बन्दाबन्दी खुलेपछि सीमामा बढ्यो तस्करी

  प्रकाशित मिति
२२ श्रावण २०७७, बिहीबार १६:००


झापा, २२ साउन (रासस) : बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्धा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु. २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ ।

झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट बिगतदेखि नै तस्करी धन्धा हुने गरेको छ । कोभिड –१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू गरेपछि सीमा क्षेत्रमा अबैध धन्धा ठप्पप्रायः थियो । तर बन्दाबन्दी खुलेसँगै सीमाका गौडाहरुमा अबैध धन्धावालहरु सक्रिय हुन थालेका छन् ।

(यो फोटो झापा जिल्ला बाहिरको हो, सन्दर्भ मिल्दोजुल्दो भएर छापिएको हो ।)

साउन १२ गते राति डेढ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी गस्ती टोली मेचीनगर–४ बाहुनडाँगीको उत्तरी सीमाक्षेत्र प्रसादगौडामा पुग्दा नेपालबाट ठूलो मात्रामा सुपारी भारततर्फ तस्करी गर्ने प्रयास हुँदैथियो । प्रहरी पुग्नासाथ तस्करहरुको भागाभाग भयो । दशगजाबाट प्रहरीले रु. चार लाख ४१ हजार बराबरको सुपारी बरामद गर्यो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सीमामा अबैध धन्धा रोक्न प्रहरीको निगरानी बढाइएको बताए । जनजीवन खुलेपछि तस्करहरुले गतिविधि बढाउनसक्ने आँकलन गरेरै सीमा क्षेत्रका गौडाहरुमा गस्तीलाई चनाखो बनाइएको उनको भनाई छ ।

तस्करहरुले रातिको मौका छोपेर धन्धा चलाउने प्रयास गरिरहेका छन् । साउन १७ गते राति साढे १२ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्तीसँग दशगजा क्षेत्रमा तस्करहरुको जम्काभेट भयो । तस्करहरुले रु. तीन लाख मूल्य बराबरको लत्ताकपडा छाडेर भागेपछि ती सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको थियो ।

स्थानीयबासीका अनुसार धन्धावालहरुले भारतबाट कपडा, मोवाइल सेट, सुर्ती, रासायनिक मल, चिनी, खानेतेल, मोटर पार्टस् लगायतका सामान तस्करी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिङ्गापुरे सुपारी, मटर, मरीच लगायतका सामान भारततिर लैजाने गरेका छन् ।

मङगलवार राति प्रहरीको गस्तीले काँकडभिट्टा मूलभन्सार नाकाबाट एक किलोमिटर दक्षिण मेचीनगर–७ गैरीगाउँमा रु. चार लाख ७५ हजार मूल्य बराबरका १९ थान महँगा मोवाइल सेट बरामद गरेको थियो । भारतबाट लुकाईछिपाई नेपाल भित्राउँदै गरेको अवस्थामा प्रहरीले दशगजामा ती सामान बरामद गरेको हो ।

तीन दिन अघि प्रहरीले ज्यामिरगढी र कुमरखोदबाट दशगजा क्षेत्रबाटै रु. आठ लाख ५२ हजार ५०० मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो ।

बन्दाबन्दी खुल्नु अघिसम्म भारतसँगको सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्या परिचालन गरिएको थियो । तर प्रदेश प्रहरी कार्यालयबाट आएका र जिल्लाकै आधाजसो प्रहरीहरु अन्य कामका लागि सीमाबाट फिर्ता भएका छन् । सीमामा प्रहरीको तैनाथी खुकुलो भएको मौकामा तस्करी गतिविधि बढेको हो ।

(अम्बिका भण्डारी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: