बन्दाबन्दीमा वन जोगाउनु कि ज्यान जोगाउनु ?

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार ०८:२४


फाइल फोटो ।

भद्रपुर, २ बैशाख । आम नागरिक बन्दाबन्दीको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक काम बाहेक कोही पनि बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । तर, यहीबेला झापाको बन जङ्गलमा पसेर रुख काट्ने र बन्यजन्तुको चोरी शिकारी गर्ने गतिविधि बढ्दै गएको छ ।

बन्दाबन्दीका अवस्थामा सुरक्षा संयन्त्रको ध्यान कोभिड १९ को संक्रमण फैलिन नदिनेतर्फ मोडिएको बेला पेशेवर बन तस्कर र शिकारीहरुले अवसर छोप्न थालेको सामुदायिक बनका पदाधिकारहरु नै बताउँछन् ।

‘कसरी कोरोना फैलिन नदिने भनेर रोकथामका लािग हामी सबै लागिरहेका छौं, उत्तरी झापाको अर्जुनधारामा रहेको दहीझोडा सामुदायिक वनका अध्यक्ष खगेन्द्र सुब्बा भन्नुहुन्छ–‘बन तस्करहरु भने यही हो मौका भन्दै जङ्गलतिर पस्न थालेका छन् ।’ यो समस्या सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेको सरकारी बन र समुदायको संरक्षणमा रहेको सामुदायिक बन दुबैतिर बढ्दो मात्रामा छ ।

शिकारीहरुले वन क्षेत्रमा प्रवेश गरेर डढेलो लगाउने र वन्यजन्तु मार्ने गरेको हुँदा समुदायले बन्दाबन्दीको बेला समेत गस्ती बढाउनु परेको सामुदायिक वनहरुले जनाएका छन् । दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका मजदूरहरुले समेत कामविहीन भएपछि वन क्षेत्रमा वन्यजन्तुको शिकार गर्न थालेका छन् ।

झापाको बनमा बँदेल, हरिण, दुम्सी, मृग, खरायो, मयुर, लुइँचेलगायतका जीवजन्तु छन् । बन्दाबन्दीसँगै चोरी शिकारीबाट बनका जनावरहरु जोगाउन गाह्रो नसकिने अवस्था आइसकेको दहिझोडा सामुदायिक बनका अध्यक्ष सुब्बाले बताए । उनका अनुसार दहिझोडा बनमा यसै साता शिकारीहरुले दुईपटक डढेलो लगाइसकेका छन् ।

तस्कर र शिकारीहरु सक्रिय भएको पाइएपछि सीमा जोडिएका झापाका केही सामुदायिक वनहरुले वन्यजन्तुको शिकार, काठ चोरी तस्करी र आगलागीबाट जोगाउन सामूहिक गस्ती गर्न थालेको कनकाईस्थित जामुनखाडी सामुदायिक वनका अध्यक्ष खेम सिटौलाले बताए ।

उनले कनकाई नगरपालिका भित्रका जामुनखाडी, सुकेडाँगी, प्रजापति र अर्जुनधारा नगरपालिकामा रहेको दहीझोडा सामुदायिक वनले मिलेर संयुक्त गस्ती परिचालन गरिरहेको बताए ।

‘कोरोनाको संक्रमणबाट आफू जोगिने कि वन जोगाउने बडो समस्या भयो,’ लकडाउनका बेला बन जोगाउन बनका कर्मचारी र पदाधिकारीहरुलाई मुस्किल परिरहेको बताउँदै जामुनखाडी बनका अध्यक्ष सिटौला भन्छन्–‘लकडाउनका बेला अवसर छोप्नेहरुलाई कार्वाही गर्न सरकारले नयाँ कार्ययोजना अघि सार्नुपर्छ ।’

बाँसबारी सामुदायिक बन समितिका अध्यक्ष तकदिर प्रसाईले जंगलभित्र अचानक आगलागीका घटना बढेपछि अनुगमन गर्दा हरिण र बँदेलको चोरी शिकारीमा लागेकाहरु सक्रिय भएको पाइएको बताए । उनले बन्दाबन्दीका बेला बन र बन्यजन्तुको संरक्षणमा राज्यको विशेष ध्यान जानुपर्ने बताए ।

झापामा रहेका ५९ वटा सामुदायिक र ३ वटा कबुलियती बन छन् । सबै बनको साझा समस्या नै चोरी तस्करी र आगलागी रहेको डिभिजन बन कार्यालय झापाले जनाएको छ ।

बन क्षेत्रमा तस्करी र शिकारी बढेको जानकारी पाएपछि कार्यालयले एक हप्ता अघि नै बन्दाबन्दीका बेला बन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको छ ।

बन्दाबन्दी अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्यहरु वन ऐन २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको डिभिजन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनले अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरेमा कारवाही गरिने बताए ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: