भद्रपुर, २१ वैशाख । तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ ।
दुई बर्षअघि रु. ४० करोडको लगानीमा खोलिएको उद्योगमा सय बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान गरेको हुँदा बन्दाबन्दीमा समेत उद्योग सञ्चालन गर्न समस्या नभएको सञ्चालक बुद्धि घिमिरेले बताए ।
उनले कच्चा पदार्थको अभावमा माग अनुसारको उत्पादन गर्न नसकेको बताए । “काम गर्ने समय आधा घटाएका छौं”, उनले भने, “दैनिक चार हजार ५०० कार्टुन मात्र उत्पादन गर्दैछौं ।” उद्योगमा यस अघि १६ घण्टा काम हुने र उत्पादन समेत दोब्बर हुँदै आएको थियो ।
मेचीनगर–१४ मा रहेको सो उद्योगका कामदारहरु मेचीनगर १३, १४ र भद्रपुर नगरपालिका–९ का बासिन्दा रहेका छन् । जसका कारण उनीहरु बन्दाबन्दीको समयमा समेत सजिलै उद्योगमा काम गर्न आइरहेका छन् । उनीहरुलाई उद्योगमा साबुन पानीले हात धुने व्यवस्थासहित सामाजिक दुरी कायम गरेर काम लगाउँदै आएको घिमिरेले बताए ।
उद्योगमा काम गर्ने कर्मचारीहरुले स्थापना कालदेखि नै हातमा ग्लोब्स, माक्स र गाउन लगाउँदै आएको उहाँको भनाई छ । यस उद्योगले मगमग, अकबरे, रेलीमाई, प्यारीलगायतको ब्राण्डका चाउचाउ उत्पादन गरी देशभरी विक्री वितरणका लागि पठाइरहेको सञ्चालक घिमिरेको भनाई छ ।