बन्ला धुलाबारीमा ‘बिजनेस पार्क’ ?

  प्रकाशित मिति
१४ पुष २०७४, शुक्रबार २२:१५


 

मेचीनगर । रियल इस्टेट र हाउजिङको कारोवारमा ख्यातिप्राप्त व्यक्तिहरु संलग्न रहेको एउटा समूहले मेचीनगरको धुलावारीमा मुलुककै नमुनायोग्य ‘बिजनेस पार्क’ बनाउने उद्घोषसहित घडेरीको व्यापार सुरु गरेको छ ।
मेचीनगर–१० धुलावारीस्थित नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ५ विघा १८ कठ्ठा सरकारी जग्गा लिलाम भएर व्यक्तिको नाममा गएपछि सो स्थानमा नयाँ प्लटिङ गरी ‘बिजनेस पार्क’को अवधारणा अघि सारिएको हो ।

मेचीनगरका मेयर विमल आचार्यले शुक्रवार एक समारोहविच उक्त ‘जग्गा प्लटिङ’को विधिवत् शुभारम्भ गरे । तर घडेरी कारोवारकर्ताहरुले सो कार्यक्रमलाई ‘जग्गा प्लटिङ’को साटो ‘धुलावारी बिजनेस पार्क’को उद्घाटन भनेका छन् ।

निगम निजीकरणमा गइसकेपछि समेत सो जग्गा सरकारी स्वामित्वमै थियो । तर कृषि विकास बैङ्कले निगमसँग ऋण असुल्नका लागि सो जग्गा लिलाम गरेपछि स्वामित्व बैङ्कबाट व्यक्तिको हातमा पुग्यो । दुई वर्षअघि लिलामी प्रक्रियाबाट व्यापारीहरुले सो जग्गा किनेका थिए । प्लटिङ भने यसै वर्ष गरिएको हो ।

के हो विजनेस पार्क ?
‘धुलावारी बिजनेस पार्क’ खासमा व्यवस्थित घडेरीहरु रहेको नयाँ प्लटिङ हो । घडेरीका चलाख व्यापारीहरुले जग्गा विकाउन प्लटिङको नामाकरण ‘धुलावारी बिजनेस पार्क’ गरेका हुन् ।

पार्कको ९५ प्रतिशत जग्गा घडेरी प्लटिङ गरेर विक्री गरिने भएको छ भने ५ प्रतिशत जग्गा सार्वजनिक स्थलका लागि राखिने भएको छ ।

तर पार्कका सञ्चालकले आफुहरुले पनि लगानी गरी बहुतले मल्टिकम्प्लेक्स बनाउने र घडेरी बेच्दा समेत आवासका लागि भन्दा व्यापारिक प्रतिष्ठान सञ्चालन गर्नेहरुलाई प्राथमिकता दिइने बताएकाले प्लटिङ क्षेत्र भविष्यमा आकर्षक बिजनेस स्पट बन्ने अपेक्षा गर्न सकिन्छ ।

घडेरी प्लटिङ गर्दा नै सञ्चालकहरुले व्यापारिक प्रयोजनलाई ध्यान दिएका छन् । प्लटिङभित्र २६ फुटे फराकिला बाटा र सुविधा सम्पन्न मल्टिकम्प्लेक्सको अवधारणा ल्याइएकाले योजना अनुसार नै प्लटिङ सफल भएमा पुरानो धुलावारी मार्केटभित्र ‘आधुनिक मार्केट’को जन्म हुने निश्चित छ ।

उद्घाटनमा भीइआपीहरुको भीड
धुलावारी बिजनेस पार्कको शुक्रवार उद्घाटन अवसरमा राजनीतिक र व्यापारिक जगतका भीइआइपीहरुको ठूलै जमघट भएको थियो ।

मेचीनगरका मेयर विमल आचार्य र उपमेयर मीना उप्रेती दुई घण्टाभन्दा बढी समय कार्यक्रममा उल्लासपूर्वक सहभागी भएका थिए ।

आयोजकहरुले पत्रकारहरुको समेत उल्लेखनीय भीड जुटाएका थिए भने सबै अतिथिहरुलाई उद्घाटनपश्चात भोजको व्यवस्था गरेका थिए ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, काठमाडौँका एसपी रामेश्वर यादव र सशस्त्र प्रहरी राजस्व गस्ती टोली काँकरभिट्टाका डीएसपी दिनेश बस्नेतको उपस्थिति रहेको थियो ।

वित्तीय जगतका ठूलै हस्तीहरु कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए । जसमध्ये एक्सेल डेभलपमेन्ट बैङ्क विर्तामोडका सीइओ दिनेश पोखरेल र प्राइम कमर्सियल बैङ्कका चीफ लोनर अफिसर नेपालभूषण श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

धुलावारी विजनेस पार्कका अध्यक्ष एवम् इनर्जी भेन्चर हाइड्रोप्रोजेक्ट कम्पनीका प्रमुख सुवासराज काफ्लेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा काँकरभिट्टाका समाजसेवी गङ्गालाल गुरुङले स्वागत र युवा समाजसेवी सुन्दर बस्नेतले उद्घोषण गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र खड्का, झापा उद्योग सङघका अध्यक्ष टिकाराज ढकाल, नेपाल बङ्गलादेश व्यापार सङ्घका अध्यक्ष पन्नालाल जैन, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, मेचीनगर सभापति इन्द्र बुढाथोकी, राप्रपाका मेचीनगर सभापति सुशिल आचार्य, उज्यालो यातायात व्यवसायी सङ्घका अध्यक्ष भूपू राई लगायतको उपस्थिति उद्घाटन अवसरमा रहेको थियो ।

६५ करोड लगानी हुँदै
लिलामबाट जग्गा किनेर प्लटिङ गरी बिजनेस पार्क बनाउने परियोजनासम्ममा ६५ करोड लगानी हुने धुलावारी बिजनेस पार्कका मुख्य सञ्चालक सुवासराज काफ्ले बताउँछन् ।

बिजनेस पार्कको सबै जग्गा हाल काफ्लेकै नाममा रहेको छ । तर उनलाई सहलगानीकर्ताको रुपमा दिलीप ढुङ्गाना, चन्द्र ढकाल लगायतका व्यवसायीहरुले साथ दिइरहेका छन् । हाल लगानीकर्ताहरु एउटा कम्पनी निर्माणको अन्तिम प्रोसेसमा रहेको बुझिएको छ ।

काफलेले पत्रकारहरुसँगको छोटो भेटमा आगामी २ वर्षभित्र प्लटिङ बेचिसक्ने योजना सुनाए ।

‘स्थानीय उद्यमीहरुलाई प्राथमिकतामा राखेर जग्गा बेच्ने छौँ’, सञ्चालक काफ्लेले भने–‘यदि तोकिएको समयमा विक्री भएन भने हामी आफै व्यापारिक भवन निर्माणतिर लाग्ने छौँ ।’

काफ्लेले विगतमा काठमाडौँ प्लाजा निर्माण गरेका थिए भने हेरिटेज प्लाजाको मेनेजमेन्ट समेत उनैले हेरेका थिए ।
विजनेस पार्कमा लगानी गर्न बैङ्कहरु उत्सुक देखिएका छन् ।

प्राइम कमर्सियल बैङ्कले उद्घाटन अवसरमै बिजनेस पार्कका लागि व्यापारीहरुलाई लगानी गर्न बैङ्क तयार रहेको जानकारी गराएको थियो ।

पार्क होइन, प्लटिङको उद्घाटन
आयोजकहरुले धुलावारी बिजनेस पार्कको उद्घाटन समारोह भने पनि हालसम्म सो स्थानमा पार्क बनिएकै छैन । अहिले यस कार्यक्रमलाई प्लटिङ उद्घाटन भन्न सुहाउँछ ।

आयोजकले शुक्रवारदेखि घडेरी खुला गरिएको जानकारी गराएका छन् । एक साताभित्रमा जग्गा किन्नेलाई १० प्रतिशत छुटको समेत घोषणा गरिएको छ ।

जग्गा भने निकै महङ्गो रहेको छ ।
धुलावारी मोडमा पार्कको कार्यालय र काठमाडौँमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको काठमाडौँकी सम्पर्क व्यक्ति शान्ता पाण्डेले बताइन् ।

इच्छुक खरिदकर्ताले धुलावारी कार्यालयमै आएर दरभाउ बुझ्न सकिने उनले बताइन् ।

पाण्डेका अनुसार ११ लाखदेखि २५ लाख रुपैयाँ धुरका दरले प्लटिङको दाम राखिएको छ । १० धुरदेखि कठ्ठासम्मै जग्गा खरिद गर्न सकिने उनले बताइन् ।

बन्ला के पार्क ?
घडेरीका व्यापारीहरुले सो स्थानमा घडेरी मात्र बेच्ने हुन् कि अहिले घोषणा गरे अनुरुपको बिजनेस पार्क बनाउँलान् ? यो प्रश्नको सकारात्मक उत्तर खोज्न अझै केही वर्ष कुर्नु पर्ने भएको छ ।

घडेरी बेच्नका लागि ग्राहक लोभ्याउन विगतमा थुप्रै व्यापारीहरुले आफ्ना घोषणाहरु पूरा नगरेका उदाहरण यत्रतत्र पाइन्छ । तसर्थ विजनेस पार्क पनि शङ्काको घेरामै छ ।

दुई वर्ष अघि मात्र विर्तामोडको वुट्टाबारीमा आँप र लिचीको सुन्दर बगान रहेको हिमाल फार्म मासेर घडेरी प्लटिङ गर्ने एउटा कम्पनीले प्लटिङ रहेको विर्तामोड–५ बुट्टाबारीमा ५ करोडको लागतमा नीलगिरी नामक थ्रीस्टार होटल खोल्ने घोषणा गरेको थियो ।

तर घडेरी विक्री भइसकेपछि आयोजकहरुले त्यो थ्री स्टार होटलको चर्चा गर्नै छाडेका छन् ।

तीन तारे होटलमा ७६ बेडरुम हुने, दुई वर्षभित्र निर्माण भइसक्ने र होटलमा चाहिने तरकारी अग्र्यानिक प्रविधिबाट आफै उत्पादन गरिने बताएका घडेरीका व्यापारीहरु अहिले अन्तैतिर नयाँ प्लटिङमा लागेका छन् ।

यसैगरी, मेचीनगरकै जोरसिमल क्षेत्रमा दशकौँ अघि सरकारले ग्रामीण आवास कम्पनीमार्फत घडेरी बेच्न आकर्षक कृत्रिम झरनासहितको पार्क बनाउने ठूलै प्रचार गरेको थियो । तर अहिलेसम्म त्यो झरना र पार्क बनेन ।

घडेरीका व्यापारीहरुले चलाखीपूर्वक विभिन्न आश्वासनहरु दिने र पछि लत्याउने गरेकाले धुलावारी बिजनेस पार्कको निर्माणमा समेत सर्वसाधारण ढुक्क हुन सकेका छैनन् ।

घडेरी विक्री शुभारम्भकै कार्यक्रममा शुभकामना दिने कतिपय वक्ताहरुले पार्क सञ्चालकहरुलाई अरुतिरको जस्तो झुठा कुरा नगर्न सचेत गराएका छन् ।

पार्कका मुख्य सञ्चालक सुवासराज काफ्लेले पार्क बनाउने कुरा झुठो नभएको विश्वास दिलाउँदै ‘नसक्ने कुरा नबोल्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने’ बताएका छन् ।

काफ्लेले पार्कको निर्माणले धुलावारीको पुरानो व्यापारिक साख नयाँ ढङ्गले पुनजागृत हुने धारणा व्यक्त गरेका छन् ।
……………….

।। कसले के भने ? ।।
धुलावारीको साख व्युँतिने आशा

ऐतिहासिक नगरी धुलावारीको पुरानो व्यापारिक साख पुनर्जीवित हुने आशा पलाएको छ । नगरलाई समृद्ध बनाउने हाम्रो सपना छ । यो पार्क निर्माणको सफलताको लागि मेचीनगर नगरपालिका परिवारको तर्फबाट शुभकामनाा व्यक्त गर्दछु ।

विमल आचार्य
मेयर, मेचीनगर नगरपालिका

धुलावारी बजारको खस्कदो अवस्थाले चिन्तित भइरहेको बेला यति ठूलो बिजनेस पार्कको अवधारणा आउँदा खुशी लागेको छ । स्थानीय निर्वाचन अलि चाँडो भएको थियो र हामी अलि अगाडि नै निर्वाचित हुन पाएका थियौँ भने यो काम मेचीनगर नगरपालिकाले गर्ने थियो ।
मीना उप्रेती
उपमेयर, मेचीनगर नगरपालिका

बुट्टाबारीमा २२ बिघाको प्लटिङ भएको थियो । त्यहाँ थ्री स्टार होटल खुल्ने बोर्ड राखिएको थियो । घडेरी विक्री भइसक्दा बोर्ड हटिसकेको थियो । यहाँ त्यस्तो नहोस् । धुलावारीको गुमेको साख फर्काउने गरी आएको नयाँ सोचलाई सफलताको शुभकामना ।
दिनेश पोखरेल
सीइओ, एक्सेल बैङ्क


अब विकास भएको अनुभूति गर्नेछन् धुलावारीवासीले । नेपालको पहिलो एकत्रित व्यावसायिक थलो हो यो । मल्टिकम्प्लेक्स बन्ने छ । धुलावारीको शान बढ्ने छ ।
निरञ्जन रेग्मी
एमडी, सुपर त्रिशुली हाइड्र«ोपावर

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: