बढी भो केसीको जात्रा

  प्रकाशित मिति
१ पुष २०७३, शुक्रबार १२:०१


mohan kazi

हाम्रो मुलुकका धेरैजसो मानिसहरू भीड र हल्लाको पछि लाग्छन् । वास्तविकता के हो भन्नेतिर सोच्ने झन्झट र व्यहोर्ने फुर्सदै छैन जस्तो । यदि कान छामेर मात्र कागका पछि दगुर्न थाल्ने हो भने भीडले झन् ठूलो भीड आकर्षण गराउने तमासेदार उपचक्र ठप्प हुने थियो । अफशोच, आफुलाई वौद्धिक जमात ठान्नेहरूमा पनि भीडप्रिय मानसिकता हट्न सकेको छैन ।

यतिबेला कि कमल थापाको राप्रपाले कि डा. गोविन्द केसीले आफुतिर भीड बढाएको बढायै छन् । गायिका कोमल वलीपछि नायिका रेखा थापाले राप्रपाको सदस्यता ग्रहण गरिन् । एउटीले भनिनै हालिन्–‘मलाई राप्रपाको झण्डा ओढेर मर्न मन छ ।’ उनको यो महानवाणी सुन्नेलाई पचाउन अलि गाह्रै पर्यो । किनकि, उनी राजनीतिक दर्शन र सङ्गठनप्रति कति निष्ठावान र वफादार छिन् भनेर विगत कोट्याउन थाल्यो भने उदेकै लागेर आउँछ । विचरीलाई जो सत्तामा पुग्छ वा जसको अलि क्रेज बढ्छ–त्यतैतिरको झण्डा ओढेर उनलाई मर्न मन लागिहाल्छ ।

अहिले डा. गोविन्द केसीको अनसनको मार्केट भ्यालु बढेको छ । राजनीतिक बजारमा शेयरको मूल्य बढाउन नसकिरहेका अर्का डाक्टर अर्थात पूर्व प्रधानमन्त्री वावुराम भट्टराई पनि आफ्नो मूल्य अभिवृद्धि गर्न डा. केसीको अनसन जुलुसमा सरिक भए । बजार डाउन भएर ज्योतिषीहरूकहाँ धाउने गरेका थुप्रै सिनेमाका हिरो हिरोइनहरू पनि अनसन जुलुसमा पुगेको देखियो । केही पत्रकारहरू पनि टुप्पी कसेर केसीलाई देवत्वकरण गर्दै लोकतान्त्रिक विधिको तेजोबध गराउने धन्धामा लागेका छन् ।

हामीकहाँ अढाइ सय वर्ष जरो गाडेर बसेको राजतन्त्रलाई हटाउने घोषणा गरेको शक्तिशाली संसद् छ । नीति, नियम र कानूनका कुनै पनि दफा त्यस्ता छैनन्, जसलाई हाम्रो संसद्ले बदल्न नसकोस् । संसद्मा दुई तिहाइ पुर्याउन कसैले सक्छ भने उसले जे चाह्यो त्यही परिवर्तन ल्याउन सक्छ । त्यसैले भनिएको हो–नेपालमा अब राजनीतिक परिवर्तनका लागि बन्दुक बोकेर वा हिंसा मच्चाएर कुनै लफडा गर्न जरुरी छैन । बन्द र हड्ताल मच्चाएर दुनियाको श्राप व्यहोर्नु पनि पर्दैन । न त ज्यान माया मारेर आमरण अनसन बस्न नै जरुरी छ । एउटा हदसम्म अनसनले जनतालाई जागृत गराउने र सरकारलाई खबरदारी गर्ने काम गर्न सक्छ । तर सबै माग अनसनबाटै पूरा गराउने थिति बस्न जाँदा त्यो जात्रा नै हुन्छ । जस्तो अहिले भइरहेको छ ।

यतिबेला डा. गोविन्द केसीका समर्थकको भीड यति ज्यादा उर्लिएको छ कि कतै उनको आलोचनामा शब्द ओकल्यो भने महामहिम समर्थकहरू कताबाट खनिने हुन् र आतेस पार्दा हुन् । पहिलो संविधान सभाको चुनाव जितेका बेला प्रचण्डले जताततै हरुवाहरू मात्र देखेको मलाई सम्झना भइरहेको छ । समर्थकहरूलाई अरु सबै मनुवा हुन् र केसी चाहिँ अवतारी भगवान हुन् भन्या लागेको छ ।

म झापाको धुलावारी भन्ने सानो सहरबाट काठमाडौँतिर यसो चियाएर हेर्छु–डा. केसी नामक एउटा बुख्याँचा यति अग्लिएको छ कि उसका सामू प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश र ६०१ मार्काका सांसदहरू फुच्चे फिस्टा जस्ता पो देखिन्छन् ।

चुनाव जिताएर पठाइएका सांसद् रविन कोइरालालाई निकै ठूलो जनप्रतिनिधि भन्ठानेका थिए झापा क्षेत्र नं. १ का मतदाताले । उनलाई नीति नियमको विधेयक बनाएर कानूनमा रुपान्तरण गर्ने जिम्मेवारी जनताले सुम्पेको भन्ने सानो विश्वास थियो । रविन कोइरालाहरूले नै संसद्बाट चुनेर पुष्पकमल दाहाललाई कार्यकारी प्रधानमन्त्री चुनेको हो भन्ने अर्को विश्वास पनि थियो हामीसँग । अहँ यी विश्वासहरू भ्रम रहेछन् कि क्या हो ! डा. केसीले त संविधानसभामा कतै भोटका बाक्सा थापेका पनि थिएनन् । तिनलाई सांसद र मन्त्री पनि बनाइएको होइन । तिनलाई टिचिङ हस्पिटलमा विरामीको राम्रो जाँच गर्नु भनेर सरकारले जागिर पो दिएको सुनिएको थियो । सुनेको कुरो पनि होइन कि क्या हो जस्तो भयो अहिले ।

सांसद् पनि लत्रक्क, प्रधानमन्त्री पनि फत्रक्क ! कुन जात्रा भइरहेको छ यो मुलुकमा । एउटा व्यक्तिले पन्ध्र बीस दिन जिद्धि गर्दा प्रधानमन्त्री पनि थरर हुने कस्तो कमाल हो अनसनको । अरु सबैले विधि मान्नु पर्ने, प्रक्रिया पूरा गर्नु पर्ने । तर डा. केसी मात्र यस्तो एउटा नागरिक भए यो मुलुकमा जसले अनसन बसिदिदा उनका सबै माग पूरा हुन थालेका छन्, कुनै विधि चाहिदैन । गरीवीको रेखामुनि रहेका लाखौँ नेपाली बर्षौदेखि आधा पेट खाएर प्राण धानिरहेका छन् । तिनलाई स्लाइन चढाउने कसले ? तिनले भरपेट खान पाउनु पर्छ कि पर्दैन ? डा.केसीको अनसनका सामू विचारा सांसद र प्रधानमन्त्रीहरू बुटी सुँघाएको साप जस्तो निरीह बस्नु पर्ने !
मेरो गाउँमा अस्ति भर्खरैको कुरो हो– छोराको साथीको वर्थ डे थियो । ‘डेडी पुर्याइदिनु’ भनेर छोरोले रिक्वेस्ट गरे पछि बाइकमा हालेर पुर्याइदिएँ । त्यहाँ तिलचामले हजुरआमाले नातिको निधारमा अक्षता टाँसिदिदै भनिन्–‘हिड्दा ठेस् नलागेस्, कोर्दा केश नझरेस्, कसैसँग नझुक्ने भएस्, पर्धानमन्तिरीभन्दा पनि ठूला डागडर किसी जस्तै भएस् !’ म हजुरआमाको आशिर्वचन सुनेको सुन्यै भएँ । ओहो, रेडियोमा डा. केसीका कुरा सुन्दा सुन्दा ती हजुरआमालाई उनी भगवान नै पो भइसके कि जस्तो लागेछ ।

एन्टी करेन्ट बग्न सजिलो छैन । त्यस्तै छ अहिले केसीको आलोचना गर्न । संसद् र प्रधानमन्त्रीभन्दा ठूला एक्ला डा. केसी होइनन् र हुन सक्दैनन् भन्ने लोकलाई बुझाउन हम्मे हम्मे पर्ने अवस्था छ । कतिपय लालबुझक्कडहरू केसीले नै सत्ताको बागडोर लिनु पर्छ पनि भन्न थालिसकेका छन् रे ! केसी एउटा पात्र मात्र भएनन् अब, उनको चरित्र अब इतिहासमा अद्भूत प्रवृत्तिको रुपमा स्मरण भइनैरहने छ । सयमको भेल सँधै उर्लिरहँदैन । भेल सुकेका दिन डा.केसीका अहंकार पढ्न र सुन्न वेबसाइटको अर्काइभ ओपन गर्नु पर्ने हुन्छ । के सत्य हो भने अहिले डा. केसीलाई देवत्वकरण गरिएको छ । उनका असल कर्म र गुणको वखान त सुहाउँछ नै, अवगुण र हानिकारक जिद्धिहरूलाई आँखा चिम्लिने अवस्था सँधैभरि पक्कै रहँदैन । एक दिन संसद्को सर्वोच्चता, विधिको पालना र प्रधानमन्त्रीको कार्यकारी अधिकार जस्ता लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई स्वयम् डा. केसीले पनि मान्नै पर्ने दिन आउने छ ।

डा. केसीले सरकारतिर औँलो ठड्याउँदै भन्न थालेका छन् रे–‘झापाको बीएन्डसी हस्पिटललाई मेडिकल कजेलको सञ्चालन अनुमति नदिनु !’ यो देशको विकासको सोच बनाउने ठेक्का डा. केसीको मात्र होइन । डा. केसी गलतै गलत वा राम्रै राम्रा मात्र छन् भन्ने होइन । केसीले उठाएका थुप्रै माग राम्रा र अहिलेको चिकित्सा क्षेत्रमा रहेका बेथिति सुधारका लागि आएका पनि छन् । ती राम्रा मागको पक्षमा सबैको समर्थन छ । तर लोकतान्त्रिक मूल्य, मान्यता र प्रणालीविरुद्ध डा. केसीले देखाएको हठलाई समर्थन गर्न सकिन्न । उनले माग पूरा गराउन अपनाएको जिद्धिपनलाई समर्थन जनाउन सकिन्न । राजधानी वाहिर मेडिकल कलेजको मापदण्ड पूरा गरेका वीएन्डसी जस्ता हस्पिटलले सम्बन्धन पाउनु हुँदैन भनेर यदि भनिरहन्छन् भने डा. केसीको विरोधमा उत्रिनु पर्ने अवस्था आउन सक्छ ।

अन्त्यमा, मेची अञ्चलमा एउटा मेडिकल बन्ने कुरा समस्त अञ्चलवासीको अधिकार, सुविधा र विकासको सवाल हो । यसमा डा. केसीको हस्तक्षेप अस्वीकार्य छ । हाम्रो अञ्चलवासीका छोराछोरीहरूले डा. केसी बस्दै आएको राजधानी खाल्डोमा मात्र गएर मेडिकल पढ्नु पर्छ भन्ने छैन । बङ्गलादेश, फिलिपिन्स नै धाएर करोड बढी खर्च गरेर एमबीबीएस र एमडी पढ्नु पर्ने बाध्यताको अब अन्त्य हुनु पर्छ । वीएन्डसीमा कसले लगानी गर्यो, त्यो लगानी कानून सम्मत छ कि छैन भन्ने कुनै प्रश्न भए त्यो सरकारले जवाफ देओस् । वीएन्डसी हस्पिटलले सरकारी मापदण्ड पूरा गरेको छैन भने डा. केसी प्रमाणसहित आउन् । नत्र कहिले के माग कहिले के माग तेस्याउँदै सरकारलाई धम्काए जस्तो सजिलो हुने छैन एउटा अञ्चलका १५ लाख अञ्चलवासीविरुद् बोल्न र उभिन डा. केसीलाई । चेतना भया !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: