बङ्गवन्धु कपमा नेपालको प्रदर्शन

  प्रकाशित मिति
१२ माघ २०७२, मंगलवार ०५:४९


namin

एक समय आफनो लय गुमाउँदै गरेको नेपाली फुटबल जगतले पुन ः आफनो लय समाउँदै गएको छ । म्याच फिक्सिङका कारण फुटबल जगतमा करिव ८ बर्ष नेपालले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि बरियता गुमाउँदै गयो । फिक्सिङको पर्दाफास भएपछि नेपाली जुनियर फुटबलले लय समाएको हो भन्नेमा विश्व फुटबल जगत दुइमत हुन सक्दैन । साफ च्याम्पियनसिपमा राम्रो खेल प्रदर्शन गर्न नसकेको नेपालले फेरी एकपटक बङ्गवन्धु कपमा आफनो क्षमता प्रदर्शन ग¥यो । आफनो पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसँगको बरावर खेल्यो । दोश्रो खेलमा श्रीलङ्काको चुनौती १–० ले पन्छायो । खेलको सुरुवातमा बिमल घर्ती मगरले गरेको गोल नै नेपालको जितको लागि पर्याप्त बन्यो । त्यस्तै तेस्रो खेलमा बङ्गलादेशसँग पनि बरावरी खेलेपछि समूह ‘ए’ को दोस्रो हुँदै नेपाल सेमीफाइनलको यात्रा तय गर्न सफल रह्यो । सेमीफाइनल खेलमा माल्दिभ्स विरुद्ध इतिहासकै सवैभन्दा उत्कृष्ट नतिजा ४–१ गोल अन्तरको जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्न सफल रह्यो ।

नेपालको जितका लागि युवा खेलाडी नवयुग श्रेष्ठले ह्याट्रिक गरे भने विशाल राई ‘बी’ ले १ गोल गरे । त्यो जितसँग २३ बर्षपछि नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा प्रवेश ग¥यो । सम्भवतः १९९३ मा बालगोपाल महर्जन नेपाली टोलीको सदस्य रहेको बखत नेपाल साफ गेमको फाइनल प्रवेश गर्दै विजेता बनेको थियो । फाइनल खेलमा नेपालले बहराइनको २३ बर्षमुनिको टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै २३ बर्षे फुटबल खडेरीलाई समाप्त ग¥यो । जितसँगै नेपाली टोलीले ५० हजार अमेरिकी डलर हात पा¥यो भने उपविजेता बहराइनले २५ हजार डलरमा चित्त बुझायो ।

यसपटकको फुटबल खेललाई नजिकैबाट नियाल्दा बङ्गवन्धु कपमा सबैले आफनो भूमिकामा न्याय गरेको देखिए पनि केही नेपाली स्टारहरु विशेष आकषर्णको पात्र बने । इलामेली युवा नवयुग श्रेष्ठको खेल उत्कृष्ट थियो । साफ च्याम्पियनसिप छनौटको बखत जुमानु राई नेपाली टिममा नपरेको, साफ गेममा अनिल गुरुङले सन्तोषजनक प्रदर्शन नगरेको तथा सन्तोष साहुखल नेपाली फुटबल छाडेर जापान गएका कारण नवयुगले नेपाली टोलीमा स्थान बनाएका थिए । जसरी नेपालका प्रशिक्षक महर्जनले सिनियर स्ट्राइकर टिममा समावेश नहुँदा गोल मेसिनको रुपमा आङ्कलन गरेका थिए  । त्यसलाई उनले माल्दिभ्स विरुद्धको खेलमा सन्सनीपूर्ण ह्याट्रिक गरेर सावित गरिदिए । माल्दिभ्स विरुद्धको प्रदर्शनबाट नवयुग अन्तर्राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गर्ने ५ औं नेपाली फुटबलर बने । प्रतियोगिताभर ४ गोल गरेका नवयुग सर्वाधिक गोलकर्तासँगै उत्कृष्ट खेलाडी समेत चुनिए । अर्का स्टार हुन्, विमल घर्ती मगर । १८ बर्षे युवा बिमलले लामो समयदेखि लागेको गोलको खडेरी साफ च्याम्यिनसिपमा भारतविरुद्ध गोल गरेर तोडेका थिए ।

त्यसैगरी बङ्गवन्धु कपमा नेपालले निकालेको पहिलो जितमा बिमलले नै निर्णायक गोल गरेका थिए भने फाइनल खेलमा किपरको हाफ पन्चलाई विना गल्ती जालीको दिशा दिएर बहराइन विरुद्ध गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठले गरेको हेड गोलमा समेत पास मिलाइदिएका थिए । बहराइन विरुद्धको प्रदर्शनबाट विमल म्यान अफ दि म्याच चुनिए । नेपालका प्लेमेकर भनेर चिनिएका अन्जन विष्टको खेल तारिफयोग्य थियो । नेपाली टिमका उनी मेस्सी नै हुन् भन्दा त्यति फरक नपर्ला । उनले आफै गोल नगरे पनि गोलका धेरै अवसर सिर्जना गरिदिएका थिए । १९ बर्ष मुनिको साफ गेमको प्रदर्शनबाट उनले नेपाली राष्ट्रिय टिममा अवसर पाएका थिए । फाइनल खेलमा बिशाल राई ‘बी’ले गरेको दोश्रो गोलमा उनले मेस्सीको झल्को दिँदै डि–बक्समा एकपछि अर्को खेलाडी छक्याएर अनमार्क बिशाललाई गोल गर्ने वातावरण सिर्जना गरिदिएका थिए । त्यसैगरी बहराइन विरुद्धको खेलमा विराज महर्जनको फ्रि–किकलाई अन्जनले हेड गर्दै बहराइनका किपरलाई हाफ विट गराइदिएपछि बिमलले बल सहजै जाली चुमाइदिए ।

नेपाली गोलकिपर विकेश कुथुले पनि प्रतियोगिता भर विपक्षीको आव्रmमण निस्तेज बनाएर आफूलाई नम्वर १ किपर सावित गरिदिए । मध्यपुर युथ एसोसिएसनका उत्पादन कुथुले राष्ट्रिय लिगमा नेपाल आर्मीबाट खेल्दै निकै तारिफ पाएका थिए । साफ गेममा किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा दोस्रोे रोजाइका कुथुले नेपाली पोष्ट सम्हाल्ने मौका पाएका थिए, जसलाई उनले पूर्ण न्याय गरे । बहराइन विरुद्धको खेलमा हाफ विट भइसकेका कुथुले दिशा बदल्दै बल पन्च गरेर बहराइनी खेलाडीको हौसला टुटाइदिएका थिए । माल्दिभ्स विरुद्ध पनि उनले आधा दर्जन बल उत्कृष्ट बचाउ गरेका थिए । प्रतियोगिता अवधिभर माल्दिभ्सका अहमद नासिदले मात्र नेपाली गोलरक्षक कुथुलाई विट गराइ जाली चुमाउन सफल रहे । अर्का स्टार हुन्, नेपाली प्रशिक्षक बालगोपाल महर्जन । सन् ९० को दशकमा नेपाली राष्ट्रिय टोलीमा मिडफिल्डर रहेका महर्जनले १९९३ मा नेपाललाई साफ फुटबलमा गोल्ड मेडल दिलाउनमा मुख्य भूमिका खेलेका थिए । २३ बर्षअघि खेलाडी रहँदा फाइनल जिताएका महर्जनले पुन ः प्रशिक्षक रहँदा नेपाललाई फाइनल जिताउन सफल रहे । सन् २०१५ मा १९ बर्षमुनि टोलीलाई साफ गेम जिताएका उनले पहिलोपटक राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक सम्हाल्ने मौका पाए, जसमा उनले आफूलाई उत्कृष्ट प्रशिक्षक प्रमाणित मात्र गरेनन् विदेशी प्रशिक्षक ल्याउँदा मात्र जित्न सकिन्छ भन्ने एन्फाको भ्रमलाई समेत तोडिदिए । बङ्गवन्धुमा निकालेको जितले नेपाली फुटबल बरियतामा केही सुधार हुने अपेक्षा गरिएको छ । भरखरै आएर नेपाल सरकारले विजेता नेपाली टिमका खेलाडी र प्रशिक्षकलाई जनही ५÷५ लाख र एन्फाले २÷२ लाख दिने घोषणा वास्तवमा तारिफयोग्य छ । तर, यतिले मात्र नेपाली फुटबलको विकास हुन सक्दैन । राष्ट्रिय टोलीमा समावेश भएका खेलाडीहरुलाई तलबको व्यवस्थाका साथ नयाँ खेलाडी उत्पादनका लागि विभिन्न स्थानमा फुटबल ट्रेनिङ सेन्टरको स्थापन गरे मात्र नेपाली फुटबलको स्तरोन्नती हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: