बन्दाबन्दीको चपेटामा विद्यालय

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार २२:४३


विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमणको महामारी अझ केही समय रहने बताएको छ । यससँगै कतिपय मुलुकले संक्रमणले भन्दापनि बन्दाबन्दी (लकडाउन) का कारण मानिसहरु भोकले मर्ने, अर्थतन्त्र धरापमा पर्ने भन्दै लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि सञ्चालन गर्न थालिएको छ ।

नेपालमा चैत ११ गतेबाट सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म लम्याइएको छ । जनजीवन कष्टकर बनेकाले लकडाउन खुकुलो पारेर सुरक्षित हुँदै दैनिक कार्यमा फर्किन पाउनुपर्ने माग पनि भइरहेको छ ।

संक्रमणपश्चात निको भएर घर फर्किएका मानिसको संख्या हेर्दा यो स्वाभाविक पनि देखिन्छ । विश्वभरमा कोरोना संक्रमणका कारण जति मान्छेको मृत्यु भयो त्यसभन्दा धेरै अन्य रोगका कारण मरेको तथ्याङ्क पनि आइरहेको छ । अतः लकडाउन खोल्दै सुरक्षित साथ अगाडि बढ्नुको विकल्प देखिँदैन ।

अहिलेसम्मको विवरण हेर्दा नेपालभित्रै रहेका नेपालीभन्दा भारतबाट आएर क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण बढी देखिएको छ । यसैले भारतबाट वा अन्य देशबाट आउन चाहने नेपालीलाई सरकारको प्रत्यक्ष निगरानीमा नेपाल ल्याएर क्वारेन्टिनमा राखी परीक्षण पश्चातमात्र घर वा उपचार पठाउनु पर्ने देखिन्छ ।

अन्य क्षेत्रमा लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात, होटल र विद्यालय अझै केही समय बन्द रहने निश्चितै छ । अतः लकडाउन खुलेपछि पनि विद्यालयलाई कसरी सुरक्षित साथ सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा बहस र छलफल हुनु जरुरी छ ।

विद्यालय अत्यन्तै संवेदनशील क्षेत्र हो । भिडभाड हुने भएकाले विद्यालय सञ्चालनमा अत्यन्तै संवेदनशील हुनु जरुरी हुन्छ । अर्कातिर चाँडोभन्दा चाँडो सुरक्षित साथ विद्यालय सञ्चालन गर्नुको पाि विकल्प छैन । जतिसक्दो चाँडो विद्यालय सञ्चालन गर्न सकिएन भने विद्यार्थीको मनोबल गिर्ने र पढ्ने बानी छुट्ने हुनसक्छ जुन भविष्यका लागि निकै घातक हुनेछ ।

नेपालजस्तो देशमा अहिले दूरशिक्षा प्रणाली पनि खासै उपयोगी देखिन्न । सहरका धेरै विद्यार्थी गाउँ गएका छन् । त्यहाँ इन्टरनेटको पहुँच छैन । ग्रामीण क्षेत्रका विद्यालयमा झन् त्यो असंभव प्रायः नै छ । नेट चलाउन वा फोन गर्नसमेत रुखको टुप्पोमा पुग्नुपर्ने दूरसञ्चार सेवा भएको ठाउँमा दूरशिक्षा ‘आकाशको फल’मात्र हुन्छ ।
अगाडि बसेर सिकाउन खोज्दा त पढ्न मन नगर्ने विद्यार्थीले मोबाइल र ल्यापपट पाएपछि पढ्लान् नै भन्ने पत्याउन पनि सकिन्न । त्यसैगरी हिजोसम्म स्मार्ट फोन वा ल्यापटप नभएको घरमा यो आर्थिकमन्दी र बन्दाबन्दीको बेलामा कहाँबाट मोबाइल र ल्यापटप खरिद गर्नु ?

छोराछोरी धेरै भएको घरको हालत कस्तो होला ? के उनीहरुले दूरशिक्षाको तयारी गर्न सक्छन् त ? सक्दैनन् । यसैले दूर शिक्षाका लागि केही समय धैर्य गर्नु र सुरक्षित साथ विद्यार्थीलाई विद्यालय बोलाएर अध्ययन अध्यापन गराउनुको विकल्प देखिँदैन ।

विद्यालय सञ्चालनका लागि पालो (सिफ्ट) गरेर भिडभाड नहुने गरी विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्छ । बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म ३ सिफ्ट गरी विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउनु उत्तम विकल्प हुन सक्छ ।

हिजोसम्म २५ देखि ३० जनासम्मको पढाइ भइरहेको कोठामा बढीमा १० जना राखेर पढाउँदा भौतिक दूरी पनि कायम हुन्छ र विद्यार्थीलाई पढाउन पनि सजिलो हुन्छ ।
यसरी विद्यालय चलाउँदा विद्यार्थीलाई गेटबाट सिधै कक्षा कोठामा पठाउनुपर्छ । बाहिर निस्किएर खेल्न, कुद्न दिनु हुँदैन । विद्यालयको एउटा बेन्चमा एकजना मात्र विद्यार्थी राख्नुपर्छ । दैनिक एक पिरियडमा ४५ मिनेटको दरले रोटेसन गरी ४ पिरियडमात्र पढाउनु पर्छ । एउटा समूह जान र अर्को समूह आउनको लागि एक घण्टाको समय व्यवस्थापन गर्नुपर्छ ।

अर्थात् बिहान ६ बजे कक्षा २ देखि ५ सम्मलाई बोलाउनु उपर्युक्त हुन्छ । उनीहरुलाई ९ बजेदेखी १० बजे भित्रमा बिदा गरिसक्ने र कक्षा नर्सरी देखी कक्षा एकसम्मलाई ९ बजेदेखि १० बजेभित्रमा कक्षामा बोलाएर पढाउन सुरु गर्नुपर्छ । यस्तै १ बजेदेखि २ बजेभित्रमा उनीहरुलाई बिदा गरेर कक्षा ६ देखि १० सम्मलाई बोलाएर २ बजेदेखि ५ बजेसम्म पढाउनुपर्छ ।

विद्यार्थीले विद्यालयमा आउँदा स्तरीय मास्क र पंजा प्रयोग गर्नु अनिवार्य हुनेछ । विद्यार्थीलाई एक अर्कालाई छोएर खेलिने खेलहरु खेल्न दिनु् हँदनैन । तर कथा, कविता, अन्ताक्षरी जस्ता खेलहरुमार्फत विद्यार्थीलाई मनोरञ्जन दिनु जरुरी हुनेछ । विद्यार्थी बिरामी भए अभिभावकले विद्यालय पठाउनु हुँदैन ।

कक्षामा पढाउँदा शिक्षकले विद्यार्थीलाई छुनपाउने छैनन् र अर्को शिक्षकलाई जिम्मा नलगाई कक्षा छाडेर शिक्षकले जानु हुँदैन । विद्यालयले सिफ्ट अनुसारकै रुटिन तयार पार्नु पर्नेछ । शिक्षकलाई दोहोरिने गरी विद्यालय नबोलाउनु उपर्युक्त हुनेछ । भरिसक्के स्कुल बसको प्रयोग गर्नु हुँदैन । प्रयोग गर्नै पर्ने भए बसका चालक वा सहचालकले सकेसम्म विद्याथीलाई छुनु हुँदैन । उनीहरुले माक्स, पन्जा अनिवार्य प्रयोग गरेको हुनुपर्नेछ । मास्क, पन्जा प्रयोग नगरेका विद्यार्थीलाई बसमा चढाउनु हुँदैन । विद्यार्थी बोकी सकेपछि प्रत्येक पटक बसलाई घुनु वा सेनीटाइजर प्रयोग गर्नु उचित हुनेछ ।

विद्यालय लागिसके पछि प्रत्येक दिन कोठाहरु, शौचालयहरु कम्प्युटर ल्याब, पुस्तकालय राम्ररी सफा गरेर सञ्चालन गर्न सकेको खण्डमा विद्यालय सञ्चालन सहज र व्यवस्थित हुनसक्छ ।

निजी विद्यालयसम्बद्ध संघ–संगठनले बजेटमा संस्थागत विद्यालयलाई कुनै सहयोग उपलब्ध नगराएको भन्दै ज्येष्ठ २२ गतेदेखि भर्नालगायतका प्रशासनिक कार्य सुरु गर्ने बताएका छन् । तर, यो अहिलेका लागि असान्दर्भिक नै हुनेछ । एक त अभिभावक स्वयम आर्थिकरुपले कमजोर भएका छन् ।

दोस्रो सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिरहँदा निजी विद्यालय सञ्चालनको तयारी गर्नु पनि हुँदैन । एउटै देशका बालबालिकालाई विभेदको व्यवहार गर्नु हुँदैन । सरकारी र संस्थागत विद्यालय सँगसँगै खोल्नु आवश्यक छ ।

सरकारले पनि निजी विद्यालयलाई दिनुपर्ने सहुलियत दिनुपर्छ । भर्ना खोले पनि अभिभावकको उपस्थिति भएन भने निजी विद्यालयको भर्ना कार्यक्रम असफल हुन्छ । यो संस्थागत विद्यालयका लागि चुनौती पनि हो र यसैकारण अभिभावकको विश्वास घट्नेछ ।

अतः लकडाउन नै क्रमशः खोल्दै संक्रमणबाट जोगिने र तत्पश्चात सावधानीपूर्वक विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो ।

लेखक ः  बिष्णुप्रसाद रिमाल

मेचीनगर, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: