बर्षेनी ९ करोड राजस्व गुम्दै

  प्रकाशित मिति
२४ असार २०७५, आईतवार ११:१७


काँकरभिट्टा । नाकाहरुमा पहिल्यैदेखि एउटा चर्चा सुन्न पाइन्छ । त्यो हो–नुन खोजिन्छ, सुन छाडिन्छ । तेल खोजिन्छ, मोवाइल छाडिन्छ ।

साँच्चै हो–आजसम्म भन्सारमा भारतबाट भन्सार छलेर भित्र्याइएका स्मार्ट फोन वरामद भएको समाचार सुनिएको छैन ।

त्यसो भए भारतबाट नुन, तेल जस्तै गरी मोवाइल फोन लुकीछिपी आएको छैन त ?

एक जना विक्रेताका अनुसार भारतको सिलगढी, बागडुग्रा र पानीटङ्कीबाट महङ्गा मोवाइल फोन हरेक दिन २०० भन्दा बढी स्मार्ट फोन भन्सार छलेर नेपाल भित्र्याइने गरिएको छ ।

स्मार्ट फोन अबैध रुपमा ल्याउनेमा सर्वसाधारण नै बढी सक्रिय छन् । तर यसबाट वर्षेनी करोडभन्दा बढीको राजस्व गुमाइरहेको छ मुलुकले ।

भन्सार नाकामा तीन तहको सामान जाँचकी बसेका हुन्छन् । एउटा नेपाल प्रहरी र अर्को सशस्त्र प्रहरी बाहेक भन्सारका कर्मचारी आफै बसेका हुन्छन् ।

खासमा सामान चेकजाँच गर्ने काम भन्सार कर्मचारीको हो, तर हामीकहाँ प्रहरी अघि नसरेसम्म न कर्मचारीले सामान जाँच्न सक्छ, न त व्यापारीहरुले कर्मचारीलाई सामान जाँच्न दिन्छन् ।

अहिले स्मार्ट फोनको आयातमा राजस्व छलीको यस्तै ठूलो समस्या सबैलाई थाहा भएर पनि नियामक निकाय मौनता साँधेर बसिरहेको छ । यसबाट मुलुकले धेरै नोक्सानी व्यहोर्नु परिरहेको छ ।

एक व्यवसायीका अनुसार भारतको पानीटङ्की र सिलिगुढीबाट हरेक दिन सजिलै भित्रिने नयाँ ब्रान्डका महङ्गा स्मार्ट फोनका कारण सीमा क्षेत्रको मोवाइल व्यापार चौपट छ ।

‘भन्सारबाट देखादेखी ल्याउँदा कसैले नरोक्ने भएपछि हामीले पसलमा राखेका स्मार्ट फोन हेर्नका लागि सजाइएको शोकेस जस्तो भएका छन्’, काँकरभिट्टाका एक व्यवसायी भन्छन्–‘विक्री नै हुँदैनन् ।’

लुकाइछिपाई स्मार्ट फोन भित्राउने कार्यलाई प्रहरीले नदेखे जस्तो गरेको स्थानीय व्यवसायीहरुको आरोप छ ।

भारतबाट ८ हजार भारुमा सामसुङको नयाँ सेट किनेर भन्सारबाटै ल्याउँदा प्रहरीले केही पनि नगरेको काँकरभिट्टाकै एक सर्वसाधारण बताउँछन् ।

भन्सारमा जाँच गर्न बसेकाहरुले नुन, तेल, चिनी, कपडा, विजुलीका फेन, गाडीका पार्टपूर्जा, खाद्य तथा पेय पदार्थ लगायतमा बढी ध्यान दिएका हुन्छन् । तर मोवाइलको जाँच नै हुँदैन ।

दैनिक २०० वटा १० हजार मूल्यका मोवाइल चोरी बाटोबाट भित्रिन दिदा मासिक रुपमा मूल्य अभिवृद्धि कर मात्र हरेक दिन २ लाख ६० हजार रुपैयाँ, हरेक महिना ७८ लाख रुपैयाँ र हरेक वर्ष ९ करोड ३६ लाख रुपैयाँ राजस्व मुलुकले गुमाइरहेको छ ।

सीमावर्ती पानीटङ्की बजारमा मात्रै पनि स्मार्ट फोनका नेपाली ग्राहकहरुलाई लक्षित गर्दै एक दर्जनको सङ्ख्यामा ठूला पसल सञ्चालित छन् ।

बढी चल्तीका पसलहरुमा ओमकुमा यादवको यादव कम्युनिकेसन, राजेश गोश्वामीको गोश्वामी टेलिकम, राज निरौलाको राज टेलिकम लगायत छन् ।

यी पसलमा स्मार्ट फोन किन्न जाने नेपाली ग्राहकहरुको हरेक दिन घुइँचो देखिन्छ ।

भन्सारको सुरक्षामा खटिएका एक प्रहरी अधिकृतलाई ‘किन स्मार्ट फोन नजाँचेको’ भनी प्रश्न गर्दा ‘चलनै नभएको’ प्रतिक्रिया दिए ।

भारत जानेहरुले हातमा एउटा वा दुई वटा मोवाइल ल्याउनुलाई सामान्य मान्ने भन्सार सुरक्षाकर्मीहरुको सोचाइ अब बदल्न जरुरी भएको छ ।

स्मार्ट फोन महङ्गो बस्तु भएकाले यसको आयातलाई राजस्व आर्जनसँग जोड्नका लागि भन्सार प्रशासन र प्रहरी दुबै निकायले ध्यान दिन सके मुलुकको आयमा अभिवृद्धि हुने निश्चित छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: