ वटा गाई र बाँच्छी, एकसय हाँस समेत छन् । २ विगाह क्षेत्रफलमा खरबुजाको बोट लगाउने तयारी भइरहेको छ ।
‘यही माघ अन्तिम सातादेखि माछा बिक्रीका लागि झिक्न मिल्ने हुन्छ’, निर्देशक गुरागाईले भने–पहिलो खेपमा ‘करिव २० कुइन्टल माछा उत्पादन हुने अनुमान गरिएको छ ।’ उनका अनुसार मेवा पाक्न थालेकाले फागुनदेखि बेच्न सुरु गरिने भएको छ । कागती अर्को वर्षदेखि बिक्रीका लागि तयार हुने बताइएको छ ।
तटबाँधमा सरकारले सघाउने आशा :
ठूलो लगानीमा सुरु गरिएको कृषि फार्म भएकाले जोखिम पनि ठूलै हुन्छ । तर अहिले सञ्चालकहरुलाई बाली सप्रिदैन कि भन्ने चिन्ता छैन । बाली बिक्री हुँदैन कि भन्ने पनि चिन्ता छैन । एउटै चिन्ता के छ भने बर्खे बाढीले फार्मलाई फेरि बगर नै बनाउँला कि !
बाढीका बेला जोखिम नहोस् भनेर स्थानीय सरकारले खोलामा तटबन्ध गर्न सघाए हुन्थ्यो भन्ने अपेक्षा गरिएको प्रालिका अध्यक्ष भट्ट बताउँछन् । ‘बगरलाई हराभरा बनाएका छौं, बाली फल्न थालिसकेको छ’, अध्यक्ष भट्ट भन्छन्–‘कृषकको मिहेनत र लगानी डुब्नबाट बचाउन स्थानीय सररकाले पनि सोच्नु पर्छ भन्ने हाम्रो माग छ ।’
अहिलेसम्म फार्मले कतैबाट कृषिका लागि अनुदान लिएको छैन । गत महिना नेदरल्यान्डबाट कृषि विज्ञ टोली आएर यहाँका किसानलाई आधुनिक खेतीका बारेमा तालिम दिएको थियो । यहाँको उत्पादन स्थानीयदेखि काठमाडौंको बजारसम्म पुर्याउने सञ्चालकहरुको योजना रहेको छ ।