उमानाथ भण्डारी
कमल । कमल गाउँपालिकाले उपभोक्तासँग जोडिएका अत्याआवश्यक खाद्यान्न लगायत सामाग्रीका पसल तथा ढुवानीका सवारी साधान सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा आइतबार आपतकालिन बसेको सर्वपक्षिय बैठकले त्यस्तो निर्णय गरेको हो ।
लकडाउनको प्रभावले जनजिवन अस्तव्यस्त बनेकोले यस्तो अवस्थालाई सहज बनाउन कमल गाउँपालिकाको आपतकालिन बैठकले विभिन्न निर्णय गरेको अध्यक्ष काफ्लेले बताइन् ।
खाद्यान्न, तरकारी, औषधि, डेरी पसल, कुखुरा तथा बंगुरको दाना ढुवानी लगायतका अत्यावश्यक पसल सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सरकारले लकडाउन गरेको आइतबार छैटौंँ दिन पुगेको छ ।
पछिल्लो विवरण अनुसार गाउँपालिकामा विदेशबाट आउनेको संख्या ५८ जना पुगेको छ । विदेशबाट आउने थप कोहि भए पहिचान गरी सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने गाँउपालिकाले जनाएको छ ।
सेल्फ क्वारेन्टाइनमा बस्न नमान्नेलाई गाउँपालिकाले तयार पारेको क्वरेन्टाइनमा राख्ने, गाउँपालिकामा दैनिक ज्यालादारी गरी छाक टार्ने मजदुरको विवरण लिने, कमल रेडक्रसद्वारा सञ्चालित एम्वुलेन्सलाई आइसोलेसनसहितको तयारी अवस्थामा राख्ने, विभिन्न सडक र चौक बजारमा लगाएका ढाट हटाउने लगायतका निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए ।
कमल नगर जेसीजले १० वेडको क्वारेन्टाइन निर्माण गरी गाउँपालिकालाई बुझाउने जेसीजको प्रस्तावलाई गाउँपालिकाले स्वकार्ने समेतको निर्णय गरेको छ । योसँगै कमल गाउँपालिकामा २५ वेडको क्वारेन्टाइन हुनेछ ।