मेचीनगर । बन्दाबन्दीमा गर्मी बढेसँगै अनारस, खरबुजा लगायतका चिसो खाद्य वस्तुको माग बढ्न थालेको छ ।
बन्दाबन्दीमा आफुले उत्पादन गरेको कृषि सामग्रीलाई बजार पुर्याउन सहज हुँदै गएको किसानहरुले बताएसँगै अनारस, खरबुजा लगायतका चिसो खाद्य वस्तुको माग बढ्न थालेको हो ।
भद्रपुरका व्यवसायीलाई बन्दाबन्दीमा आफुले उत्पादन गरेको कृषि वस्तुको ढुवानीमा सहज हुन थालेको बताएका छन् ।
भद्रपुर–९ स्थित घोडामाराको कोइरी कृषि तथा पशु पंक्षी फार्मका सञ्चालक मनोज सिंहले आफुले उत्पादन गरिएको अनारस (भुइँकटहर) बनदबन्दीमा पनि काठमाडौँ पठाइएको बताए ।
‘शुरुको लकडाउनमा असहज भएको थियो’, सञ्चालक सिंहले भने–‘तर अहिले अलिक सहज हुन थालेको छ ।’
घोडामाराको पाँच विगाह जग्गाको क्षेत्रफलमा अनारस, मकै, टमाटर, चिया लगायतका तरकारी उत्पादन गरिएको छ ।
गत वर्षको माघ महिनामा ८४ हजार अनारसका बिरुवा रोपिएको सञ्चालक विनोद सिंहले बताए । १४ महिनापछि अनारस पाक्न थालेको उनले बताए ।
भद्रपुरबाट २ किलोमिटर उत्तर तथा धुलाबारीबाट ज्यामिरगढीको बाटोहुँदै ५ किलोमिटर दक्षिणको घोडामारा बस्तीमा जो कोहि पुग्दा चिया बगानको हरियालीसँगै लटरम्म फलेको अनारस, मकैका बोटहरु देख्न सकिन्छ ।
१४ लाखको लगानीमा दुई वर्षअघि शुरु गरिएको कृषि फार्ममा लकडाउन भएपनि गर्मी बढेसँगै अनारसको माग बढ्न थालेको सिंंहको भनाई छ ।
काठमाडौँ, पोखरा, धनगढी तथा झापाका व्यापारीहरुले अनारसको माग गरेको सञ्चालकले बताएका छन् ।
लकडाउनका बेला पनि काठमाडौँ लगायतका जिल्लामा अनारस पठाउने गरेको सिंहले बताए ।
‘एउटा अनारसको बोटमा एउटा मात्र अनारस फल्छ’, सञ्चालक सिंहले भने–‘एउटा बोटमा ३५ रुपैयाँ खर्च आउँछ’ सञ्चालक सिंहले भने–‘काठमाडौँका व्यापारीलाई ७०–८० रुपैयाँमा उहिँ पुर्याइदिन्छौँ । टाडाका व्यापारीहरुले अनारस माग गर्ने वित्तिकै गाडीमा लोड गरेर पठाउँने गरिएको छ ।’
मकै पनि व्यापारीहरुलाई प्रति घोगा ६ रुपैयाँले बिक्री गर्ने गरिएको बताइएको छ ।
भद्रपुर स्थित मेची खोलाको बगरमा उत्पादन भएका खरबुजाको माग पनि बढ्न थालेको व्यापारीहरुले बताएका छन् । झापामा विभिन्न ठाउँमा साना पिकअप गाडीले खरबुजा अहिले घरघरै पुर्याउन थालेको छ ।
वडाको सिफारिस लिएर अन्य जिल्लामा पनि पठाउँन थालिएको भद्रपुरका स्थानीय व्यापारी रामलसुन साहले बताए ।
भद्रपुर नगरपालिका–९ नम्बर वडाबाट सिफारिस लिएर सुरक्षाकर्मीलाई जानकारी गराई यहाँ उत्पादन भएका कृषि वस्तु ढुवानी गरेर व्यापारीहरुकोमा पुर्याउने गरिएको सिंहले जानकारी दिए ।
‘सरकारले गत चैत ११ गतेदेखि गरिएको पहिलो लकडाउनमा अनारस पुरै पाकेर कुहिन लागेको थियो’, सञ्चालक सिंहले भने–‘स्थानीय पत्रपत्रिकामा त्यो खवर छापिएपछि नागरिकहरु खेतमानै आएर खरिद गरे । त्यसले केहि राहत भयो, नभए लगानी सबै डुब्ने अवस्थामा पुगेका थिऔँ।’
।। अर्जुन कार्की ।।