बगर खोतलेर माछापालन

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार ०५:४५


बाहुनडाँगी । झापा बाहुनडाँगीका युवाहरु सामुहिक माछापालन व्यवसायमा लागेका छन् । स्वदेशमा भन्दा यहीँ आम्दानीको सम्भावना देखेपछि उनीहरुले कृषि व्यवसायलाई अँगालेका हुन् ।

बाहुनडाँगी–९ स्थित देवीगञ्जमा दौतरी एग्रो फार्म खोलेर माछापालन सुरु गरिएको हो । स्थानीय मञ्जील देवान, मुकुन्द थापा, डम्बरकुमार मगर, जीवन विश्वकर्मा, भूपाल थापा र पवन प्रधानले करिब २० लाख रुपैयाँ लगानी गरेर माछा व्यवसाय थालेका हुन् ।

उनीहरुले २०७२ सालमा २ बिगाहा १३ कठ्ठा जमिन भाडामा लिए । मेची खोलाको किनारमा रहेको सो जग्गामा ५ वटा पोखरी खनेर माछाको भूरा हाले । सात प्रजातिको माछाले अहिले राम्रो आम्दानी दिइरहेको छ । जनकपुरबाट ५० हजार माछाको भूरा ल्याएर पोखरीमा हालेको ५ महिनापछि उत्पादन दिन थालेको फार्मका सञ्चालक मध्येका मञ्जील देवानले बताए । ‘ कृषि व्यवसायबाट प्रसस्त आम्दानी लिन सकिँदो रहेछ’, उनले भने, ‘प्राविधिक ज्ञान सिकेर व्यवसाय थाल्नु उपयुक्त हुन्छ ।’

देवान साइप्रस बसेर फर्किएका हुन् । उनी स्टुडेण्ड भिषामा त्यहाँ गएका थिए । सोचेजति पैसा कमाई नभएपछि यहीँ आएर केही गर्ने योजना बनाएर उनी फर्किए । होटल मेनेजमेन्ट पढेका देवान भन्छन्, ‘बिदेशमा गरेजति परिश्रम स्वदेशमै गर्ने हो भने भविष्य राम्रो छ ।’ त्यसमा पनि कृषिमा सम्भावना रहेको उनी बताउँछन् ।

बाहुनडाँगी हात्तीपीडित क्षेत्र हो । बर्षेनी भारतबाट आउने हात्तीले बाली सखाप पार्ने गरेको छ । अन्नपात पनि राम्रोसँग भित्र्याउन बाहुनडाँगीबासीले पाउँदैनन् । यही पीडा सम्झेर देवानसहितका युवाले बिकल्प खोजे । उनीहरुले माछापालन व्यवसाय गर्ने योजना बनाए । किनकी हात्तीको उपद्रोले माछा व्यवसायमा क्षति पुर्याउन सक्दैन । बाहुनडाँगीको बगर क्षेत्रलाई माछाको पकेट क्षेत्र बनाउने योजनाका साथ आफुहरुले व्यवसाय सुरु गरेको उनले सुनाए । थप ४ बिगाहा जग्गामा माछापोखरी बनाउने योजनामा रहेको उनले सुनाए ।

माछाले आम्दानी दिन थालेपछि उनीहरु थप हौसिएर यसैमा लागिपरेका छन् । उत्पादित माछा खाडीबाटै बिक्री हुन थालेपछि उनीहरु व्यवसायमा जमेका हुन् । माछाको प्रजाति हेरेर न्युनतम् प्रतिकेजी ३ सय रुपैयाँमा बिक्री हुने गरेका देवान बताउँछन् । ‘यहाँ उत्पादित माछाले बजार धान्न सकेको छैन’, उनी भन्छन्, ‘बजारमा स्वदेशी माछाको माग बढिरहेको छ, तर हामीले पुर्याउन सकिरहेका छैनौँ ।’ उनका अनुसार भारतको माछासँग तत्काल प्रतिस्पर्धा गर्न गाह्रो छ । भारतबाट करिब ६० प्रतिशत माछा आयात हुने गरेको छ । यसलाई विस्थापन गर्न सरकारले माछा व्यवसायमा आकर्षित गर्ने खालका कार्यव्रmम ल्याउनु पर्ने उनको सुझाव छ ।

‘सरकारले कृषिमा अनुदान त दिइरहेको छ’, देवान भन्छन्, ‘यद्यपि अनुदान सदुपयोग भए÷नभएको अनुगमन गर्न आवश्यक छ ।’ कागजपत्र मात्र हेरेर अनुदान दिने प्रवृत्तिले गर्दा कृषि व्यवसाय अघि बढ्न नसकेको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: