बिर्तामोड । श्रम ऐनमा तोकिए बमोजिमको ज्याला पाउनु पर्ने माग राखेर आन्दोलित चिया मजदुरहरुले मङ्गलवार गिरीबन्धु टी इस्टेटमा विरोध सभा गरेका छन् ।
चिया बगानभित्रै आयोजना गरिएको विरोध सभामा चिया मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मजदुर हक हित र आन्दोलनको आवश्यकताका विषयमा मजदुर नेताहरुले सो अवसरमा मन्तब्य मार्फत जानकारी दिएका थिए ।
सभामा नेपाल ट्रेड युनियन महासङ्घका प्रदेश सदस्य सन्तकुमार राई, नेपाल ट्रेड युनियन काङ्ग्रेसका झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दिपक तामाङ, नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई र अखिल नेपाल चिया मजदुर सङ्घकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले मन्तब्य राखेका थिए ।
वक्ताहरुले चिया मजदुरहरुले श्रम ऐनले तोके बमोजिमको ज्याला नपाएसम्म आन्दोलन कुनै दल वा नेताले दवाव दिएर नरोकिने चेतावनी दिएका थिए ।
कार्यक्रमको सभापतित्व नेपाल कृषि तथा चिया बगान मजदुर सङ्घको गिरीबन्धु टी इस्टेट इकाईका अध्यक्ष नारायण दर्जीले गरेका थिए ।
आन्दोलन अन्तर्गत बुधवार अपरान्ह ४ बजे मेचीनगरको टोकला चिया बगानमा विरोध सभा हुने र भदौ २३ गते विर्तामोडमा मजदुर र्याली र वृहत जनसभाको आयोजना हुने मजदुर नेतृ सीता सापकोटाले बताइन् ।