बन्ने भो सिद्धि हाइड्रोपावर

  प्रकाशित मिति
२ मंसिर २०७४, शनिबार ०९:५२


काँकरभिट्टा । समग्र झापाको समृद्धिका लागि महत्वपूर्ण मेरुदण्ड सावित हुन सक्ने सिद्धि खोला जलविद्युत परियोजना सुरुवातको घडीमा आइपुगेको छ ।

शुक्रवार काँकरभिट्टामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरले आयोजना गरेको कार्यक्रमका बीच सिद्धि परियोजनाको काम पुस १५ गतेबाट १५ सुरु गर्ने जानकारी गराइएको थियो । झापाको समृद्धि मानिएको यो परियोजनाबाट १५ मेगावट बिजुली उत्पादन गरिने छ ।

हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रधानले परियोजनाको थालनीका लागि सम्पूर्ण कार्य पूरा भइसकेको र पुसको दोस्रो साताबाट काम सुरु हुने बताएका हुन् । उनले कार्यक्रममा सहभागीलाई प्रोजेक्टरद्वारा नदीको अवस्था, नदीको बहावको स्थिति, त्यसमा लगानीको सम्भावना, त्यसको लागत स्टिमेट, प्राविधिक चुनौती तथा वातवरणीय प्रभावका बारेमा जानकारी गराएका थिए ।

इलाम जिल्लामा पर्ने साविकको जिर्मले गाविस हाल रोङ गाउँपालिकामा निर्माण हुन लागेको हाइड्रोपावरको कुल लागत १ अरब ६० करोड रहनेछ । ‘हाम्रो सिद्धि हाम्रो सम्पत्ति’ नारा लिएको यो परियोजनाले नेपाल सरकारबाट पाएको ३२ महिनाको समय अवधिमा निर्माण गरिसक्नु पर्नेछ । तथापि परियोजनाका कार्यकारी अधिकृत प्रधानले २४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

यसभन्दा अघि पनि यस परियोजनाका लागि बुटवलको एउटा कम्पनीले सम्झौता गरे पनि १० वर्षसम्म काम हुन नसकेपछि अन्ततः झापालीहरुको एउटा उत्साहित टिमले सङ्गठित गरेर यसलाई कार्यान्वयन गर्न लागेका हुन् । नर्वेबाट इन्जिनियर हाइड्रोपावरमा डिग्री गरेर आएका अनुभवी मानिएका प्रधानले कार्यक्रममा यो परियोजना यस क्षेत्रका युवा व्यक्ति विश्वप्रकाश शर्माको परिकल्पनामा अगाडि बढाइएको बताए । साथै, उनले शर्माकै डिजाइनमा कार्यक्रम अघि बढिरहेको समेत स्पष्ट पारे ।

सो नदीबाट यसअघि नेपाल सरकारको ४८ करोडको लगानीमा सिद्धि सिँचाइ आइपुगेको छ । जुन सिङ्गो बाहुनडाँगीलाई सिँचाइ सुविधा छ । त्यसबेला यो परियोजना समेत आउने नआउने भन्ने अन्योल भइरहेको अवस्थामा सिद्धि नहरले साकार रुप लिएको छ ।

सोही नदीको सिँचाइमा पानीको बहाव छोड्नु भन्दा अगाडि मुहानबाट पानीलाई ड्यामको रुपमा परिणत गरेर टर्माइनमा खसालेर १० मेगावट बिजुली निकाल्ने तयारी भएको परियोजनाका डाइरेक्टर हेमन्त बुढाथोकीले बताए ।

डारेक्टर बुढाथोकीका अनुसार सिद्धि हाइड्रो सुरुवात गर्नका लागि नेपाल सरकारसँग जेनेरेसन लाइसेन्स प्राप्त गरिसकेको, विद्युत खरिदको प्रक्रिया (पीपीए) सम्पन्न भइसकेको र नेपाल विद्युत प्राधिकरणसँग ३२ महिनाभित्र काम सम्पन्न गरिसक्ने सम्झौता भएको बताए । साथै, उक्त परियोजनाका लागि चीनको एउटा कम्पनीले प्रारम्भिक लगानी गर्ने र थप लगानी नेपालका २ वटा बैङ्क र निजी क्षेत्रले लगानी गर्ने समेत बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै परियोजनाका परिकल्पनाकार विश्वप्रकाश शर्माले ‘घर घरको लगानी, हाम्रो सिद्धि हाम्रो सम्पत्ति’ भन्ने नाराका साथ बढाइने यो प्रोजेक्ट आफ्नो लागि ड्रिम प्रोजेक्टका रुपमा रहेको र नेपालकै समग्र जल विद्युत हाइड्रोहरु मध्येमा यसलाई मोडलका रुपमा विकास गर्ने आफुसँग कन्सेफ्ट रहेको बताए ।

शर्माका अनुसार हाइड्रोमा लगानी गर्नका लागि यस भेगका हरेक नागरिकले न्युनतम २५ हजारदेखि १ लाखसम्म लगानी गर्न सक्ने र जसले त्यो रकम पनि लगानी गर्न सक्दैनन् उनीहरुलाई रोजगारीको सिर्जना गरेर उनीहरुकै श्रमबाट चुक्ता गर्ने गरी हाइड्रोमा लगानी गर्नका लागि प्रेरित गर्ने योजना रहेको बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले यो परियोजना निर्माण भइसकेपछि सिङ्गो झापा जिल्ला लोडसेडिङ मुक्त बन्ने र यस क्षेत्रका हजारौँ युवाले रोजगारीको पाउने बताए । उनले मेचीनगरसँग सिमाना जोडिएको यस ठाउँमा निर्माण हुने यो परियोजना सम्पन्न गर्नु आम मेचीनगरबासीको महत्वपूर्ण भूमिका हुने बताए ।

काँकरभिट्टा खानेपानी सभाहलमा भएको कार्यक्रममा परियोजनाका प्रबन्धक डाइरेक्टर मदनकुमार बुढाथोकी, आयोजना प्रमुख दिवस भट्टराई तथा यस क्षेत्रका व्यवसायी, बुद्धिजीवि, राजनीतिक दलका कार्यकर्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
……….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: