बन्दाबन्दीसँगै मल अभावको दोहोरो समस्यामा केरा खेती

  प्रकाशित मिति
२८ भाद्र २०७७, आईतवार ११:०७


झापा, २८ भदौ । झापामा व्यावसायिक केरा खेती गर्दै आएका किसानहरु बन्दाबन्दीसँगै मल अभावको दोहारो समस्यामा परेका छन् ।

सरकारले स्थानीय सहकारी संस्थाहरुमार्फत पछिल्लो समय मलको व्यवस्था गरे पनि केरा खेती गर्दै आएका किसानले मल पाएका छैनन् ।

गोडमेल गर्ने अहिलेको सिजनमा रासायनिक मल प्रयोग गर्न नपाउँदा केराका बोट कुहिने र फल नलाग्ने समस्या देखा परिसकेको छ ।

विगत चार बर्षदेखि व्यावसायिक रुपमा कनकाई नगरपालिकाको वडा नं. ४, ५ र ६, झापा गाउँपालिकाको वडा नं. ५ र बाह्रदशी गाउँपालिकाको वडा नं. ७ मा १५० विगाह जमिनमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका दुर्गामाता कोलाखेती कृषि फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले मल अभावमा केरा खेती धरासायी भएको बताए ।

‘एकातिर बजारको समस्या अर्कोतिर मलको’, उनले भने, ‘बन्दाबन्दीका कारण लाखौं नोक्सान हुने भयो ।’ उनले केरालाई असारदेखि भदौ महिनासम्ममा गोडमेल गरेर यूरिया, डिपो र पोटासलगायतको मल लगाइसक्नुपर्ने बताए ।

वि.सं. २०७४ सालमा १२ विगाह जमिन लिजमा लिएर सुरु गरिएको केरा खेती विस्तार गरेर अहिले ३४ जना किसानको १५० विगाह जमिनमा छ । मालबोहक, चिनी चप्पा, लालकेरालगायतका जातको खेतीबाट गतबर्ष रु. एक करोड आम्दानी भएको थियो ।

यहाँ उत्पादन गरिएको केरा काठमाडौंका व्यापारीले बोटबाटै गतबर्ष प्रतिकोसा रु. ५ मा विक्री गरिएको बताउँदै उनले भने, ‘बन्दाबन्दीले काठमाडौंका व्यापारी आउन पाएनन् स्थानीय व्यापारीले प्रतिकोसा रु. ३ भन्दा बढी दिँदैनन् । नाफा त के खर्च पनि नधान्ने अवस्था भयो ।’ बेलैमा गोडमेल गरेर मल हाल्न नसक्दा गाना कुहिएर केराको बोट मर्न थालेको उनको भनाई छ ।

१५० विगाह जमिन मध्येबाट ७० विगाहको केराखेतीले मात्र फल दिइरहेको उनले बताए । बाँकी जमिनमा हुर्किरहेका विरुवा फल नदिँदै मर्न थालेका छन् । उनले हालसम्म कृषि ज्ञान केन्द्र झापाबाट खेती प्रवर्धनका लागि रु. २७ लाख अनुदान पाएको जानकारी दिए ।

प्रदेश नम्बर १ का कृषि राज्य मन्त्री रामबहादुर राना मगर, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहलगायतले केरा खेतीको अवलोकन गरी मल उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: