भद्रपुर, ५ वैशाख । भद्रपुर नगरपालिका वडा नम्बर–६ मा घरेलु कार्यालयबाट इजाजत नलिई सञ्चालनमा रहेको एक किराना पसललाई जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले रु. पाँच हजार जरिवाना गराएको छ ।
राजेन्द्र महतोले गंगा भण्डार नामको किराना पसल घरेलुबाट इजाजत नलिई सञ्चालन गरेको, खरिद वील तथा विक्री वील समेत नराखेको र मूल्य राखिएको बोर्डसमेत स्पष्ट नभएको हुँदा कारवाही गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
उनले सोही क्षेत्रका स्थानीयवासीले गुनासो गरेपछि आज समितिले पसलमा अनुगमन गरेको थियो । गाईले खाने चोकरको मूल्य प्रतिबोरा रु. दुई हजार १९३ पर्ने भए पनि महत्तोले रु दुई हजार ६५० सम्ममा बेचेको पाइएको थियो ।
घरेलु कार्यालयका कर्मचारी आश्विन भट्टराईले उनलाई आइतबार घरेलु कार्यालयमा हाजिर हुन निर्देशन दिएका छन् । उनलाई पहिलो चरणमा रु. पाँच हजार जरिवाना गरिए पनि अटेर गरेर कार्यालयमा हाजिर नभएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिने बताए ।
समितिमा जिल्ला प्रहरी कार्यालय, घरेलु, आन्तरिक राजस्व कार्यालय, नगरपालिकालगायतका सदस्य रहेका छन् ।