बद्लिदो समाजसँगैको कहर

  प्रकाशित मिति
१२ श्रावण २०७४, बिहीबार ११:२६


gobinda-neupane

साविक बाहुनडाँगी–२ निवासी खगराज दाहालको असारको दोस्रो सातामा अस्ट्रेलियामा निधन भयो । उनका छोरा त्यहीँ भएका कारण बाबुको वृद्धावस्थाको ख्याल र हेरचाहका लागि आफू रहेको देशमा लानु स्वाभाविकै थियो । हेरचाहका क्रममा उनको निधन भयो । बाहुनडाँगीमा उच्च घरानाको रुपमा चिनिएका उनको अन्तिम संस्कार कसरी भयो होला अस्टे«लियामा ? यदि यहाँ भएका भए उनको उच्च सम्मानका साथ दाह संस्कार हुने थियो भन्नेहरु प्रशस्त भेटिए ।

बाहुनडाँगाी–१ निवासी कुमार विश्वकर्माको मस्तिष्क रक्तश्रावका कारण मृत्यु भयो, असारको अन्तिममा । तर, उनको दाहसंस्कार तीन दिनपछि मात्र भयो । कारण उनका दुवै छोरा भारतको बेङ्गलोरमा थिए । महिनौँ कमाएको तलव खर्चेर प्लेनको टिकट लिए पनि खवर पाएपछि बाबुको अन्तिम संस्कारमा आउनका लागि तीन दिन लाग्यो । यता घरमा प्लाइउडको बक्सा बनाएर वरफको सहायताले शवको सुरक्षा गर्नका लागि थप व्ययभार समेत पर्यो विश्वकर्माका घरमा ।

यी प्रतिनिधि घटनाहरु मात्र हुन्, बद्लिदो नेपाली समाजको । भूमण्डलीकरण या विश्वव्यापीकरणका कारण मानिसको जीवन समेत अन्तर्राष्ट्रियकरण भएको छ । भनिन्छ विश्वव्यापीकरणका सकारात्मक प्रभावहरु पनि हुने गर्दछन् र यी सकारात्मक प्रभावका कारण कुनै पनि देश विकासको गति पक्रिन सक्दछ । पूँजी प्रवाहका कारण अवसरको सिर्जना हुन्छ, व्यापारयोग्य वस्तुको विस्तार हुन्छ अर्थात एक देशले उत्पादन गरेको वस्तु अर्को देशमा विक्री गरी आम्दानी प्राप्त गर्न सकिन्छ । विकासोन्मुख मुलुकले नयाँ प्रविधि प्राप्त गरी विकासको अवसर प्राप्त गर्न सक्छ । तर, विश्वव्यापीकरणका कारण नेपालको श्रमशक्ति बाहेक अन्य उत्पादित वस्तु विश्वबजारमा विस्तार हुन सकेको छैन । एकताका नाम कमाएको गलैँचा र गार्मेन्टका उत्पादनहरु समेत इतिहास बनिसकेका छन् । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु भान्सामा सहज प्रवेश पाइसके । नेपाली मौलिक उत्पादनहरु आफ्नै भूमिमा प्रतिस्पर्धामा टिक्न नसक्ने भए । मलामी जाँदा समेत फ्रुटी पेयको रुपमा अनिवार्य भयो । मोही, सातु जस्ता वस्तुहरु विस्थापित भए ।

स्वाभाविक रुपमा मानव इच्छा र आकांक्षाहरु दिनदिनै बढ्ने हुन्छ, विशेषगरी युवापुस्ता जो सूचना र सञ्चारमा पहुँच राख्दछ, पुख्र्यौली सम्पत्तिमा मात्र भर परेर अबका दिनमा आफ्ना दैनन्दिन आवश्यकता पूरा हुँदैन भन्ने विश्वस्त छ । दैनिक १५ सयबाट बढेर १७ सयको सङ्ख्यामा नेपाली युवाहरु अन्तर्राष्ट्रिय श्रमबजारमा प्रवेश गर्ने गरेका सरकारी तथ्याङ्क छ । वैदेशिक रोजगार पनि अल्पकालीन बसाइसराइ नै हो । एमडोना वर्जले माइग्रेसनलाई मानिसले आफ्नो आवश्यकता पूरा गर्ने सामान्य प्रक्रिया हो भनेका छन् । विद्वानहरुले यसको कारणमा आकर्षण र धकेल्ने तत्वहरुले काम गरेको हुन्छ भनेका छन् । अर्थात कुनैपनि स्थानमा भएको अवसर र सुविधाका कारण मानिसलाई आकर्षण गरेको हुन्छ भने कुनै स्थानमा भएको असुविधा, असुरक्षा, दैविप्रकोप आदिका कारण त्यस स्थानबाट मानिस अन्य स्थानमा धकेलिने गर्दछन् ।
भूमण्डलीकरणका कारण विश्वका देशहरु मात्र हैन, एउटै देशका विभिन्न स्थानहरु पनि केन्द्र र पृष्ठ क्षेत्रमा विभाजित भए, सेवा र सुविधाका कारण सहर केन्द्रमा रहन गयो । सेवा सुविधाहरु केन्द्रमा रहेका कारण ग्रामीण क्षेत्रबाट सहरमा मानिसहरु केन्द्रित हुन थाले । ग्रामीण क्षेत्रमा रहेका खेतहरु बाँझिन थाले, परिणाम स्वरुप दैनन्दिन आवश्यक पर्ने खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्थामा आइ पुग्यो । कृषि प्रधान मुलुक नेपालमा भन्सारको रेकर्ड अनुसार गत आव २०७३÷७४ को ११ महिनामा २२ अर्व रुपैयाँको चामल, १० अर्बको सागसबजी र ४६ अर्बको फलफूल भारतवाट आयात भएको छ । श्रम बजारबाट प्राप्त आय, फेसन, खानपिन, सूचना तथा सञ्चार र यातायातमा खर्चिनुपरेका कारण पुनः प्राप्त आय केन्द्रमा नै पुग्यो । परनिर्भरताका कारण नेपाल पृष्ठमा पर्यो भने भारत केन्द्रमा पर्ने नै भयो ।

हुन त विज्ञहरुले भूमण्डलीकरणका असरहरुबाट बच्नका लागि विकासको स्थानीयकरणको विकल्प सुझाएका छन् । विकासलाई स्थानीय परिस्थिति अनुकूल बनाउँदै लैजाने विकासको स्थानीयकरण प्रक्रिया अन्तर्गत स्थानीय स्रोत र साधनलाई प्रविधिको परिचालन गरी सामुदायिक आत्मनिर्भरता बढाउने यो प्रक्रिया हाम्रा जस्ता साधन र स्रोतको प्रचुर भएको देशमा समेत काम लाग्न सकेको देखिएन । खेतियोग्य जमिन बाँझै राखेर चामल र तरकारी आयात गरियो । युवाहरु कामको खोजीमा देश बाहिर जाने तर देशमा आवश्यक श्रमशक्ति स्थानीय नभई भारतसँग आश्रित हुन पुग्यो । निर्माण क्षेत्रका लागि भारतीय दक्ष श्रमिकहरुले देश बाहिर लैजाने रकम निकै ठुलो रहेको तथ्याङ्क समेत बेलामौकामा बाहिर आउने गर्दछ ।
मौजूदा अवस्था बदल्न पनि नसक्ने र त्यसैमा अनुकूलन हुन नसक्ने हो भने अब शासनको बाटो बाहेक केही हुँदैन । तत्काल युवायुवतीलाई स्वदेशमै रोजगारी दिन सकिएन भने बाहिर जाँदा समेत नठगी पठाउन सक्नु पर्दछ । घरको ढोकादेखि कार्यस्थलसम्म दलालको कब्जामा परेर कसरी जीवनयापन होला । अब सातै प्रदेशबाट भिसा दिने भन्ने सुनिएको छ, यो दलाललाई सहज हुने हो वा बाहिर जानेलाई ? यदि सहजरुपमा काममा बाहिर जाने वातावरण बन्न सक्यो भने पनि हालका लागि अनुकूलन नै मान्नु पर्दछ ।

स्थानीय स्रोत र साधनको समुचित उपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्य कठिन नै भयो । युवा बाहिर नै जाउन् तर आफ्ना प्रिय बाबुआमा प्राण त्याग्नका लागि विदेशमा नै लाने अवस्था अन्त्य गरौँ । बरु सशुल्क स्याहार केन्द्रको बन्दोवस्त गरौँ । सेवाशुल्क लिने गरौँ राजश्व बढ्नेछ । बाबुआमा मर्ने बेलामा अब सन्तान घरमा आउनका लागि लामो समय लाग्न सक्छ । त्यसकारण त्यस्तो विद्युतीय वाकसको व्यवस्था मिलाइ दिने गरौँ । बरु भाडामा भए पनि जसले प्लाइउडको वाकस र वरफ खोज्ने झन्झटबाट मुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: