बगानका मजदुरका लागि छैन चर्पी

  प्रकाशित मिति
२ बैशाख २०७५, आईतवार २१:२७


भद्रपुर । जिल्लामा रहेका चिया बगानहरुले प्रतिष्ठानभित्र बस्ने मजदुरहरुका लागि आवश्यक शौचालय निर्माण नगर्दा खुल्ला दिसामुक्त अभियान नै प्रभावित बनेको छ ।

बिर्तामोड र अर्जुनधारा नगरपालिकामा पर्ने गिरीबन्धु टी स्टेट र न्यू गिरी टी स्टेटमा रहेका मजदुरहरुलाई आवश्यक शौचालय निर्माण नगर्दा यी दुई नगरपालिकाको खुल्ला दिसामुक्त घोषणा नै प्रभावित बनेको छ ।

अर्जुनधारा नगरपालिकामा पर्ने गिरीबन्धु र न्यू गिरी टी स्टेटमा दुई सयभन्दा बढी परिवार बसोबास गरिरहेका छन् । उनीहरुका लागि पर्याप्त शौचालय नहुँदा खुल्ला दिसामुक्त हुन सकेको छैन । अर्जुनधारा नगरपालिकाले पटकपटक सम्पर्क गरी मजदुर र कर्मचारीका लागि चर्पी बनाउन अनुरोध गरे पनि व्यवस्थापनले आलटाल गर्दै आएको छ ।

अहिले खुल्ला दिसामुक्त घोषणा गर्नका लागि वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रतिपरिवार २ हजार ५ सय रुपैयाँ जम्मा गरी बाँकी रकम समितिले नै थप गरी शौचालय निर्माणमा सहयोग गरिरहेको छ ।

यसैबीच, खुल्ला दिसामुक्त घोषणा अभियानमा भद्रपुर नगरपालिकाका लागि टाउको दुखाइ बनेको बुधकरण टी स्टेट व्यवस्थापनले बैशाख १४ गतेभित्र प्रतिष्ठानभित्र बसोबास गर्ने मजदुर र कर्मचारीका लागि आवश्यक सुरक्षित शौचालयको प्रबन्ध गर्न तयार भएको छ ।

प्रतिष्ठानको कार्यालयमा भद्रपुर नगरपालिकाका प्रमुख, वडाअध्यक्ष र प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु, सरसफाइका जिल्लास्थित साझेदारहरु, सञ्चारकर्मीहरु र प्रतिष्ठान व्यवस्थापनबीच भएको बैठकपछि आवश्यक सङ्ख्यामा चर्पी बनाउन टी स्टेट तयार भएको हो ।

यसअघि २०७३ जेष्ठ २४ गते समेत नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृतसहितको टोलीसँग बुधकरण टी स्टेटका व्यवस्थापन राजेन्द्र्रसिंह राजवंशीले २०७३ आश्विन मसान्तभित्रमा आवश्यक शौचालय निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।

‘त्यसपछि दर्जनौँ पटक प्रयास गरे पनि निष्कर्षमा पुग्नेगरी छलफल हुन सकेको थिएन,’ भद्रपुर नगरपालिकाका खुल्ला दिसामुक्त अभियान कार्यक्रम अधिकृत फणिन्द्र दाहालले भने, ‘चिया बगानकै कारण वडा नं.७ खुल्ला दिसामुक्त हुन सकेको थिएन ।’

चिया बगानभित्र बस्ने १ सय १४ परिवारका लागि अहिलेसम्म जम्मा १६ वटामात्र शौचालय निर्माण गरिएका छन् । ११ वटा क्वार्टरमा रहेका ९३ परिवार अहिले पनि दिसापिसावका लागि चिया बगानमा नै जान्छन् ।

क्वार्टरभित्र बनेका केही शौचालय समेत प्रयोगविहीन अवस्थामा रहेको खुल्ला दिसामुक्त अभियानका सीताराम नेपालले बताए । ‘सानो खाडल छ, हामी सबैले दिसा गर्ने हो भने एक महिना नहुँदै भरिन्छ भनेर उनीहरुले अहिले पनि ती चर्पी प्रयोग गर्दैनन्,’ नेपालले भने, ‘चर्पी नै नहुने क्वार्टरका सबै दिसा गर्न चिया बगानमै जान्छन् ।’

क्वार्टरमा बस्ने मजदुर र कर्मचारीमात्र होइन, चिया बगानभित्र बसोबास गर्ने गैरमजदुर परिवारका सदस्यहरुले समेत चर्पी बनाएका छैनन् । ‘उनीहरुले समेत विभिन्न बहाना गरी चर्पी बनाउँदैनन्,’ अभियान सहजकर्ता गायत्रा श्रेष्ठले भनिन्, ‘हामीले धेरै पटक सम्झायौँ, तर मालिकले यहाँको जमिनमा चर्पी बनाउन दिँदैन भन्ने बहाना गरेर चर्पी बनाउन अटेर गरेका छन् ।’

प्रतिष्ठान व्यवस्थापन राजेन्द्रसिंह राजवंशीले खुल्ला दिसामुक्त अभियानलाई असहयोग गर्ने आफ्नो मनसाय नभएको र कति, कस्तो किसिमको शौचालय बनाउने भन्ने स्पष्ट नभएकाले आफूले सीमित सङ्ख्यामामात्र शौचालय निर्माण गरेको बताए ।

………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: