बधाईसँगै विपक्षीको प्रशंसा

  प्रकाशित मिति
३ चैत्र २०७२, बुधबार ०४:५५


biswa pks 4

मेचीनगर । नेपाली काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्मा १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको खबरले झापाका आमकार्यकर्ता हर्षित छन् । उनको विजय समग्र युवा नेतृत्वको विजयका रुपमा लिएका छन्, उनीहरूले ।

विद्यार्थी जीवनदेखि राजनीति गरेका शर्मा पार्टीभित्र मात्र होइन, आमनेपाली जनताले रुचाएका नेतासमेत हुन् । पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कुरा बाहिर आएदेखि नै सबैमा उनीप्रति चासो र चिन्ताको विषय बन्यो । शर्माले केन्द्रीय सदस्यमा जितेपछि फेसबुकमा उनलाई बधाईको ओइरो लाग्यो । फेसबुकमा उनलाई दिएको बधाईले अन्य नेताहरूलाई समेत ओझेल पार्यो ।

स्पष्ट र प्रखर वक्ता, कुशल नेतृत्व तथा राजनीतिक चिन्तन भएका शर्मा सधैँ सकारात्मक सोचका साथ काम गर्ने गर्छन् । उनले दिएको अभिव्यक्तिले धेरैलाई प्रभाव पार्ने गरेको छ । पार्टीभित्र होस् या विपक्षी पार्टीमा कसैलाई गाली नगर्ने शर्माको स्वभावका कारण विपक्षी नेता तथा कार्यकर्ताहरूको बीचमा पनि उनी निकै लोकप्रिय छन् ।

उनको जीतसँगै विभिन्न दलका नेताहरूले उनलाई बधाई दिएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद् रविन कोइरालाले राजनीतिक आन्दोलनको सहयात्री साथी विश्वप्रकाशको जीतमा कार्यकाल सफलताको कामनासहित बधाई दिँदै संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने प्रतिव्रिmया दिए ।

‘हामी विद्यार्थी जीवनदेखि राजनीतिक आन्दोलनसम्म सँगसँगै छौँ’, दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट शर्मालाई नै जितेर सांसद् बनेका कोइरालाले भने, ‘उहाँको हार्दिकता, साथीहरूबीचको सहकार्य गर्ने शैलीले गर्दा उहाँलाई अब्बल र सक्षम नेताका रुपमा लिएको छु । यसैले पनि अबको उहाँको केन्द्रीय स्तरको राजनीतिले गति लिने अपेक्षा समेत गरेको छु । हिजो संविधान निर्माण गर्दै गर्दा ठुलो दलको रुपमा रहेको काङ्ग्रेससँगको सहकार्यमा हामीले गरेका थियौँ । अब कार्यान्वयनको पक्षमा पार्टीका तर्फबाट उहाँको महत्वपूर्ण भूमिका रहन्छ भन्ने हामीले अपेक्षा राखेका छौँ । देशले आज एउटा सक्षम नेता पाएको छ, जसले नगर, जिल्ला हुँदै समग्र देशको विकासका लागि समेत उहाँको योगदान रहने छ भन्ने विश्वास लिएको छु ।’

सङ्घीय समाजवादी फोरम नेपाल झापाका उपाध्यक्ष केवलराम राईले विश्वप्रकाशको जीत काङ्ग्रेसको मात्र जीत नभएर समग्र लोकतान्त्रिक पक्षधरहरूको जीत भएको बताउँदै भने, ‘देशले एउटा कुशल नेतृत्व गर्ने इमान्दारी नेतृत्व पाएको छ, जुन आम युवाहरूको जीत हो ।’
राप्रपा नेपालका क्षेत्र नम्बर १ का अध्यक्ष कल्याण खड्काले देशलाई काम गर्ने युवाहरूको खाँचो भइरहेको अवस्थामा देशका लागि शर्मा जस्ता युवाहरूको आवश्यक रहेको बताए । उनले देशलाई परेको कठिन परिस्थितिलाई सामना गर्न सक्ने एउटा सम्भावना बोकेको नेता पाएको बताउँदै देश र जनताले चाहे राजतन्त्रसहितको प्रजातन्त्र फर्काउन सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

नेकपा एमालेका जिल्ला सदस्य लालबहादुर थामीले देशको भविष्य बोकेको सक्षम र प्रष्ट भिजन भएको नेताका रुपमा शर्मालाई लिए । उनले शर्मालाई केन्द्रीय सदस्य मात्र होइन, भविष्यमा देश चलाउन सक्ने सक्षम नेता रहेका बताउँदै आमजनताको चाहनालाई विश्वासमा लिएर देश निर्माणका लागि अघि बढ्न सुझाव दिए ।

एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकले शर्माले केन्द्रीय सदस्यमा विजयी हासिल गरेको खबरले खुसी भएको बताए । सबै राजनीतिक दलले युवा नेतृत्वको आवाज उठाइरहेको अवस्थामा काङ्ग्रेसबाट शर्माको जीत भनेको युवा नेतृत्व हस्तान्तरण भएको प्रतिव्रिmया दिँदै पाठकले झापा सधैँ सबै राजनीतिक दलहरूको सहमति, सहकार्य र एकताका साथ अघि बढिरहेकाले यसलाई थप उचाईमा पुर्याउनका लागि शर्माको महत्वपूर्ण योगदान रहने बताए ।

एकीकृत माओवादी मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी (संजोग) ले शर्माको जीत भनेको आमयुवाको जीत भएको प्रतिव्रिmया दिए । उनले भने, ‘राष्ट्रले एउटा कुशल नेतृत्व गर्ने नेता पाएको छ । यसैले उहाँको जीतसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ जो घोषणा भएको छ, त्यसको कार्यान्वयनको पक्षमा दृढताका साथ उभिएर अघि बढ्नका निम्ति महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले हिजो संविधान निर्माणका व्रmममा भएको सहमतिलाई कतै नडगमगाई कार्यान्वयन र समग्र देशको विकास गर्नमा दृढताका साथ लाग्न आग्रह गरे ।

नयाँ शक्ति नेपाल झापाका संयोजक कुमार क्षेत्रीले अथक परिश्रम र लगनशीलताले शर्मा यो ठाउँमा पुगेको बताउँदै काङ्ग्रेसका आमकार्यकर्ताले उनले पार्टीमा गरेको राजनीतिक लगानीको सम्मान भएको बताए । साथै उनले शर्मा एउटा ठूलो सत्ताधारी पार्टीको केन्द्रीय सदस्यसम्म पुग्न उनीबाट देशले धेरै अपेक्षा गरेको बताए । देशले युवा नेतृत्व मागिरहेको अवस्थामा काङ्ग्रेसमा पनि विश्वप्रकाशहरू उदाउनु भनेको पुस्ता हस्तान्तरणको रुपमा लिन सकिने उनले बताए । क्षेत्रीले भने, ‘नयाँ पुस्ताको बीचमा पुरानो पुस्ताको सोच र शैलीमा यो नयाँ पुस्ताले अन्तरविरोध सिर्जना गर्छ । उहाँ अब ठूलो सम्भावना र चुनौतीको दोसाँधमा पुग्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: