बन्ला राजमार्गमै भत्केको कल्भर्ट ?

  प्रकाशित मिति
५ कार्तिक २०७३, शुक्रबार ११:२८


1विर्तामोड, ५ कार्तिक । गत असोज ५ गते विहान विर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्व पश्चिम राजमार्गको कल्भर्ट भत्कियो । सडक विभागले तत्कालै जेसीबी लगाएर पुरपार पार्दै यातायातलाई कामचलाउ बनाए । सर्वसाधारणलाई लाग्यो–बाटो बन्दै हुन त दिएनन्, कतै नयाँ पुल पनि छिटै बनाउँछन् कि !

तर आम सोचाइ विपरीत राज्यका निकायहरू पुरानै पारामा चले । अहिलेसम्म त्यो कल्भर्ट भत्किएकै अवस्थामा छ । साँघुरो सिङ्गल ट्रयाकबाट सवारी साधनहरू जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन् ।

मुलुककै एकमात्र राजमार्ग भएका कारण यहाँ यातायातको उच्च चाप छ । यस्तो जान्दाजान्दै पनि सरकारले भत्किएको कल्भर्टको ठाउँमा नयाँ पुल बनाउने ठोस योजना बितेको एक महिनामा बनाउन सकेन ।

यस्तै अवस्था सिर्जना भएको थियो केही वर्ष अघि लखनपुरको गेउरिया पुल भत्किदा पनि । भत्केको ३ वर्षमा मात्र नयाँ पुल बनेको थियो । गेउरियाकै सास्ती र सरकारी लाचारी यहाँ दोहोरिने सङ्केत छ ।

2‘हाम्रो मुलुकमा सरकार छ भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो’, मेची बस व्यवसायी सङ्घका सचिव राजेन्द्र रिजाल पुल बनाउन नसक्नु सरकारको चरम लाचारी भएको ठहर्याउँदै भन्छन्–‘यो भन्दा उदासिन र गैरजिम्मेवारी हर्कत अरु के होला र !’

पूर्व पश्चिम राजमार्गमा सेकेन्ड सेकेन्डमा सवारी गुड्ने गरेका छन् । यस्तो महत्वपूर्ण राजमार्गमा भत्केको कल्भर्ट सरकारले एक हप्तामै बनाइसक्नु पर्ने रिजालको भनाई छ ।

‘राज्यका लागि जनताको हितभन्दा ठूलो अरु केही हुन सक्दैन’, रिजाल सरकारलाई प्रश्न गर्छन्–‘एउटा कल्भर्ट बनाउने कुरा कुन ठूलो काम हो र ?’

सरकारले बजेटको व्यवस्था मिलाउने हो भने सो स्थानमा नयाँ कल्भर्ट ३ महिनाभित्रै बनाउन सकिने झापाका अगुवा निर्माण व्यवसायी शेरबहादुर थापा बताउँछन् ।

१० देखि २० मिटर लामो बक्स कल्भर्ट बनाउन थाल्दा अहिले भत्केको थाउँभन्दा उत्तर वा दक्षिणपट्टि डाइभर्सन खोलेर सवारी सञ्चालन गर्न सकिने थापाको भनाई छ ।

तर सरकारले बजेटको व्यवस्था नमिलाउने र गेउरियाकै जस्तो आलेटाले गर्ने हो भने ३ वर्षमा पनि कल्भर्ट नबन्ने थापाको टिप्पणी छ ।
दमकस्थित डिभिजन सडक कार्यालयले सो स्थानमा बक्स कल्भर्ट निर्माणका लागि दस दिन अघि टेन्डर आह्वान गरेको छ । तर बजेट बिना नै टेन्डर खोलेका कारण योजना कार्यान्वयन हुनेमा शङ्का छ ।

3डिभिजन कार्यालयका प्रमुख डीइ राजेन्द्र साह (भर्खरै काठमाडौँ सरुवा)ले १ करोड २४ लाख रुपैयाँमा बक्स कल्भर्ट बनाउन टेन्डर आह्वान गरिएको लोकतन्त्र पोस्टलाई जानकारी दिए ।
उनले आगामी जेठसम्ममा नयाँ कल्भर्टबाट गाडी गुडाइने बताए । ठेक्का प्रक्रिया झन्झटिलो र निर्माण व्यवसायीको कार्यशैली सुस्त हुने गरेका कारण नयाँ कल्भर्ट तोकिएको मितिमा बन्नेमा ढुक्क हुने अवस्था छैन । कुनै बहाना निकालेर काम सुरु गर्न ढिलाइ भयो भने अर्को वर्ष मात्र कल्भर्ट बन्ने निश्चित छ ।

सरकारले अहिले टेन्डर निकाले पनि कल्भर्टका लागि बजेटको स्रोतको टुङ्गो लगाइसकेको छैन । बजेट पक्का हुने हो भने मङ्सिरभित्र ठेक्का लाग्ने, पुसमा सम्झौता भइसक्ने र माघपछि काम थालिने सम्भावना छ । यसरी काम नियमित भयो भने मात्र जेठभित्र कल्भर्ट बन्ने आशा गर्न सकिन्छ ।

(लोकतन्त्र पोस्टमा २०७३ कार्तिक ५ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: