बसपार्कका सटरभाडा सम्झौता असारमा सकिदै

  प्रकाशित मिति
१ असार २०७६, आईतवार ०८:१४



अर्जुन कार्की
मेचीनगर ÷ मेचीनगर नगरपालिकाको स्वामित्वमा विभिन्न क्षेत्रमा रहेको भवनको कोठा (सटर) भाडा उठ्न बाँकी छ भने कतिपयको सम्झौता सकिनै लागेको छ ।

मेचीनगर–६, ७ र १० नम्बर वडाका विभिन्न ठाउँमा नगरपालिकाको स्वामित्वमा रहेका भवनको कोठाहरु भाडामा लगाइएका छन् ।

नगरपालिकाले काँकरभिट्टा बसपार्र्कसँग जोडिएको (पुरानो सुपारी लाइन) व्यापारिक भवनको कोठाहरुको भाडा सम्झौता सकिनै लागेको जनाएको छ ।

त्यहाँका २७ वटा सटर कोठा ५ वर्षका लागि स्थानीय व्यापारीहरुलाई सम्झौता गरेर भाडामा दिइएको थियो ।

काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था र श्री खुद्रा व्यापार सङ्घ झापामा आवद्व स्थानीय व्यापारीहरुलाई ती कोठाहरु मेची नगरपालिकाले भाडामा दिएको हो ।

२०७१ सालमा नगरपालिकाले काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था तथा खुद्रा व्यापार सङ्घका अध्यक्ष भुपाल शिवाकोटी लगायतको नाममा सटर भाडा सम्झौता गरिएको छ ।
नगरपालिकाका अनुसार २०७१ चैत १ गतेदेखि २०७६ असार मसान्तसम्म लागु हुने गरी सहकारी र व्यापार सङ्घलाई ५ वर्षका लागि सटर भाडामा दिइएको हो ।

सटरको भाडा कोठापिच्छे फरक फरक कायम गरिएको छ । कोठा नं. ६, ७, ८, ९ र १० लाई नगरपालिकाले प्रति महिना २ हजार ५ सय ५ रुपैयाँ भाडा तोकेको छ ।

त्यस्तै कोठा नं. १, २, ३, ४, ५, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २६ लाई प्रति महिना २ हजार ६ सय ५० रुपैयाँ भाडा तोकेको नगरपालिकाले जनाएको छ ।

२०७१ चैत २६ गते खुद्रा व्यापार सङ्घले नगरपालिकालाई ३ लाख ६० हजार रुपैयाँ तथा काँकरभिट्टा सहकारीले ३ लाख ७५ हजार रुपैयाँ धरौटी बुझाएको छ ।

त्यस्तै शिवकुमार श्रेष्ठले आफुले लिएको कोठाको भाडा वापतको धरौटी १५ हजार रुपैयाँ बुझाएको नगरपालिका कार्यालयले जनाएको छ ।

काँकरभिट्टा सहकारीले २०७२ बैशाख महिनामा एकमुष्ठ कोठा भाडा वापत ४८ हजार ५ सय रुपैयाँ र खुद्रा व्यापार सङ्घले सोही महिनामा १२ हजार ५ सय २५ रुपैयाँ नगरपालिकाको बैङ्क खातामा जम्मा गरेको देखिन्छ ।

काँकरभिट्टा बसपार्क निर्माण गर्ने र राजमार्गलाई व्यवस्थित पार्ने भन्दै नगरपालिकाले स्थानीय खुद्रा व्यापार गरिरहेका व्यापारीहरुलाई हटाउँदा विकल्पको रुपमा सटर दिएको थियो ।

बसपार्कबाट हटाइएका उनीहरुलाई उक्त सटर कोठामा पहिलो प्राथमिकता दिने नगरपालिकाले प्रतिबद्वता जनाएको थियो । सोही अनुरुप नगरपालिकाले उनीहरुलाई सटर निर्माण भएपछि व्यापारीहरुलाई कोठा भाडामा दिएको हो ।

त्यतिखेर नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन ऐन संशोधनसहितको नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली १६७ बमोजिम सटर भाडा दिने टेन्डर आह्वान गरेको थियो ।

स्थानीय व्यापारीहरु मार्फत सहकारी र खुद्रा सङ्घले २०७० माघ ५ गते प्राथमिकताको आधारमा सटर भाडामा पाउँ भनी निवेदन दिएका थिए । त्यसपछि व्यापारीहरुले नगरपालिकाले आह्वान गरेको टेन्डर रोक्का गरी पहिलो प्राथमिकताको आधारमा पूर्व निर्णय कार्यान्वयन गरी पाउँ भनी २०७१ चैत १४ गते निवेदन दिएका थिए ।

सहकारी र खुद्रा व्यापार सङ्घले २०७१ चैत १९ गते अध्यक्ष शिवाकोटीलाई नगरपालिकासँग पहिलो प्राथमिकताको आधारमा सटर भाडा उपलब्ध गराउनका लागि पहल गर्न अख्तियारी दिएको थियो ।

सोही अनुसार अध्यक्ष शिवाकोटीले नगरपालिकासँग २०७१ चैत १ गतेदेखि लागु हुने गरी पाँच वर्षका लागि सटर भाडा दिने नगरपालिकासँग सहमति गरेका थिए । नगरपालिकाले काँकरभिट्टा सहकारी र खुद्रा व्यापार सङ्घलाई कोठा भाडा दिएको समयावधि यही असार मसान्तमा सकिदैछ ।

मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख चक्रपाणि खनालले काँकरभिट्टा बसपार्क उत्तरका सटर भएको कोठा भाडाको म्याद यहि असार मसान्तमा सकिने बताए ।

अब नगरपालिकाले सूचना प्रकाशित गरेर उक्त कोठाको भाडा बढाउने वा नवीकरण हुने नहुने टुङ्गो लगाउने उनले जानकारी दिए ।

नगरपालिकाबाट कोठा भाडामा लिएका रुद्र पोखरेलले विगतमा कोठा सम्झौता गर्दा नै प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढाउने शर्त भएको बताए ।

‘समय अनुसार भाडा बढाउनु जायज हो’, पोखरेलले भने–‘हामी बढेको न्यूनतम भाडा तिर्न तयार छौं ।’ तर, विगतको सम्झौता अनुसार नगरपालिका नगएर टेन्डर आह्वान गरे नगरपालिका असफल हुने उनको भनाई छ ।

उनले सटरभाडा विलम्ब नगरी २७ वटा कोठावालाले मासिक ३ हजार रुपैयाँ नगरपालिकालाई तिरिरहेको बताए ।
…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: