बरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

  प्रकाशित मिति
७ असार २०७९, मंगलवार १५:१५


 

झापा, ७ असार । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयबासीका लागि अकाल मृत्युबाट बचाउने बरदान सावित भएको छ ।

गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा तत्काल उपचार नपाए बिरामीको ज्यानै गुम्ने गर्दछ । तर, भौगोलिक विकटताका कारण विषालु सर्पले डसेका बिरामीलाई उपचारका लागि ३० किलोमिटर टाढा चारआली सर्पदंश उपचार केन्द्र धाउनुपर्दा बर्षेनी औसत आठ जना कचनकबलबासीको बाटैमा मृत्यु हुने गरेको थियो ।

गाउँमै उपचार केन्द्र सञ्चालनमा आएपछि कसैले पनि अकाल मृत्युवरण गर्नु नपरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख जागेश्वरप्रसाद यादवले बताए । बर्खासँगै झापामा विषालु सर्पको त्रास बढ्ने गरेको हुँदा छिमेकी पालिकाहरु भद्रपुर र बाह्रदशीसहित भारतको किसनगञ्ज जिल्लाका बिरामीहरु समेत उपचारका लागि कचनकबल आउने गरेको उनले जानकारी दिए ।

कचनकबल गाउँपालिकाको वडा नम्बर ६ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ६ शैयाको सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको छ । सो केन्द्रबाट एक बर्षको अवधिमा सर्पले डसेका २४४ जनाले उपचार सेवा लिएका छन् ।

पालिकाले आन्तरिक स्रोत परिचालन गरेर गत वर्ष असारदेखि रु. ३० लाखको लागतमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । कचनकबलबासीको वर्षैदेखिको पीडामा मलम लगाउन सफल भएको सर्पदंश उपचार केन्द्रलाई साधन, स्रोत र सुविधा सम्पन्न बनाउन पालिकाले योजना बनाइरहेको उनको भनाई छ ।

“गाउँवस्तीमा साना भुइँघरहरु हुन्छन्, जहाँ लुकेर बसेको सर्पले मानिसलाई जुनसुकै बेला डस्न सक्छ,” उनले भने, “हरेक वर्ष सात आठ जनाले ज्यानै गुमाउनु परेको थियो । अब सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै कसैले उपचार नपाएर अकालमै मृत्युबरण गर्नुपरेको छै्रन ।”

उपचार केन्द्रमा अक्सिजन सिलिन्डर र पेसेन्ट मोनिटरिङ मेसिन जडान गरिएका छन् । स्वास्थ्य केन्द्रका एक जना मेडिकल अधिकृतसहित ६ जना स्वास्थ्यकर्मीले सर्पदंश उपचार केन्द्रमा सेवा प्रदान गरिरहेका छन् । आइसीयु र भेन्टिलेटर सुविधा नभएको हुँदा सर्पदंशका सिकिस्त बिरामीलाई रेफर गरेर विर्तामोडका सुविधासम्पन्न अस्पतालमा पठाउनु परेको स्वास्थ्य शाखाका प्रमुख यादव बताउँछन् ।

उपचार केन्द्रलाई गत वर्ष नै दाताबाट एउटा भेन्टिलेटर मेसिन प्राप्त भएको छ । तर स्रोत अभावमा त्यसलाई जडान गरेर सञ्चालनमा ल्याउन सकिएको छैन । स्थानीयबासीले स्रोत जुटाएर छिटोभन्दा छिटो भेन्टिलेटर मेसिन जडान गर्नुपर्ने बताउँदै आएका छन् ।

स्वास्थ्य शाखाका प्रमुख यादवले भेन्टिलेटर सञ्चालनमा आएपछि उपचारमा कुनै समस्या नहुने बताए । झापामा कचनकबलको समेत चारवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । चारआलीमा नेपाली सेनाले, कनकाई नगरपालिकामा सहारा नेपालले र दमकमा रेडक्रस सोसाइटीले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: