बगानमा फोहोर फ्याँकिएकोमा आपत्ति

  प्रकाशित मिति
४ पुष २०७३, सोमबार १०:५१


btm fohor

विर्तामोड । विर्तामोड बजारबाट निस्कने अनेक किसिमका फोहोरमैला वुट्टाबारी चिया बगानस्थित राजमार्ग किनारमा फालिएकोमा बगानले गम्भीर आपत्ति जनाएको छ ।

बगानले आइतवार प्रेस विज्ञप्ति नै जारी गरी यसरी हानिकारक फोहोरलाई बगानमा ल्याएर फाल्ने कार्य बन्द गर्न आग्रह गर्दै त्यस्तो गैरजिम्मेवार कार्य गर्ने गराउने जोकोहीलाई सजायको भागिदार बनाउन जोडदार माग समेत गरेको छ ।

बगानका व्यवस्था निर्देशक छत्रबहादुर गिरीद्वारा जारी विज्ञप्तिमा फोहोर व्यवस्थापन गराइदिन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै बगानमा थुपारिएको फोहोरले स्थिति असहज भएको उल्लेख छ ।

‘विर्तामोड बजारबाट निस्कने दुर्गन्धित फोहोरमैला, सिरिन्जहरू, प्लास्टिकका कवाडी सामानहरू बगान क्षेत्रमा यत्रतत्र फाली दिनाले सास्ती भोग्नु परिरहेको छ’–विज्ञप्तिमा भनिएको छ । फोहोरले विभिन्न सङ्क्रामक रोग उत्पन्न हुने खतरा समेत विज्ञप्तिमा औल्याइएको छ ।

आवतजावत गर्न र बगानमा काम गर्न निकै अप्ठेरो भएको जनाउँदै प्रतिष्ठानबाट उत्पादित हुने तयारी चियामा समेत असर परी उद्योगकै भविष्य जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ ।
विर्तामोडको फोहोरमैला लामो समयदेखि विसर्जन गर्ने ठाउँ नभएर सडक किनारमा जथाभावी डम्पिङ गर्ने, खाल्डो खनी पुर्ने र आगो लगाएर डढाउने कार्य हुँदै आएको छ ।

विर्तामोड नगरपालिका स्वयम्ले यस्तो लापरवाही गरिरहेको छ । यसमा स्थानीय राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ र सामाजिक संस्थाहरू मौन देखिएका छन् । तर केही युवा संस्थाले भने सहरको फोहोरमैलाको विकराल अवस्था देखेर आफै सरसफाईमा जुटिरहेका छन् ।

यस बारेमा नगरपालिकाका आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न फोन उठेन । फोहोरमैलाको विकराल समस्याले नगरका कर्मचारीहरू पनि तनावमा छन् । फोहोर फाल्ने ठाउँ नभएका कारण यस्तो अवस्था निम्तिएको हो । नगरपालिकाको ट्याक्टरले फोहोर राति नै सङ्कलन गरी सडक किनारमा जथाभावी मिल्काएर जाने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

विर्तामोडका कतिपय हस्पिटल, मेडिकल, उद्योग र व्यवसायीहरूले समेत रासायनिक, सिसाजन्य र हानिकारक फोहोरहरू राति लुकीलुकी बुट्टावारी र चारआलीको जङ्गल छेउछाउ ल्याएर फ्याक्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: