बन्दाबन्दीको उल्लङ्घन ः गौरीगञ्ज बजारमा सडकभरि सर्वसाधारण

  प्रकाशित मिति
२५ बैशाख २०७७, बिहीबार ०७:४२


भद्रपुर, २५ वैशाख । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै झापाको गौरीगञ्ज गाउँपालिकाको बजार क्षेत्रमा सर्वसाधारण सडकमा निस्कने र स्थानीय व्यापारीहरुले मनलाग्दी समयसम्म पसल खोल्ने गरेका छन् ।

भारतीय सीमा क्षेत्र नजिकै रहेको गौरीगञ्ज बजारको यस्तो अवस्थाले कोरोना सङ्क्रमण फैलिने जोखिम बढेको छ । झापा जिल्ला बजार अनुगमन समिति बुधबार दिउँसो सो बजार पुग्दा रमितेहरु सडकभरि थिए ।

अनुगमन समितिको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले सडकभरि सर्वसाधारणको भीड देखेपछि स्थानीय प्रहरी र जनप्रतिनिधिहरुलाई भीड नियन्त्रण गर्न आग्रह गरे ।

उनले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै सरकारले गरेको बन्दाबन्दीको पूर्णरुपमा पालना गराउन स्थानीय तहले सक्रियता बढाउनुपर्ने आवश्यकता औल्याए ।

दक्षिणी झापामा रहेको गौरीगञ्ज बजारमा उपभोग्य वस्तुमा कालोबजारी भइरहेको स्थानीयबासीले गुनासो गरेपछि अनुगमन समिति बुधवार विहानै गौरीगञ्ज पुगेको थियो । टोलीमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, इलाका प्रशासन कार्यालयका प्रमुख राजु दाहालगायत नापतौल कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थिति थियो ।

अनुगमन समिति आउँदैछ भन्ने थाहा पाएपछि आफ्ना पसल बन्द गरेर व्यापारी लुकेको सर्वसाधारणहरु बताउँछन् । स्थानीय तहले तोकेको समयको अवज्ञा गर्दै दिनभर खुल्ने पसलहरु बुधवार अनुगमन टोली पुग्नुभन्दा केही अगाडि मात्र बन्द भएको गौरीगञ्ज उद्योग बाणिज्य संघका सचिव श्रवण गिरीले बताए ।

“भोकले भन्दा पनि रोगले मर्ने डर ठूलो हुन थाल्यो”, उनले भने, “यहाँका मानिसलाई लकडाउनले छोएन, भनेको समेत नमानी निस्फिक्री हिंडडुल गरिरहन्छन् । यिनीहरुकै कारण कोरोनाको संक्रमण बढ्ने भयो ।” उनले स्थानीय जनप्रतिनिधि र प्रशासनले फितलो भइदिँदा बजार र सडकमा भीडभीड बढेको दावी गरे ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले भीडभीड नियन्त्रण गर्न कारवाही गर्नुपर्ने परिस्थिति सिर्जना हुन थालेको बताउनुभयो । उहाँले स्थानीयबासीमा सचेतना नहुँदा सडकतिर हुल बाँधेर रमिता हेर्न निस्कने गरेको जनाउँदै पटकपटक सम्झाउने काम गरिएको बताउनुभयो ।

स्थानीय पत्रकार आत्माराम राजवंशीले गौरीगञ्जमा भीडभाड बढी नै हुने गरेको उल्लेख गर्दै प्रशासनले भीड नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आइसकेको बताए ।

गाउँपालिकाका अध्यक्ष रामबाबु श्रेष्ठले दैनिक उपभोग्य सामग्री खरिद गर्न समय निर्धारण गरिएको र भौतिक दुरी कायम गर्नका लागि पसल अगाडि गोलो घेरा बनाइएको बताए ।

अम्बिका भण्डारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: