‘बसपार्क गुल्जार बने भाडा तिर्छौं

  प्रकाशित मिति
२ असार २०७६, सोमबार १२:१२


अर्जुन कार्की

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको नकलबन्दा, प्यारीभिट्टा बसपार्क, इटाभट्टा र धुलाबारी भवनका कोठा (सटर) भाडा उठ्न बाँकी रहेको पाइएको छ ।

मेचीनगर–७, ९ र १० नम्बर वडाका विभिन्न ठाउँमा नगरपालिकाको स्वामित्वमा रहेका भवनको कोठा भाडा उठ्न बाँकी रहेको हो । नगरपालिकाले गत दुई वर्षदेखि प्यारीभिट्टा बसपार्कमा ग्यारेज तथा सर्भिस सेन्टर बाहेक ३३ वटा सटर भएको कोठा तथा ग्यारेजका लागि ३६ वटा कोठा विभिन्न व्यक्तिहरुलाई भाडामा दिएको छ ।

कोठा भाडामा लिएका व्यक्तिहरुका अधिकांश सटर बन्द छन् । उक्त बसपार्क सधैँजसो सुनसान हुने भएकोले पनि कोठा सञ्चालकहरु सटर बन्द गरेर हिँड्ने गरेको बताइएको छ । काँकरभिट्टाबाट पश्चिमका लागि छुटेका बसहरु प्यारीभिट्टा बसपार्कमा रोकिनु पर्ने हो । तर, त्यहाँ नरोकी सिधैँ जाने भएकाले प्रायः उक्त बसपार्क सुनसान हुने गरेको उनीहरुको भनाई छ ।

प्रायः सटर बन्द हुने भएकाले नगरपालिकालाई धेरै कोठावालाले भाडा नियमित बुझाएका छैनन् । कोठा भाडा धेरै भयो भन्दै कोठा सञ्चालकहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । त्यसका लागि नगरपालिकालाई दवाव दिन व्यवसायीहरुले कोठा भाडा समायोजन समिति समेत गठन गरेको जनाएको छ ।

कोठा भाडा समायोजन समितिका अध्यक्ष माधव निरौला, सचिव सन्तोष गहतराज लगायतको टोली नगरपालिका डेलिगेसन गएको थियो । समितिलाई नगर प्रमुख विमल आचार्यले नगरपालिकासँग सम्झौता गरेको मासिक भाडा तिर्न अनुरोध गरेको समितिले जनाएको छ ।

‘हामी नगरपालिकाले भनेको भाडा तिर्न तयार छौँ’, पसल सञ्चालक उर्मिला राईले भनिन्, ‘तर, बसपार्क सुनसान छ । प्यारीभिट्टा बसपार्कलाई गुलजार बनाइदिनु पर्यो, ताकि पसल चलाएर जीविकोपार्जन गर्ने माध्यम बनाई दिए हामी भाडा तिर्न तयार छौँ ।’

प्यारीभिट्टा बसपार्कमा चियानस्ता पसल सञ्चालन गर्दै आएकि राईले २ वर्षअघि ३ हजार ६ सय रुपैयाँमा कोठा भाडामा लिएकी थिइन् । सामान्य धरौटी राखेकी उनले हालसम्म नगरपालिकालाई भाडा तिरेकी छैनन् ।

समितिका सचिव गहतराजले मासिक ५ हजार भाडा दिने गरी दुई वर्षदेखि ग्यारेज सञ्चालन गर्दै आएको बताए । उनका अनुसार अहिलेसम्म नगरपालिकाका कर्मचारी कोठा भाडा उठाउन आएका छैनन्, सायद सुनसान ठाउँ भनेर होला यो बसपार्कमा गाडीघोडा नआएपछि हाम्रो मर्म बुझेर कर्मचारी पनि भाडा माग्न नआएका होलान् ।

सचिव गहतराजका अनुसार व्यापार ठप्प भएपछि नगरपालिकामा भाडा छुट र काँकरभिट्टा बसपार्क यता सार्नु पर्यो भनेर धेरै पटक नगरपालिकामा डेलिगेसन तथा निवेदन दिइयो । तर, आजसम्म सुनवाई भएको छैन ।

कोठा अनुसार नगरपालिकाले भाडा फरक फरक कायम गरेको छ । नगरपालिकाले २०७५ असार महिनामा कोठा भाडाका लागि टेण्डर आह्वान गरेको थियो । सोही अनुसार २०७५ साउन ३० गते गङ्गाबहादुर कामीले प्यारीभिट्टा बसपार्कको एउटा कोठा प्रक्रिया पुराएर लिएका थिए ।

उनले सम्झौता अनुसार एउटा कोठाको मासिक ४ हजार ६ सय रुपैयाँ तिर्नु पर्नेछ । त्यस्तै गङ्गाराम चिमरियाले पनि एउटा कोठाको भाडा मासिक ५ हजार १ सय तिर्ने सम्झौता छ । तर, चिमरिया लगायत अहिलेसम्म अधिकांश कोठावालाले भाडा तिरेका छैनन् ।

काँकरभिट्टाबाट बसहरु प्यारीभिट्टा बसपार्कमा सार्ने भएछ भनेर हामीले नगरपालिकामा धरौटी राखेर कोठा भाडामा लिएका थियो । तर, काँकरभिट्टाबाट बसहरु प्यारीभिट्टा बसपार्कमा नआएकोले हामी पसल सञ्चालकहरु मारमा परेको उनीहरुको भनाई छ । अधिकांश कोठावालाहरुले सुरुमा सम्झौता गरेदेखि हालसम्म मासिक कोठा भाडा नबुझाएको नगरपालिकाले कार्यालयले जनाएको छ ।

‘प्यारीभिट्टा बसपार्कमा गाडीको आवतजावत शून्य भएकाले औशीपूर्णेमा पसल खोल्छौँ’, लोकतन्त्र पोस्टसँग पसल सञ्चालक रोश्नी कार्कीले भनिन्, ‘एक वर्षअघि नै नगरपालिकासँग करिव १० हजार धरौटी राखेर पसल खोलेका थियौँ । बसपार्क सुनसान भएकाले एउटा चरोमुसो पनि आउँदैन । सुरुमा धरौटी बुझाए बाहेक मासिक कोठा भाडा तिर्न सकेका छैनौँ ।’ प्यारीभिट्टा बसपार्कमा ३३ वटा कोठा मध्ये ४÷५ वटा सटर मात्र महिनामा १० दिन जती खुल्ला हुने गरेको छ ।

२०७४ भदौ २६ गते प्रत्येक २÷२ वर्षमा १० प्रतिशत भाडा बढने गरी विभिन्न व्यक्तिहरुलाई नगरपालिकाले सटर भाडामा लगाएको थियो । त्यस्तै, धुलाबारी र इटाभट्टा क्षेत्रमा पनि नगरपालिकाले कोठा भाडामा लगाएको छ । नगरपालिकाले इटाभट्टामा ७ वटा तथा धुलाबारीमा ११ वटा सटर भएको कोठा भाडामा लगाएको हो । नगरपालिकाले इटाभट्टामा मासिक २ हजार ५ सय रुपैयाँ लिने गरी कोठा भाडामा लगाएको छ ।

धुलाबारीमा अगाडिको कोठा मासिक २ हजार ५ सय तथा पछाडिका कोठा १ हजार ५ सय रुपैयाँमा भाडामा दिएको छ । उक्त भाडा कोठा सञ्चालकले समयमा नतिर्ने गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

यता, नगरपालिकाले मेचीनगर–९ स्थित नकलबन्दामा पनि १० वटा सटर भएको कोठा भाडामा दिएको कार्यालयले जनाएको छ । उक्त क्षेत्रको मासिक कोठा भाडा १ हजार ५१ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।

नकलबन्दामा २०७५ माघदेखि नगरपालिकाले कोठा भाडामा लगाएको छ भने काँकरभिट्टा, इटाभट्टा र धुलाबारीमा २०७१ बैशाख सालदेखि नै कोठा भाडा लगाएको थियो । त्यसैगरी, मेचीनगर–१४ स्थित चारआलीमा पनि २६ वटा सटर भएको कोठा भाडाका लागि धमाधम निर्माण भइरहेको छ । चारआलीमा यसअघि ६ वटा कोठा तयारीमा थियो भने हाल २० वटा नयाँ कोठा निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चारआलीको निर्माणाधीन २६ वटा बाहेक १२७ वटा सटर भएको कोठा भाडामा लगाएको छ । नगरपालिकाले चारआली बाहेक अन्य क्षेत्रको कोठा भाडा वापत प्रतिमहिना करिव ४ लाख रुपैयाँ उठाउनु पर्ने हो तर उक्त भाडा कार्यालयले उठाउन सकेको छैन ।

……………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: