बच्चाको घाँटीबाट निकालियो पिनसियो

  प्रकाशित मिति
२५ जेष्ठ २०७५, शुक्रबार ०९:२७


विर्तामोड । इलामका १४ महिने एक अबोध बालक निश्चल राईको घाँटीमा छिरेको तीखो पिनसियो विर्ता सिटी हस्पिटलमा सफलतापूर्वक निकालिएको छ ।

विर्ता सिटी हस्पिटलका नाक कान घाँटी रोग विशेषज्ञ डा. निरन्जन पन्थीले आधा घण्टा लामो अवधिमा इन्डोस्कोपी प्रविधि प्रयोग गरेर बालकको घाँटीबाट कुनै चिरफार नगरी र कुनै चोट नलगाई पिनसियो बाहिर झिकेका हुन् ।

‘चौध महिनाको बालकको घाँटीको खाद्य नलीभित्र पुगिसकेको पिनसियो सकुशल बाहिर निकाल्नु निकै जोखिमपूर्ण थियो’, डा. निरन्जन पन्थीले विहीवार लोकतन्त्र पोस्टसँग भने–‘तर हामीले बडो मिहेनत र कुशलतापूर्वक कुनै चोट नलगाई निकाल्न सफल भयौँ ।’

आमाले प्रयोग गर्ने पिनसियो खेलाउने क्रममा बालकले अन्जानमा निल्दा सो अवस्था भएको थियो ।

तिखो भाग खुला भएको र माथितिरै फर्किएको अवस्थामा निलेको पिनसियो बालकको घाँटीको खाद्य नलीमा अड्किएको थियो ।

अभिभावकहरुले सुरुमा सो वालकलाई उपचारका लागि इलाम अस्पताल पुर्याएका थिए । त्यहाँ तिखो भाग खुला भएको पिनसियो घाँटीबाट बाहिर निकाल्न असम्भव भएपछि विर्ता सिटी हस्पिटलमा विरामीलाई रेफर गरिएको थियो ।

‘हामीकहाँ आइपुग्दा रोइरहेको बालक निकै नाजुक हालतमा थिए, तत्काल पिनसियो ननिकाली नहुने अवस्था थियो’, विर्ता सिटी हस्पिटलका प्रमुख डा. अनिल बस्नेत भन्छन्–‘इन्डोस्कोपी विधिबाट पिनलाई तानेर बाहिर ल्यायौँ ।’

विर्तासिटी हस्पिटलमा निश्चललाई ल्याइपुर्याउँदा पिन घाँटीमा अड्किएको ४ दिन भइसकेको थियो ।

नाक कान घाँटी रोग विशेषज्ञ डा. निरन्जन पन्थी

नाक कान घाँटी रोग विशेषज्ञ डा. पन्थी विर्तासिटी हस्पिटलमा आएको ६ महिना भएको छ । यस अघि उनी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए ।

उनले आफ्नो चिकित्सा जीवनमा खुला पिन घाँटीमा अड्किएको विरामी पहिलोपल्ट भेटेको बताए । चिकित्सा क्षेत्रमा यस्तो उपचार निकै दुर्लभ र प्रशंसनीय मानिन्छ ।

डा. पन्थीले साना बच्चाहरुमा अन्जानमै जे भेट्यो त्यहीलाई मुख र नाकमा हाल्ने स्वाभाव भएकाले अभिभावकहरुले सजग हुनु पर्ने बताउँछन् ।

विहीवार यो समाचारको रिपोर्टिङका क्रममा विर्तासिटी हस्पिटलका डा. पन्थीसँग कुराकानी गरिरहेका बेला बाह्रदशी–५ घोडामाराबाट नाकभित्र इरेजरको डल्लो अड्काएको अवस्थामा एक बालिकालाई उपचारमा ल्याइएको थियो ।

डा. पन्थीले तत्कालै ती बालिकाको नाकभित्र अड्किएको इरेजर बाहिर निकालेका थिए ।

बाह्रदशी–५ घोडामारामा कञ्चनजङ्घा बोर्डिङ स्कुलमा एलकेजीमा पढ्न गएकै अवस्थामा नाकभित्र इरेजर अड्किएकी ४ वर्षकी समृद्धि देउजा

समृद्धि देउजा नाम गरेकी ४ वर्षकी ती बालिका स्थानीय कञ्चनजङ्घा बोर्डिङ स्कुलमा एलकेजीमा पढ्न गएकै अवस्थामा नाकभित्र इरेजर पसेको उनकी आमा सावित्रा देउजाले लोकतन्त्र पोस्टलाई बताइन् ।

बच्चाहरुले प्राय सिक्का खेलाउने क्रममा घाँटी र आन्द्रामा अड्काउने गरेको हुँदा त्यस्तो भइहालेमा तत्काल उपचारका लागि हस्पिटल लैजान डाक्टरहरुको सुझाव छ ।

केही दिन अघि मानिसको कानभित्र पसेको साङ्लो र जुकालाई उपचारका क्रममा विर्ता सिटीमा जिउँदै बाहिर निकालिएको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: